PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

तोरन्ल खेलको महत्त्व : खेल्दै सिक्दै, संरक्षणका लागि प्रतियोगिता



पहिलोपोस्ट

तोरन्ल खेलको महत्त्व : खेल्दै सिक्दै, संरक्षणका लागि प्रतियोगिता

म्याग्दी : खेललाई आफू अनुरुप बुझ्न सकिन्छ। कोही रमाइलो र समय व्यतित गर्न खेल्छन्। कसै शारीरिक अभ्यासका लागि त कोही  मनोरञ्जनका लागि खेल्छन्। खेलको अर्को महत्वपूर्ण पक्ष हो यसको व्यवसायीकरण। 

खेललाई जसरी बुझेपनि यसको आफ्नै महत्त्व छ। केही मनोरञ्जनका र अभ्यासका लागि खेलिने खेल बाहेक पनि ठाँउ अनुसार अन्य खेलसमेत हुन्छन्। जुन खेलले त्यस समुदाय वा देशको मौलिकता र परम्परालाई बोकेको हुन्छन्। यद्यपि समयको गतिसँगै खेलहरुको विकास हुँदै गयो। गाउँघर र कुनै निश्चित समुदायमा खेलिने परम्परागत खेलहरु हराउँदै गए। यहीँ मौलिक खेलमध्येको एक खेल हो थकाली समुदायमा खेलिने तोरन्ल खेल।

विशेषगरी फागू पूर्णिमाको समयमा थकालीले तोरन्ल पर्व मनाएर यो खेल खेल्ने गर्छन्। तारो हान्ने, कौडा खेल्ने, नाँचगान गर्ने थकालीको तोरन्ल पर्वको मुख्य विशेषता हो। यो बाहेक  तोरन्ल पर्वको मुख्य विशेषता पितृ पूजा हो। थकाली समुदायका मानिसले आफ्ना दिवंगत पितृलाई खुसी राख्न चोखो पानी र मिठा-मिठा खानेकुराका परिकार बनाएर चढाउने गर्छन्। पितृको नाममा खानेकुरा चढाउँदा पितृ खुसी हुने र पितृको उद्दार हुने उनीहरुको धार्मिक विश्वास छ।

साथै यस पर्वले थकाली समुदायलाई जोड्न महत्वपूर्ण योगदान पुर्‍याएको उनीहरु मान्यता राख्छन्।  मुस्ताङको थाकखोला मूल रहेका थकालीहरु बसाइँ सराइ गरी विभिन्न स्थान पुगे। तर फागू पूर्णिमाको समयमा भने  थाकखोला अनिवार्य पुग्नुपर्ने उनीहरुको मान्यता छ। यही मान्यताले नै थकाली समुदायलाई जोड्न भुमिका खेलिरहेको छ।

मौलिक सांस्कृतिक पर्वको रूपमा थकाली समुदायले यस पर्वलाई विशेष लिन्छ। तर पछिल्लो नयाँ पुस्ताले यस पर्वलाई रौनकका साथ नलिँदा पर्व र खेलको महत्त्व हराउने होकि उनीहरुको चिन्ता छ। यसकारण पनि समुदायले पर्व संरक्षणका लागि प्रत्येक तीन वर्षमा तारो हान्ने खेलको प्रतियोगिता गराउँछ।

म्याग्दीमा तीन दिन तोरन्ल प्रतियोगिता

पर्वको संरक्षण गर्दै थकाली सेवा समाज केन्द्र समितिले म्याग्दी बेनीमा शुक्रबारदेखि केन्द्रिय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारो प्रतियोगिता आयोजना गरेको छ। समितिले प्रत्येक तीन-तीन वर्षमा आयोजना गर्दै आएको खेल गत वर्ष हुनुपर्ने थियो। तर गतवर्षको प्रतियोगिता एक वर्ष पछि सरेको हो।

केन्द्रको आयोजना र बेनी क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म ११ औँ तोरन्ल गोल्डकप सञ्चालन भइरहेको छ।  प्रतियोगितामा देशका विभिन्न ठाउँबाट आएका १८ समूहका एक सय जना भन्दा बढी खेलाडीहरु सहभागी छन्।

पछिल्लो समय लोप हुन लागेको थकाली भाषा र संस्कृतिको संरक्षणमा जागरुक बनाउन यस्ता थकाली संस्कृती झल्कने प्रतियोगिता आयोजना गरिएको थकाली सेवा समाज बेनी क्षेत्रका अध्यक्ष जगनारायण शेरचन बताउँछन्।

'यो प्रतियोगिताले थकाली समुदायको पौराणिक खेलको संरक्षण साथै खेल पर्यटनको विकास र प्रर्वद्धन गर्छ,' उनले भने, 'अहिलेका नयाँ पुस्ताले आफ्नो परम्परागत खेलका बारे जान्न पाउछन्, उनीहरुले जोगाइ राख्छन्।' तारो हान्ने खेल आर्चरी खेल नै हो। तर यस खेलमा आधुनिक सामानको प्रयोग गरिदैन। खेलमा बाँसको धनुष र निगालाको तिरको प्रयोग गरिएको  हुन्छ।

खेलमा सहभागी सन्दिप गौचनले तारो हान्ने खेलबारे जानकारी पाएको धेरै समय भएको छैन। प्रतियोगिता अघि उनले यो खेल आफै देखेका पनि थिएनन्। प्रतियोगिताकै लागि भनेर तीन महिना अगाडिदेखि उनले प्रशिक्षण लिन थालेका थिए। प्रशिक्षण र प्रतियोगिताकै क्रममा खेलको महत्त्वको बारे  जानकार भएको उनी बताउँछन्।

'हाम्रो पुर्ख्यौली पर्व हो यसलाई अब हामीले पनि संरक्षण गर्न जरुरी देखिन्छ यसको महत्त्व हाम्रो समुदायमा छुट्टै छ,' उनले भने।

तीन दिनसम्म चल्ने प्रतियोगितामा बिजेताले सुनको मेडल, रनिङ शिल्ड, कप र एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। दोस्रोलाई ५० हजार, तेस्रोलाई २५ हजार र सान्तवना हुनेले १० हजार पुरस्कार पाउने थकाली सेवा समितिले जनाएको छ। सर्वोकृष्ट धनुषाकर, विशिष्ट धनुषाकर, अनुशासित टिम, जेष्ठ र कम उमेरका खेलाडीले नगद तथा प्रमाणपत्र पाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell