काठमाडौं : संखुवासभाको मादी नगरपालिका - १ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान पूरा गरेको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले ५ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयमा आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको हो। गत शुक्रवार प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले जानकारी दिए।
त्यस्तै, सरकारी वकिल कार्यालयले आइतवार जिल्ला अदालत संखुवासभामा मुद्दा दर्ता गराएको छ। उनीहरू विरुद्ध कर्तव्य ज्यान र चोरी मुद्दा लगाइएको छ। आइतवार नै प्रतिवादीहरू सँग बयान लिने काम भएको थियो। अदालतमा भएको बयान र प्रहरीसँगको बयानमा मिल्दो जुल्दो नै आएको सरकारी वकिल कार्यालय संखुवासभाका प्रमुख उत्तम श्रेष्ठले जानकारी दिए।
'बयान लगभग मिलेको छ। प्रहरी र अदालतमा भएको बयान फरक देखिएन,' कार्यालय प्रमुख श्रेष्ठले भने। अदालतमा नै अभियुक्तले घटना गराएको स्वीकार गर्नासाथ सबैभन्दा गतिलो प्रमाण बन्न सक्नेछ। त्यस्तै, उनीहरुको साविति बयानलाई अन्य प्रमाणले पुष्टि गर्नुपर्ने हुन्छ।
गएको भदौ २१ गते बिहान ८४ वर्षीया पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको शव फेला पारेको थियो। उनीहरू एउटै परिवारका हुन्। पछिल्लो समय प्रहरीले अभियुक्त भनेर सार्वजनिक गरेका पाँच जना पनि हत्या भएका परिवारकै सगोलभित्रका हुन्।
हत्या भएको पाँच दिनपछि २७ गते मुख्य अभियुक्त भनेर प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको थियो। त्यसको केही दिनपछि थप चार जना अभियुक्तलाई पक्राउ गरेको थियो।
४७ वर्षीय खड्गबहादुर कार्की, उनका २८ वर्षीय छोरा हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की पक्राउ परेका थिए। नरेश र रणबहादुर कार्की लोकबहादुरका भाइ र बाबु हुन्। त्यस्तै, घटनाका मुख्य योजनाकार पनि लोकबहादुर नभएर खड्गबहादुर कार्की भएको देखियो।
३२ वर्षीय रञ्जना कार्की (हत्या भएकी महिला) दुई वटा मोबाइल चलाउँथिन्। जसमध्ये एउटा मोबाइल घटनास्थलमा भेटिएको थिएन। उनको मोबाइल प्रहरीले खोजी गरेको थियो। त्यो मोबाइल लोकबहादुरलाई सार्वजनिक गरेको केही दिनपछि उनकै भाइले प्रयोग गरिरहेको पहिचान भयो। त्यसैले उनी विरुद्ध चोरी मुद्दा समेत लगाइएको हो।
उनीहरू विरुद्ध सरकारी वकिल कार्यालयले क्रुर र निर्ममपूर्वक हत्या गरेको अभियोगमा जीवित रहेसम्म कैद सजाए माग गरेको छ। त्यस्तै, एक जना बालक भएकाले दुई तिहाइ मात्र सजाय हुनेछ। प्रहरीले अनुसन्धानको क्रममा प्रतिवादीको घरबाट भेटेको मृतकले प्रयोग गर्ने मोबाइल, घटनामा प्रयोग भएको छुरी, घाउचोट, पाँच जनाको मिल्दो जुल्दो साविति बयानलाई नै मुख्य प्रमाणको रूपमा पेस गरेको छ।
प्रतिवादीको घरबाट बरामद भएको टिसर्टमा भेटिएको रगत भने परीक्षणको लागि प्रहरीको ल्याबमा पठाइएको छ। त्यसको रिपोर्ट नआएकाले प्रतिवेदनमा समावेश गरिएको छैन। 'रिपोर्ट आइसकेको छैन। आएपछि हामी त्यसलाई अदालतमा पुर्याउँछौँ,' डीएसपी सुवेदीले भने।
प्रतिवादीको बयानपछि थुनछेक बहस हुनेछ। त्यसपछि अदालतले प्रतिवादीलाई धरौटीमा रिहा गर्ने, साधारण तारिकमा छोड्ने वा पुर्पक्षको लागि थुनामा पठाउनेमध्ये एक आदेश दिनेछ।
