PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

भारतीय मिडियाको प्राथमिकता कुन? किसानको 'हत्या' कि शाहरुख खानको छोराको केस?



पहिलोपोस्ट

भारतीय मिडियाको प्राथमिकता कुन? किसानको 'हत्या' कि शाहरुख खानको छोराको केस?
Photo : India Today / ANI

भारतमा अहिले दुईवटा विषय चर्चाको सबैभन्दा शिखरमा रहेको छ। एउटा – बलिउड अभिनेता शाहरुख खानको छोरा पक्राउ परेको घटना हो भने दोस्रो – र्‍यालीका क्रममा केन्द्रीय राज्य मन्त्री अजय मिश्राको छोराले चलाएको गाडीले मारिएका किसानको घटना।

उत्तर प्रदेशको लखीमपुर खीरीमा किसानको र्‍यालीमा लापरवाह तरिकाले गाडी गुडाएर ४ किसानसहित ८ जना मारिएको घटनामा राज्यमन्त्रीका छोराको प्रत्यक्ष संलग्नता रहेको देखिएको बताइन्छ। गाडी किसानको र्‍यालीमा अनियन्त्रित भएर चलेको भिडियो नै सार्वजनिक भएको छ। उक्त घटनालाई धेरैले 'जानीजानी घटाइएको' आरोप लगाएका छन्। यस घटनालाई भारतीय जनता पार्टी (भाजपा) भित्रै विभाजित मत देखिएको छ। धेरैले यसलाई किसानको 'हत्या' को संज्ञा दिएका छन्।

यता, शाहरुख खानका छोरा आर्यन खान क्रुजमा रेब पार्टीको क्रममा लागू औषध कारोबार भइरहेको आधारमा पक्राउ परेका छन्। २३ वर्षीय आर्यनलाई अक्टोबर ७ सम्म नार्कोटिक्स कन्ट्रोल ब्युरोको हिरासतमा पठाइएको छ। यस मुद्दाले बलिउडमात्रै होइन राजनीति पनि तातेको छ।

यी दुवै मुद्दामा अहिले भारतिय मिडियामा धेरै कभरेज पाएको घटना हो – आर्यन पक्राउ पर्नु। टेलिभिजन च्यानलहरुको मुख्य बुलेटिनमा यसले धेरै ठाउँ पाएको छ। तर, मन्त्रीको छोराले गराएको घटनाले मिडियामा खासै स्थान पाउन सकेको छैन। यस्तोमा भारतीय मिडियामाथि प्रश्न उठिरहेको छ : किसानको 'हत्या' ठूलो कि शाहरुखको छोराको केस?

मिडियाले सोमवार दिनभर आर्यनको कोर्ट ट्रायललाई प्राथमिकता दियो। उता लखीमपुरमा भएको घटनालाई लिएर भएको विरोधले कमै मात्रै कभरेज पायो टेलिभिजन च्यानलमा। त्यसो त भारतीय मिडिया प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्ध बोल्दैनन् भनेर आलोचना भइरहेको हुन्छ। त्यसै बिच उनकै पार्टीको र क्याबिनेट मन्त्री नै जोडिएको घटना मिडियाले किन उचालोस्?

मिडियाले घटनालाई प्राथमिकता नदिएर के भयो त? सामाजिक संजालमा मिडियाको आलोचना साथै प्रश्न उठे। भारतीय मिडिया 'गोदी मिडिया' भएको नारा फेरि गुञ्जियो। किसानका लागि न्याय माग्दै सामाजिक संजालमा अभियान चल्यो। अन्तत: जनदबाबपछि उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथ सरकारले केन्द्रीय गृह मन्त्रीका छोरा आशिष मिश्रको विरुद्ध मुद्दा दर्ता गरेको छ।

विपक्षी पार्टीहरुले पनि मिडिया र भाजपामाथि प्रश्न उठाएको छ। भाजपा नेताको केसलाई दबाउन र लुकाउन मिडियाले आर्यन खानको मुद्दालाई उचालेको आरोप समेत लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell