PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

राजेश हमालको तस्विरलाई साक्षी राखेर शोभित बस्नेतले बोली फेरेका हुन् ?



पहिलोपोस्ट

राजेश हमालको तस्विरलाई साक्षी राखेर शोभित बस्नेतले बोली फेरेका हुन् ?

नेपाली फिल्मको महानायक को महानायिका को? कोरोनाका कारण धरासायी बनेको फिल्म क्षेत्र अहिले माथि उठ्ने कोसिसमा भन्दा पनि यही बहसमा अल्झिरहेको छ। आइतवार काठमाडौंमा आयोजित 'डाँडाको वरपीपल' फिल्मको युनिटले आयोजना गरेको कार्यक्रम पनि यसै विषयमा केन्द्रित रह्ययो।

साँघुरो कोठामा आयोजित कार्यक्रममा एक फरक दृश्य देखियो। कार्यक्रममा दायाँतिरबाट कलाकारहरु रूबिना थापा र सलोन बस्नेत थिए। छेउमै राखिएको थियो अभिनेता राजेश हमालको तस्विर। राजेशले न त फिल्ममा नै अभिनय गरेका थिए न त कार्यक्रमसँग उनको कुनै संलग्नता नै थियो। फिल्ममा अटाएका कलाकार भुवन केसी, शिव श्रेष्ठ र गौरी मल्ल भने उपस्थित थिएनन्।

कार्यक्रममा राजेश हमालको राखिएको तस्विरमाथि चासो हुनु स्वभाविक नै थियो। हमालको तस्विरले सबैको ध्यान खिचिरहेको थियो। कारण – राजेश हमाललाई लिएर शोभित बस्नेतले दिएको टिप्पणी।

राजेश हमाललाई 'महानायक' भनिरहँदा शोभित बस्नेतले अभिनेता भुवन केसी नेपालको एकमात्र महानायक भन्दै आएका छन्। यसअघि आयोजित एक कार्यक्रममा पनि उनले 'भुवन नै महानायक हो' भनेर भनेपछि कार्यक्रम नै महानायक र महानायिका को हो त? भन्ने बहसमा अल्मलिएको थियो। जसपछि शोभितको आलोचना समेत भएको थियो।

यसबिच आइतवारको कार्यक्रममा भुवनकै 'गुनगान गाउने' शोभितको यो अनौठो काम देख्दा पत्रकारले 'अभिनेता राजेश हमालको फोटो किन राखेको?' भनि प्रश्न सोधे।

जवाफमा उनले भने : कार्यक्रमको प्रमुख अतिथि मानेर राजेश हमालको फोटो राखिएको हो। सधैँजसो भुवन केसीलाई महानायकको ट्याग दिने उनले यसपटक भने 'राजेश हमाललाई नै महानायक' भएको भनि स्विकारे। तर, शर्त राखेर। उनले आफूले हमाललाई सुपरस्टार भनेको तर सुपरस्टार भन्दा महानायक ठूलो रहेको भन्दै व्‍यङ्ग्य समेत गरे।

शोभित भन्छन्, ‘म जहिले पनि गलत रहेछु। किनभने मैले जुनसुकै मिडियामा पनि राजेश हमाल सुपरस्टार हो भनेर भनेको छु। विश्वमा सुपर स्टारभन्दा माथि कुनै पद नै छैन। यो महानायक त व्यक्तिले दिएको ट्याग हो। राजेश हमाल भनेको त सुपरस्टार हो। म हात जोडेर माफी माग्छु। मैले गलत बुझेछु। सुपरस्टार ठुलो भन्ने सोचेछु तर महानायक पो ठुलो रहेछ। हरेकले राजेश हमाललाई नै महानायक मानेको रहेछ। अब म पनि उहाँलाई महानायक नै मान्छु।'

आफुले राजेश हमालसँग १७ वटा फिल्ममा सँगै काम गरेको र अब छिट्टै हमाललाई लिएर अर्को फिल्म बनाउने समेत उनले सुनाए।

उनको यो फेरिँदो व्यवहार देख्दा पत्रकारले कतै यो फिल्म चलाउने फन्डाको लागि उठाएको बहस त होइन भनि सोधे।

जसको जवाफमा शोभित भन्छन्,'यो फिल्म चलाउनलाई ल्याएको फन्डा होइन। अरुसँग गरेको भए फन्डा हुन्थ्यो होला। तर राजेश हमालसँग कहिले हुँदैन। जनता उहाँको पछाडि लाग्छ भने किन मैले मात्रै गलत ट्याग दिने त। उहाँ महानायक हुनुहुन्थ्यो, हुनुहुन्छ र भइरहनुहुनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell