PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

चितवन टाइगर्सलाई ६ विकेटले हराउँदै भैरहवा ग्लाडियटर अंक तालिकामा दोस्रो स्थानमा उक्लियो, चितवन पहिलो स्थानमै



पहिलोपोस्ट

चितवन टाइगर्सलाई ६ विकेटले हराउँदै भैरहवा ग्लाडियटर अंक तालिकामा दोस्रो स्थानमा उक्लियो, चितवन पहिलो स्थानमै

काठमाडौं : एभरेस्ट प्रिमियर लिग अन्तर्गत सोमवार भएको पहिलो खेलमा चितवन टाइगर्सलाई भैरहवा ग्लाडियटरले ६ विकेटले पराजित गरेको छ। 

टस जितेर ब्याटिङ रोजेको चितवन टाइगर्सले निर्धारित २० ओभरमा १६४ रन बनाएको थियो। १६५ रनको लक्ष्यसहित क्रिजमा उत्रिएको भैरहवाले १३ बल बाँकी छँदै चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। 

भैरहवाका लागि सुरुवाती दुई व्याट्सम्यानले इपीएल २०२१ को पहिलो १०० रनको साझेदारी गरे। ओपनर तामिम इक्वालले ३० बलमा पाँच चौका र एक छक्काको मद्दतले ४० रन जोडे। उनले प्रदीप ऐरीसँग १०.५ ओभर खेल्दै १०६ रनको साझेदारी गरेका थिए। 

आजको खेलका म्यान अफ दी म्याच प्रदीप ऐरीले ४३ बलमा ८ चौका र ३ छक्काको सहयोगले ७२ रन बनाए। त्यस्तै भैरहवाका लागि उपुल थरंगाले १९ बलमा ३९ रन सहित नटआउट खेले। त्यस्तै रोहित पौडेलले ६, आरिफ शेख १ रन बनाउँदै पेवेलियन फर्किँदा कुशल मल्ला १ रनको साथ नटआउट रहे। 

चितवन टाइगर्सका लागि करिम जनतले २ विकेट लिँदा सागर ढकाल र भीम सार्कीले १/१ विकेट लिए। 

सुरुवातमा ब्याटिङ गरेको चितवनका लागि  करिम जनतले ३५ रन बनाउँदा मोहम्मद शाहजादले ३२ रन बनाए। सेकुगे प्रसन्न २४, भीम सार्की १६, राजेश पुलामी १४ र दीलिप नाथले १३ रन बनाए। देव खनाल ५ र खड्ग बोहोरा १ रनमा आउट हुँदा कमल ऐरी ७ रनका साथ नट आउट रहे।

भैरहवाका बलरहरु अविनाश बोहराले ३ विकेट, कुशल मल्लले २ विकेट लिँदा धम्मिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले १/१ विकेट लिए। 
चितवनका नियमित कप्तान सोमपाल कामी आज उपस्थित नहुँदा दिलिप नाथले कप्तानी सम्हालेका थिए। 

आजको खेल जित हात पारेसँगै भैरहवा अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। अंक तालिकामा चितवन पाँच खेलमा चार जितसहित ८ अंकका साथ पहिलो स्थानमा हुँदा भैरहवा चार खेलमा दुई जित, एक बराबरी र एक अंक बाँड्दा ६ अंकका साथ दोस्रो स्थानमा छ। 

चार खेल नै खेलको पोखरा राइनोज ५ अंकका साथ तेस्रो स्थानमा छ भने ललितपुर पाँच खेलमा तीन अंकका साथ चौथो स्थानमा छ। काठमाडौं ३ खेलमा १ जितसहित २ अंक  भने विराटनगर पाँच खेलमा १ जितसहित २ अंकका साथ अंक तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell