PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

अपराधको ग्राफ उक्लँदो : जबर्जस्ती करणीका घटनामा आफन्तकै कनेक्सन!



पहिलोपोस्ट

अपराधको ग्राफ उक्लँदो : जबर्जस्ती करणीका घटनामा आफन्तकै कनेक्सन!

काठमाडौं : महिला तथा बालबालिकामाथि हुने हिंसाजन्य घटनाहरु पछिल्लो समय बढ्दै आएको देखिएको छ।

प्रहरी तथ्यांकअनुसार प्रत्येक वर्ष महिला तथा बालबालिकामाथि हुने जबर्जस्ती करणी, बोक्सीको आरोप, बालयौन दुर्व्यवहार,  बालविवाह, घरेलु हिंसा लगायतका अपराधहरू बढ्न थालेको हो। महिलामाथि धेरैजसो बोक्सीको आरोप, अप्राकृतिक मैथुन, बालविवाह,  घरेलु हिंसा लगायतका घटना बढेको देखिएको छ।

आर्थिक वर्ष २०७७/ ७८ मा ६१ वटा बोक्सीको आरोपमा महिलामाथि यातना दिएको देखिन्छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै ८० प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०७६/ ७७ मा ३४ वटामात्र बोक्सीसम्बन्धी घटना प्रहरीमा दर्ता भएका थिए।

त्यस्तै, बाल विवाहका घटनामा पनि दुई आर्थिक वर्षको तुलना गर्दा ३१ प्रतिशत बढेको नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले जानकारी दिए। आर्थिक वर्ष २०७६/७७ मा ६४ वटा बाल विवाहविरुद्ध मुद्दा दर्ता भएका थिए। तर, आर्थिक वर्ष २०७७/७८ मा यो सङ्ख्या बढेर ८४ पुग्यो। त्यस्तै, बाल यौन दुराचारका घटना पनि २० प्रतिशतले वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष २०७७/७८ मा २ सय ७९ वटा घटना बालयौन दुराचारसम्बन्धी मुद्दा दर्ता भएका थिए। त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा २ सय ३२ वटा घटना दर्ता भएका थिए। यस्ता घटनामा विदेशी नागरिकहरूको संलग्नता देखिएको छ।

महिला तथा बालबालिकामाथि हुने सबैभन्दा धेरै अपराधमध्ये घरेलु हिंसा रहेको देखिन्छ। धेरैजसो घरेलु हिंसाका घटना त अझै प्रहरीकहाँ पुग्ने पाउँदैन। हिंसाको चरम अवस्थामा पुगेपछिमात्र पीडित पक्ष प्रहरी कहाँ पुग्ने गरेको देखिन्छ। अशिक्षा, अज्ञानता र कानुनी सेवामा सहज पहुँच नहुँदा यस्ता घटना घरभित्र नै सीमित हुने गरेको बताइन्छ। आर्थिक वर्ष २०७७/७८ मा १४ हजार २ सय ३२ वटा घरेलु हिंसाका घटना प्रहरीको फायलमा रेकर्ड भएका छन्। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २१ प्रतिशतभन्दा बढी हो। आर्थिक वर्ष २०७६/७७ मा ११ हजार ७ सय ३८ वटा घटना प्रहरीमा दर्ता भएको थियो।

पछिल्लो समय मानव बेचबिखनका घटना भने कम भएको देखिएको छ। तीन आर्थिक वर्षमा प्रहरीमा दर्ता भएका सङ्ख्यालाई हेर्दा बेचविखन भने घटेको देखिएको छ। आर्थिक वर्ष २०७५/७६ मा २ सय ४७ वटा घटना दर्ता भएका थिए भने आर्थिक वर्ष २०७६/७७ मा यो सङ्ख्या घटेर १ सय ६४ मा पुग्यो। आर्थिक वर्ष २०७७/७८ मा २५ प्रतिशतले घट्यो र १ सय २२ मा पुग्यो। मानव तस्करहरुले महिला तथा बालबालिकालाई यौन तथा घरेलु कामदारको रूपमा भारतदेखि युरोपसम्म पुर्‍याउने गरेको देखिन्छ।

त्यस्तै, बहुविवाहका घटना पनि सबैभन्दा धेरै प्रहरीकहाँ पुग्ने अपराध मानिन्छ। प्रत्येक वर्ष ८ सयभन्दा बढी घटना प्रहरी कहाँ पुगेको छ। आर्थिक वर्ष २०७७/७८ मा बहुविवाहका घटना १६ प्रतिशतले बढेको थियो। यस वर्ष ८ सय ५२ वटा घटना प्रहरीले दर्ता गर्‍यो।

जबरजस्ती करणीका घटना बढे

त्यस्तै, पछिल्लो तथ्यांकअनुसार जबरजस्ती करणीको घटना बढेको देखिन्छ। आर्थिक वर्ष २०७७/७८ मा १८ प्रतिशत रेकर्ड बढी भयो। २ हजार ५३४ वटा घटना दर्ता भए यस शीर्षकमा। जबकि अघिल्लो आर्थिक वर्षमा  २ हजार १४४ वटा घटना दर्ता भएका थिए। २ हजार ५ सय ३४ वटा घटनामा २ हजार ८१५ जना प्रतिवादीमध्ये  ९ प्रतिशत अर्थात् २ सय ७८९ जना हाडनाता सम्बन्धका थिए। त्यस्तै, छिमेकी ३० प्रतिशत अर्थात् ८ सय ६८ रहेका छन्।

 

जबरजस्ती करणीका घटनामा पीडित १० वर्ष उमेर समूहका ११ प्रतिशत, ११ देखि १८ उमेरमा ५३ प्रतिशत र ६० वर्ष माथिका १ दशमलव ४८ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०७६/७७ मा देशभर २ हजार १ सय ६७ वटा बलात्कार घटना भए। जसमा १ हजर ३ सय ९३ वटा घटनामा बालिका नै सिकार भएको देखिन्छ। महिलाको सङ्ख्या भने ७ सय ७१ छ। १० वर्ष मुनि बलात्कृत हुनेको सङ्ख्या २ सय ७३ रहेको छ। ११ देखि १६ उमेर समूहमा ८ सय १ जना रहेको छ। १७ र १८ वर्ष उमेर समूहमा ३ सय १९ जना रहेका छन् बलात्कृतहरु।

आर्थिक वर्ष २०७५/७६ मा बलात्कारको घटना २ हजार २ सय ५४ वटा भएका थिए। बालिकाको सङ्ख्या १ हजार ४ सय २० वटा रहेका छ। धेरै जसो बलात्कारको घटनामा आफन्त र चिनेजानेका बाट नै हुने गरेको देखिएको छ। बलात्कारपछि घटना खुल्ने डरमा हत्या गर्नेसम्मका केस देखिएका छन्।

'बलात्कारको घटना चिनिजानेका बाट नै भएको देखिएको छ। अपराध खुल्ने डरले बलात्कारपछि हत्या गर्ने गरेका छन्,' पूर्व डीआइजी हेमन्त मल्लले भने।

बलात्कार र हिंसाका यी तस्बिर प्रहरीकहाँ दर्ता भएका केसमात्र हुन्। त्यसबाहेक आफन्त र परिवाजनले यस्तो विषयलाई लुकाउने परम्परा नै छ। जसले सहि आकारमा हिंसाको संख्या यति नै हो भनेर किटान गर्न सकिने अवस्था छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell