PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

८० यात्रुसहित उड्ने तयारीका क्रममा चिप्लियो श्री एयरलाइन्सको जहाज, मर्मतको दोस्रो दिन नै देखियो समस्या



वसन्तराज उप्रेती

८० यात्रुसहित उड्ने तयारीका क्रममा चिप्लियो श्री एयरलाइन्सको जहाज, मर्मतको दोस्रो दिन नै देखियो समस्या

काठमाडौं : श्री एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलको पार्किङ-ट्याक्सी-वेमा चिप्लिएको छ। मंगलवार विहान करिब साढे १० बजे काठमाडौंबाट नेपालगञ्जका लागि ८० जना यात्रुसहित उडानका क्रममा रहेको जहाज ट्याक्सी-वे मा चिप्लिएको हो।

जहाजबाट यात्रुलाई ओरालिएको छ। क्यु-४०० जहाज मर्मतपछि सञ्चालनमा ल्याएको दोस्रो दिनमै प्राविधिक समस्या आएको हो। ९ एन-एएनएफ* कलसाइनको जहाज उडानका क्रममा प्राविधिक समस्या आएपछि ट्याक्सी-वेमा चिप्लिएको विमानस्थल कार्यालयले जनाएको छ। 
यतिखेर यात्रु ओरालेर जहाज साइड लगाउने तयारी भइरहेको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए।

'यो पन्छाए लगत्तै निरीक्षणका लागि लगिनेछ,' उनले भने। क्यानको सेफ्टी विभागको अनुमतिपछि मात्र जहाज उडान गर्न दिइने उनले बताए। 
'पार्किङ एरियाबाट जाँदै गरेको जहाजको बायाँपट्टि चक्का ग्रास एरियामा गएको छ। जहाज निकाल्नका लागि जनशक्ति परिचालन भइसकेको छ। केही समयमै जहाज निकालिने छ,' प्रवक्ता शेर्पाले भने, 'जहाजको बायाँपट्टिको चक्का चिप्लिएर करिब तीन फिट पर घाँसे मैदानमा पुगेको हो।' 

पार्किङबाट ट्याक्सी-वेतर्फ गएको जहाजको पछाडि पट्टिको चक्का चिप्लिएको कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताए। कम्पनी र नागरिक उड्डयन प्राधिकरणका प्राविधिकको निरीक्षणपछि जहाज पुनः संचालनमा ल्याइने उनले जानकारी दिए।

श्रीको उक्त जहाजमा समस्या आए पनि आन्तरिकतर्फका अरु उडान प्रभावित नभएको विमानस्थलले जनाएको छ। 

*एएनएफ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell