काठमाडौं : नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले पार्टी भित्र फरक मत नरहेको बताउनु भएका छन्। पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसावले एकतावद्ध रहेको दाबी समेत गरेका छन्।
आइतवार सम्पन्न पार्टीको विधान महाधिवेशनमा पार्टी भित्र फरक मत कसैले पनि दर्ज नगरेको उनले बताए। पार्टीका अर्का उपमहासचिव घनश्याम भुसालप्रति संकेत गर्दै पार्टीको विधान महाधिवेशनमा औपचारिक रुपले कसैले फरक मत नराखेको उनले बताएका हुन्।
पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुन:पुष्टि गरेको समेत बताए।
‘नेकपा एमाले विभाजन भएको छैन भनेर हामीले जे भनि आएका थियौ। त्यो निष्कर्षलाई यो महाधिवेशनमा भएको उपस्थितिले, छलफलले, महाधिवेशनमा जुन खालको रिर्पोटिङ भयो, त्यसले पुन:पुष्टि गरेको छ। एमाले विभाजित भएको छैन। केही साथीहरु स्वार्थबस, कुण्डाबस, ईस्यावश पार्टीबाट अलग भए। केही साथीहरु भ्रममा परे। तर भ्रममा रहेका साथीहरु क्रमशः फर्किरहेका छन’ उनले भने।
एमालेको १० औं राष्ट्रिय महाधिवेशन आगामी मंसीर १०, ११ र १२ गते बुटवलमा हुने घोषणा तय भएको छ। पौडेलले सो महाधिवेशन तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न हुने समेत बताए।
