काठमाडौं : एभरेस्ट प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा विराटनगर वारियर्सले काठमाडौं किंग ११ लाई १०५ रनको लक्ष्य दिएको छ। वर्षाका कारण मैदान नसुकेपछि ८ ओभरमा छोट्याइएको खेलमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेको थियो।
विराटनगरका लागि ८ ओभरको खेलमा पाँचौं नम्बरमा आएका ब्याट्सम्यान अनिल साहले १६ बलमा नटआउट पाँच छक्का र दुई चौकाको सहायताले ४५ रन जोड्दै विराटनगरको स्कोरलाई १०४ रन पुर्याए। उनले अन्तिम ओभरमा तीन छक्का हाने।
विराटनगरका लागि सौरभ खनालले नटआउट पाँच रन जोडे। ओपनर रेयान पठानले ११ खेलेका दुई चौका र ३ छक्कासहित ३० रन बनाए। दोस्रो ओभरको अन्तिम बलमा गुलशन झाको बलमा क्याच आउट भए। तेस्रो ओभरको तेस्रो वलमा आसिफ शेख दुई रन बनाएर पेवेलियन फर्किए। लगत्तै चौथो बलमा लिशान मुनावीरा पनि १ रन बनाउँदै पेवेलियन फर्किए।
चौथो ओभरको पाँचौँ बलमा सिकन्दर राजा पनि चार रनको व्यक्तिगत स्कोर बनाएर पेवेलियन फर्किए। लगातार विकेट झरिरहेको अवस्थामा कप्तान करण केसी र अनिल साहले विराटनगरको स्कोरलाई उकासे। सातौँ ओभरको तेस्रो बलमा कप्तान करण केसी रनआउट भए। उनले ११ बलमा १ चौका र १ छक्कासहित १५ रन बनाए।
काठमाडौंका लागि गुलसन झा, सन्दीप लामिछाने र रेयान वुर्लले एक/एक विकेट लिए।