भारतीय टेलिभिजन शो 'तारक मेहताका उल्टा चश्मा' का नट्टु काकाको भुमिका निभाउँदै आएका घनश्याम नायकको निधन भएको छ। क्यान्सरका कारण उनको ७७ वर्षको उमेरमा आइतवार निधन भएको हो।
शोका निर्माता असित कुमार मोदिले नट्टुकाकालाई आफूले सधैँ सम्झिरहने उल्लेख गरेका छन्।
घनश्यामका छोरा विकासका अनुसार तीन महिना अघि उनको घाँटीमा केही गाँठा देखिएका थिए। त्यसपछि उनको उपचार चलिरहेको थियो। गत वर्ष मात्रै उनको घाँटीको शल्यक्रिया गरेर ८ गाँठा निकालिएको थियो। स्वास्थ्य अवस्थाका कारण उनी शोमा समेत पहिला जस्तै सक्रिय रुपमा देखापरेका थिएनन्। उनलाई कोरोनाका कारण गाउँमा रहेको देखाइदै आइएको थियो। नट्टु काका शोमा सुरुवाती दिन देखि नै जोडिएका थिए।
घनश्यामले केही समयअघि शो 'तारक मेहताका उल्टा चश्मा' मा जोडिएपछि जीवनमा निकै परिवर्तन आएको बताएका थिए। घनश्यामले टेलिभिजनका साथै धेरै फिल्ममा समेत देखिसकेका छन्। सन् १९६० उनी पहिलो पटक अशोक कुमारको फिल्म 'मासुम' मा बाल कलाकारको रुपमा देखिएका थिए। साथै बेटा, तिरंगा, आँखे, लाडला, क्रान्तिवीर, आन्दोलन, बरसात, माफिया, चाहत, इश्क, चाइना गेट, तेरे नाम, हम दिल दे चुके सनम जस्ता फिल्महरुमा समेत उनले अभिनय गरेका थिए।
