काठमाडौं : सार्वजनिक सवारी तथा स्थानमा भिडभाडको समयमा सक्रिय हुने पकेटमारको प्रभाव कम गर्न प्रहरीले २० दिने अभियान संचालन गर्दा २ सय ७ जना पक्राउ परेका छन्।
दशैं तिहारमा देश विदेशबाट आउजाउ गर्ने मानिसहरुको यातायातमा धेरै भिड हुने गर्छ। त्यस्तैमा पाकेटमारहरु सक्रिय हुने गर्छन्। त्यसैलाई मध्यनजर गरेर भदौ २५ गतेदेखि असोज १५ गतेसम्म सादा पोशाकका प्रहरीहरु सार्वजनिक सवारीमा परिचालित थिए। त्यस्तै, धेरै भिडभाड हुने बजारमा पनि उनीहरुले 'कोभर्ट' अपरेसन सञ्चालन गरेका थिए।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार यसबिच पक्राउ परेका २ सय ७ जना मध्ये १ सय ६१ जनामाथि अनुसन्धान जारी छ। ४६ जनाको अनुसन्धान पूरा भई सरकारी वकिल कार्यालयमार्फत् जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएर कारागार चलान गरिएको छ।
नगद, मोबाइल, गरगहना चोर्दाचोर्दै धेरै पाकेटमारहरु पक्राउ परेको प्रहरीले जनाएको छ।
कसरी गर्थे पाकेटमारी?
सार्वजनिक यातायातबाट यात्रा गर्नुहुन्छ भने फरक हर्क गर्नेहरुसँग विशेष होसियार रहनुहोला। प्रहरीले पक्राउ गरेका मानिसहरुको पाकेटमारी शैलीका आधारमा व्याख्या गरे अनुसार बसमा पाकेटमारहरु दुई/दुई जनाको दरले ६ जनाको समूहमा प्रवे गर्ने र अगाडि र पछाडिबाट यात्रुलाई घेरामा पार्छन्। ठेलमठेल गर्दै त्यही मौका पारेर उनीहरुको खल्ती, व्याग, झोलाबाट नगद, मोइबाइल, सुनचाँदी निकाल्ने गर्छन्।
उनीहरूले ठेलमठेलमा नगद तथा अन्य सामान निकालिसकेपछि उनीहरु फेरि पालैपालो गरी ओर्लिने गरेको देखिएको छ। त्यसैले, सार्वजनिक यातायात होस् या भिडभाड हुने बजार, यस्ता संकेत देखियो भने होस गर्नुहोला। उनीहरुले सार्वजनिक स्थानमा प्रयोग गर्ने भाषा पनि सांकेतिक हुने गरेको प्रहरीले जनाएको छ। त्यसैले, संकास्पद भाषा प्रयोग भएमा तिनीहरुबाट जोगिनुपर्न प्रहरीको सुझाव छ।
यस्तो छ पाकेटमारको भाषा
संगठित रुपमा पाकेटमारी गर्नेले प्रयोग गर्ने भाषा आम जीवनमा नसुनिने हुन्छ। अर्थात् उनीहरुले यसका लागि सांकेतिक भाषाको प्रयोग गरिरहेका हुन्छन्। उनीहरुले प्रयोग गर्ने भाषा यस्तो रहेको प्रहरीले जनाएको छ -
|
शब्द |
कोड भाषा |
|
पैसा |
द |
|
मोबाइल |
कान |
|
पाकेटमारी पीडित |
रामे |
|
पाकेटमारी गर्ने |
काशी |
|
पैसा धेरै छ |
टानको द |
|
पैसा थोरै छ |
जुटको द |
|
गाडी |
कांचा |
|
केटा |
छापा |
|
केटी |
भद्री |
|
पुलिस आयो |
ठुल्दाइ आयो |
|
ड्राइभर |
माम |
|
खलासी |
मले |
|
गाडीबाट झरेर भाग |
टप्की |
|
गाडी भित्र अगाडि सर |
अकल जा |
|
गाडी भित्र पछाडि सर |
चिछल जा |
