काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको युद्ध नसकिएको बताएका छन्।
माओवादीको प्रदेश समितिको भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीसँगको युद्ध जित्न बाँकी रहेको बताए।
'हामीले ब्याटल जितेको हो वार जितिसकेको छैनौं। लडाइ जित्यौं युद्ध जितिसकेको छैनौं,' उनले भने। उनले प्रतिक्रान्ति गर्नेहरुले अहिले पनि लडाइको तयारी गरिरहेको बताए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुरुमा प्रधानमन्त्रीका लागि तयार नभए पनि आफूले तयार पारेको प्रचण्डको भनाई थियो।
'उहाँलाई प्रधानमन्त्री हुन तयार पारियो। उहाँ इच्छुक हुनुहुन्थेन। चुनाव भए हुन्छ भन्ने खालको थियो उहाँको धारणा,' प्रचण्डले भने।
ओलीबाट आफूले मात्रै नभइ कम्युनिस्ट सबै नेताहरुले धोका पाएको उनले बताए। उनले आफूले एकता गरेर अरु केही नपाए पनि ज्ञान पाएको बताए। भने, 'मैले ज्ञान प्राप्त गरेर आएँ। हामी ज्ञानी भएर आएका छौँ। बाबुराम, विप्लव माधव नेपाल ज्ञानी भएका छौँ।'
प्रचण्डले जनताको घर घरमा पुग्ने नीति बनाएको दाबी गरे भने नेतामात्रै नभइ पार्टीका कार्यकर्ता पनि बिग्रिएको बताए।
'हामी कहीँ न कहीँ बैचारिक हिसाबले कमजोर भएका हौँ। जो जति माथि गयो उति नै बिग्रियो। तलतल पनि बिग्रिएको देखियो,' उनले भने। माओवादीलाई २०६४ मा पुर्याउन सम्भव भएको उनको भनाई थियो।
केपी ओलीको पछाडि राजवादीहरु लागेको प्रचण्डको आरोप थियो। 'केपी ओलीका पछाडि कमल थापाहरु, ज्ञानेन्द्रहरु लागेका छन्। माओवादीलाई हान्यो भने सिद्धिन्छ भन्ने लागेको छ उनीहरुलाई,' प्रचण्डले भने।
उनले माओवादीप्रति कसैले धावा बोले जाइलाग्ने बताए। उनले त्यसका लागि आफूहरुसँग सैन्य पृष्ठभूमिका साथीहरु समेत रहेकाले नडराउने बताए।
'हामीसँग अझै पनि तालिमप्राप्त सेनाका साथीहरु पनि छन्। कोइ आइलागे भने जाइलाग्ने हो। हामीले ल्याएको हो संविधान। हामी चुनावमा जित्छौँ। हामीसँग सैनिक पृष्ठभूमिका साथीहरु पनि हुनुहुन्छ। माओवादीलाई त सिध्याउन खोजिएको थियो नि त,' उनले भने।
