PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

पाकेटमार र चोरले भरिएको प्रहरीको प्राङ्गणको फरक दृश्य

पाकेटमार र चोरले भरिएको प्रहरीको प्राङ्गणको फरक दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : दिउँसो साढे १ बजेदेखि नै महानगरिय प्रहरी परिसर टेकुमा अन्य दिनको भन्दा धेरै सङ्ख्यामा प्रहरीका गाडीको आवत जावत बढेको थियो। प्रत्येक प्रहरीका भ्यानबाट १० देखि २० जनासम्म हथकडी लगाएका युवाहरु परिसरमा उत्रिरहेका थिए। त्यसपछि हिरासत कक्ष नजिकै रहेको प्राङ्गणमा उनीहरुलाई लाइन बनाएर राख्न थालियो।

झन्डै १० भन्दा बढी गाडीमा आएका हथकडी लगाएका युवाहरुको हुल एकाकार भयो। लाग्थ्यो यिनीहरु परेडका लागि तयारी गर्दैछन्। तर, उनीहरु प्रहरी नभएर पाकेटमारी र चोरीका क्रममा समातिएका मानिसहरु थिए।

पक्राउ परेका अधिकांश अभियुक्तहरु एउटै उमेर समूहका थिए - २० देखि ३० वर्षे। महिलाहरुको सङ्ख्या पनि त्यही हुलमा थियो। प्रहरीले भदौ २५ गतेदेखि असोज १५ गतेसम्म विभिन्न स्थानमा चोरी र पाकेटमारी गर्दैगर्दा समातेको थियो उनीहरुलाई।

यस अवधिमा २ सय ७ जनालाई प्रहरीले समातेको हो। जसमध्ये ४६ जनालाई अनुसन्धान गरेर सरकरी वकिलमार्फत् अदालतमा बुझाएर अदालतको आदेश अनुसार कारागार समेत पठाइएको परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।

बाँकी भएका १ सय ६१ जनालाई उभ्याइएको थियो आज दिउँसो। प्रहरीले काठमाडौंका विभिन्न १४ वटा वृत्तबाट समातिएका उनीहरुलाई सोमवार एकै ठाउँमा उभ्याएको थियो। प्रहरीले पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको थियो।

त्यही भएर क्यामराको नजरमा पर्ने डरले उनीहरु अनुहार लुकाउने उपाय खोजिरहेका थिए। कोरोनाको संक्रमणका कारण सबैको अनुहारमा मास्क थियो, उनीहरुको चिनिने चिन्ता त्यसले केही कम गराएको थियो।

मानिसहरुको पाकेटमारी शैलीका आधारमा व्याख्या गरे अनुसार बसमा पाकेटमारहरु दुई/दुई जनाको दरले ६ जनाको समूहमा प्रवेश गर्ने र अगाडि र पछाडिबाट यात्रुलाई घेरामा पार्ने। ठेलमठेल गर्दै त्यही मौका पारेर उनीहरुको खल्ती, व्याग, झोलाबाट नगद, मोइबाइल, सुनचाँदी निकाल्ने उनीहरुको शैली।

उनीहरुले भिडभाड भएको स्थानलाई टार्गेट गर्ने गरेको पाइएको छ। उनीहरुको आफ्नै कोर्ड वर्ड समेत रहेको छ। उनीहरुल पैसालाई द, मोबाइललाई कान, पकेटमारी पीडितलाई रामे, गाडीलाई कांचा, गाडीबाट झरेर भागलाइ टप्की लगायतका कोण शब्दहरु समेत प्रयोग गर्ने गरेको एसएसपी सिंहले जानकारी दिए।



ट्रेन्डिङ पोस्ट

Ncell