PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

ओलीको विकल्प ओली नै! फेरि अध्यक्ष र सत्तामा पुर्‍याउन एमालेका ६ हजार बढी कार्यकर्ताले पारित गरेका ६ रणनीति



प्रकाश भण्डारी

ओलीको विकल्प ओली नै! फेरि अध्यक्ष र सत्तामा पुर्‍याउन एमालेका ६ हजार बढी कार्यकर्ताले पारित गरेका ६ रणनीति

काठमाडौं : नेकपा (एमाले)को विधान महाधिवेशनमार्फत अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि अध्यक्ष पदमा दोहोरिने उद्घोष गरेका छन्। ललितपुरको गोदावरीस्थित सनराइज हलमा तीन दिन (शुक्रवार-आइतवार)सम्म भएको विधान महाधिवेशनले उनलाई फेरि पनि अध्यक्ष हुने बाटो खुला गरिदिएको छ।

तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदै अध्यक्ष पद धरापमा परेका ओलीले एमाले विभाजनपछि पनि आफ्नो पद सुरक्षित पारेका छन्। त्यसका लागि उनले आफू अनुकुल नीति विधान महाधिवेशनबाट पारित गराएका छन्। ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी भएको विधान महाधिवेशनले ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलेको विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित भएका छन्।

१० वटा समूह बनाएर छलफल भए पनि प्रस्तावहरुमाथि खासै संशोधन भने भएन। यद्यपि, उपमहासचिव पद नै खारेजी गर्न गरिएको प्रस्तावमा भने हेरफेर भएको छ। अब अध्यक्ष, महासचिव, वरिष्ठ उपाध्यक्ष १ जनासहित उपाध्यक्षहरु ५ जना, उपमहासचिव १ र सचिव सात जना गरी १५ जना पदाधिकारी हुने विधानमा व्यवस्था गरिएको छ।

उक्त विधानमा गरिएको व्यवस्था ओली अनुकुल हुने एमालेमा फरक मत राख्ने नेताहरुको बुझाइ छ। यसका साथै उमेर हद लगायतका व्यवस्थाले पनि ओलीलाई एमालेमा सहज बनाउनेछ।

धेरै पदाधिकारी बनाउन नहुने भन्दै महासचिव ईश्वर पोखरेलले धेरै लेयर बनाएर पार्टी चुस्त नहुने बताएका थिए। एमालेले पारित गराएको नीति भने उनी इतरलाई झनै कठिन बनाउने र ओलीलाई नेतृत्वका लागि सहज बनाउने देखिन्छ।

ओली हाल एमालेमा निर्विकल्प नेताका रुपमा देखिन थालेको एमाले वृतमा चर्चा छ। ओलीका समकालीन नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमले एमाले छोडिसकेको अवस्थामा उनलाई चुनौति दिने अर्को नेता अघि नसरेको ओली निकट नेताहरुको मत छ।

१. ७० वर्षे उमेद हद

एमालेमा उमेर हदबन्दीको विषयले चर्चा पाउने गरेको थियो। अब भने विधानमै ७० वर्ष पूरा गरेका नेताहरुले कार्यकारी पदका लागि उम्मेद्वारी दिन नपाउने भएका छन्। तर, यसको व्याख्या भने ओली अनुकुल गरिएको छ।

उपमहासचिव विष्णु पौडेलले ७० वर्ष पूरा गरेपछि मात्रै लागू हुने बताए। उनले कार्यकारी भुमिकामा रहेका बेला ७० वर्ष पुगेमा पुरै अवधि काम गर्न मिल्ने बताए।

‘यसमा अलिकति अस्पष्ट पनि थियो। ७० वर्ष टेकेपछि हुने कि पूरा भएपछि हुने कि भन्ने थियो। यो ७० वर्ष पूरा गरेपछि हुने छ। कार्यकालमा ७० वर्ष पूरा भएमा पूरा अवधि काम गर्न मिल्ने छ,’ उनले भने।

जुन व्यवस्थाले ओलीलाई एक कार्यकाल फेरि अध्यक्ष हुनबाट भने रोक्ने छैन। किनभने एमालेको राष्ट्रिय महाधिवेशन आउने मंसिरमा हुने छ तर २००८ फागुनमा जन्मिएका ओली एक कार्यकालका लागि योग्य हुने छन। आफू फेरि पनि अध्यक्ष हुने विधान महाधिवेशनमार्फत ओलीले घोषणा गरिसकेका छन्।

‘बहुमतमा पुर्‍याएर यस्तो उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्‍याएर छोड्ने हो,’ ओलीले आफू फेरि अध्यक्ष हुने सन्देश दिँदै भने।

२. पोलिटब्युरो खारेज

एमालेले पार्टीको संरचनाबाट पोलिटब्युरो हटाएको छ। अध्यक्षको नेतृत्वमा केन्द्रीय सचिवालय रहने, स्थायी कमिटी र केन्द्रीय कमिटी गरी पार्टीको तीन तह रहने विधानमा व्यवस्था छ।

पार्टीमा धेरै लेयरहरु राख्दा विवाद हुने भएकाले छरितो पार्टी संरचनाका लागि पोलिटब्युरो हटाइएको महासचिव ईश्वर पोखरेलले बताएका थिए। पदाधिकारी घटाएकोबारे उपमहासचिव विष्णु पौडेलले गल्लि-गल्लिमा पदाधिकारीसँग कुम ठोकिने स्थिति आउने भएकाले घटाउनुपरेको उनको स्पष्टिकरण थियो।

एमालेमा पदाधिकारी र पोलिटब्युरो नै हटाउनुको पछाडि ओलीलाई सजिलो बनाउने उद्देश्य रहेको उनी इतरका नेताहरुको मत छ।

‘अध्यक्षलाई बलियो बनाउने गरी यो व्यवस्था भएको छ। यसका पछाडि ओलीलाई शक्तिशाली बनाउने कुरा लुकेको छ,’ एक स्थायी कमिटी सदस्यले भने।

३. संरचना फेरबदलमा आफ्नै पक्षको वर्चश्व हुने

अब एमालेको संरचना अनुसार केन्द्रमा मात्र रहने गरी तीन वटा आयोगको व्यवस्था गरिने छ। यी आयोगहरु १५ सदस्यीय हुनेछन्। यसअघि आयोग २१ सदस्यीय थियो।

केन्द्रीय आयोग तहमा मात्र रहने गरी अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग बन्नेछन्। यसअघि लेखा परीक्षण आयोग रहने गरेकोमा परीक्षणलाई हटाएर लेखा आयोगमात्र राखिने भएको छ। आयोगका अध्यक्ष केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठकमा सहभागी हुनेछन्।

प्रदेश कमिटीमा आधार संख्या ५० राखिएको छ। यसरी हरेक प्रदेशमा त्यहाँको प्रतिनिधिसभाको क्षेत्र अनुसार संख्या बढ्ने छ। प्रदेशमा हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्र अनुसार पाँच जना थप हुनेछन्।

उपत्यकामा विशेष प्रदेश कमिटीको पनि आधार संख्या ५० र जिल्ला कमिटीको संख्या अनुसार पाँच थप गर्दै जाने व्यवस्था गरिएको छ। त्यस्तै, जिल्लामा पनि आधार संख्या ५० रहने छ र हरेक प्रदेशसभा निर्वाचन क्षेत्र बराबर १५ थप गर्दै जाने उल्लेख छ। विशेष जिल्ला कमिटीको आधार संख्या ५० र प्रत्येक इलाका बराबर १५ जना थप हुँदै जानेछ।

त्यस्तै, पालिका आधार संख्या ५० प्रत्येक वडा बराबर ५ जना थप हुने छन्। वडा कमिटी जिल्ला कमिटीले तोके बमोजिम हुने छन्। त्यसरी नै शाखा कमिटी ५१, टोल कमिटी ३१ र प्रारम्भिक कमिटी बढीमा ३५ सदस्य रहनेछन्।

हरेक तहमा कमिटीको सचिवालय बन्नेछन्। जसमा कमिटीको एक चौथाई नबढ्ने गरी सदस्य रहने छन्। यसमा हाल ओली निकट नेताहरुले एमालेमा कुनै समूह अहिले अस्तित्वमा नरहेको भन्दै ओलीको वरिपरि गोलबद्ध हुनुपर्ने मत राखिरहेका छन्। यस हिसाबले हेर्दा पार्टीका तल सम्मका कमिटीमा ओली गुट बलियो हुने देखिन्छ।

४. फरक मत राख्नेलाई विरोधी करार

ओलीले राजनीतिक प्रस्तावमा उठेका जवाफ दिने क्रममा १० बुँदे सहमति गरेर एमालेमा फर्किएका नेताहरुलाई लक्षित गरेर एमालेको सरकार ढाल्ने नै प्रमुख विरोधी भएको बताएका थिए। उनले विरोधी पहिचान गर्नका लागि शास्त्र पल्टाउन नपर्ने बताए।

उनले भने, ‘गालामा हानिहाल्छ अनि विरोधी को हो भनेर शास्त्र पल्टाउन पर्दैन। जसले सरकार ढाल्यो, जसले पार्टी फुटायो त्यो नै हो विरोधी।’

ओलीले राजनीतिक प्रतिवेदनमा पनि आफू नेतृत्वको सरकार ढाल्नेहरु दोषी भएको उल्लेख गरेका छन्। प्रतिनिधिसभा विघटनको विषय आलोचनाका रुपमा प्रतिवेदनमा उल्लेख हुनुपर्ने दोस्रो तहका नेताहरुको मागलाई ओलीले अस्वीकार गरेका थिए।

५. फरक मत दर्ज नै भएन

एमालेमा ओलीलाई झनै अनुकुल हुँदै गएको छ। ओली इतरका नेताहरुले व्यक्ति पूजा गर्न भन्दा पनि पार्टीको ब्राण्डिङ गर्नुपर्ने भन्दै ओलीको आलोचना गरेका थिए। ओली निकट नेताहरुले ओलीको फोटो महाधिवेशनस्थलको जताततै राखेर ओलीलाई शक्तिशाली देखाउन खोजेपछि ओलीको प्रचारशैलीप्रति फरक मत राख्ने नेताहरुले प्रश्न उठाएका थिए।

त्यसको जवाफ दिँदै ओलीले भने, ‘एमाले व्यक्ति पूजामा लाग्ने पार्टी होइन। विरोधीहरु फोटो राखेको भनेर छाति पिटिरहेका छन्। मलाई बाँच्यो भनेर छाति पिटेका छन्, म के गरु? एमाले कोही व्यक्तिको पूजा गर्दैन तर नेतृत्वमा गोलबद्ध भएर लाग्छ।’

यसरी फरक मत राख्ने नेताहरुलाई मञ्चबाटै जवाफ फर्काएका ओलीले फरक मत दर्ज हुने वातावरण नै सिर्जना हुन दिएनन्। एमालेका उपमहासचिव घनश्याम भुसालले केन्द्रीय कमिटीको बैठकमा फरक मत राखेका थिए। ८ पेजको फरक मतमा बहुमत नपुग्ने देखेपछि भुसालले अघि बढाएनन्।

६. पार्टी नेतृत्व गर्दै फेरि पनि बहुमतको सरकार बनाउने नीति

अध्यक्ष ओलीले एमाले फेरि पनि सबै तहका निर्वाचन जित्ने दाबी गरिरहेका छन्। उनले विधान महाधिवेशनमा पनि उक्त दाबीलाई दोहोर्‍याए।

‘हामी अबका दिनमा जित्दै जानेछौँ। हामीले जित्नु पर्छ। हामीले जित्नका लागि गम्भिर बहसमा लागेका छौँ। चुनौतिको सामना गर्ने हो अपजस लगाउने होइन। देशको सबैभन्दा ठूलो पार्टी हो। सानातिना कुराले हामीलाई प्रभाव पार्दैन,’ उनले भने।

तर, त्यसका लागि चौतर्फी हमला भइरहेको ओलीको स्वीकारोक्ति थियो।

‘यतिखेर हामीलाई चौतर्फी हमला भएको छ। विचार संगठनमाथि हमला भएको छ। यसपल्ट पनि देशको आवश्यकतासँग संसद्को अंकगणितले मेल खाएन। हामीले एउटा उचाइमा पुर्‍याएको पार्टी माथि बन्चरो प्रहार गरे। के बिग्रिएको थियो,’ ओलीको भनाइ थियो।

ओलीले ललितपुरको गोदावरीमा ६ हजार बढी कार्यकर्ता उतारेर आफू अनुकुल माहोल मात्रै बनाएनन् विरोधी नेताहरुलाई आउने चुनावमा चुनौति पनि प्रस्तुत गरेका छन्। पार्टीमा निर्विकल्प भएको, फेरि पनि पार्टी सत्तामा हावी हुने रणनीति सफल बनाउनु ओलीको पहिलो उद्देश्य हो। विधान महाधिवेशनले त्यसका लागि अनुकुल खालका नीतिहरु तयार पारिदिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell