PahiloPost

Dec 23, 2024 | ८ पुष २०८१

सिटामोलको माग धान्न सरकारी कम्‍पनीलाई हम्मेहम्मे, किन सुरु भयो सिटामोल अभाव?



खेमराज श्रेष्ठ

सिटामोलको माग धान्न सरकारी कम्‍पनीलाई हम्मेहम्मे, किन सुरु भयो सिटामोल अभाव?

काठमाडौं : नेपाल औषधि लिमिटेडलाई सिटामोलको माग धान्न हम्मेहम्मे परेको छ। उत्पादन सीमित, माग अत्यधिक हुन थालेपछि सरकारी कम्पनीलाई आपूर्ति गर्न गाह्रो परेको हो।

पछिल्लो समय माग धान्न उद्योग शनिबार पनि चलिरहेको छ। कर्मचारीहरु बिहान ४ बजे नै आएर काममा जुट्छन्। सिटामोलको माग अत्यधिक हुन थाल्यो। बिदाको दिन पनि उत्पादन गरिरहेका छौं,' लिमिटेडका प्रबन्ध निर्देशक मोहम्मद साइफुल्लाले भने।

आधारभूत औषधिमध्ये पर्ने सिटामोलको उत्पादनमा निजी क्षेत्रका उद्योगले बहानाबाजी गर्न थालेपछि बजारको माग सरकारी कम्पनीले धानिरहेको छ। 'बजारमा सिटामोल अभाव भएको हल्लासँगै माग पनि वृद्धि भएको छ,' साइफुल्ला भन्छन्, 'यो कुरालाई मध्यनजर गर्दै हामीले उत्पादन समय पनि बढाएका हौं।'

हाल कम्पनीले दैनिक ७ लाख ट्याबलेट सिटामोल उत्पादन गर्दै आएको छ। सामान्य अवस्थामा ५० लाख ट्याबलेट भन्दा बढी मौज्दात राख्ने उद्योगले अहिले बिहान उत्पादन गरेर बेलुकै बिक्री गर्ने गरेको छ। यतिले पनि माग धान्न सकिरहेको छैन। हाल यो सरकारी उद्योगले सिटामोल, जीवनजल र सेनिटाइजर उत्पादन गर्दै आएको छ। सिटामोल र जीवनजलमा नाफा नरहेको कारखानालाई सेनिटाइजर बिक्रीले भने फाइदा दिएको छ। 

किन सुरु भयो सिटामोल अभाव?

सरकारले २०६३ सालमा सिटामोलको मूल्य १ रुपैयाँ तोकेको थियो। सो समयमा पारासिटामोल बनाउने कच्चा पदार्थको मूल्य प्रतिकेजी भारतीय रुपैयाँ २६० (४१४ नेपाली रुपैयाँ) थियो। यतिबेला नेपाली कम्पनीहरुले उत्पादन र बिक्रीमा नाफामै पारासिटामोलको कारोबार गरिरहेका थिए। अहिले यसको कच्चा पदार्थको मूल्य बढेर प्रतिकेजी भारतीय रुपैया ९०० (१ हजार ४३६ नेपाली रुपैयाँ) पुगेको छ।

यो मूल्य अलि अघि १२ सय भारुसम्म पुगेको थियो। नेपाली व्यवसायीहरुले भारतीय बजारबाट यो कच्चा पदार्थ आयात गर्ने गर्दछन्। 

नेपालले धेरै औषधि उत्पादन नगर्ने भएकाले थोरै थोरै कच्चा पदार्थ भारतीय व्यवसायीबाटै आयात गर्छन्। भारत विश्वकै चौथो धेरै औषधि उत्पादन गर्ने राष्ट्र हो। यसैले उसले चिनियाँ बजारबाट ठूलो परिमाणमा औषधिको कच्चा पदार्थ आयात गर्ने गर्छ। कोभिड १९ संक्रमण बढेसँगै यसको रोकथाममा प्रयोग हुने पारासिटामोलको माग विश्व बजारमै बढ्दै गइरहेको छ। यसले गर्दा यसको कच्चा पदार्थको मूल्य पनि वृद्धि हुँदै गएको छ। प्रतिकेजी कच्चा पदार्थबाट २ हजार वटासम्म ट्याबलेट बन्छ।

यसको बजार मूल्य २ हजार हुन आउँछ। यस्तै यसमा डिलर कमिसन समेत छुट्याउनुपर्ने हुन्छ। मुख्य कच्चा पदार्थबाहेक सिटामोल उत्पादन गर्दा ५ प्रकारका अन्य वस्तुहरु पनि मिसाउनु पर्छ। जसमा विद्युत चार्ज, श्रमिक खर्च मिसनरी खर्च छुट्याउँदा प्रतिट्याबलेट खर्च नै १ रुपैयाँ ५० पैसासम्म पर्न जान्छ। यसकारण निजी क्षेत्रका कम्पनीहरुले सिटामोल उत्पादनमा ध्यान दिएका छैनन।

स्रोतका अनुसार अहिले निजी क्षेत्रका व्यवसायीहरुले उद्योगका लागि सिटामोलको लाइसेन्स जोगाउनका लागि मात्रै काम गरिरहेका छन्। घाटा खाएर काम गर्न नसक्ने भन्दै नेपाल औषधि उत्पादक संघले सिटामोलको मूल्य बढाउन लबिङ गरेको थियो। संघले तत्कालिन उद्योग वाणज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट समक्ष प्रस्ताव लगेको थियो। तर भट्टले चासो दिएनन्।

हाल बजारमा सिटामोलको अभाव देखिनुको कारण व्यक्तिले घरमा औषधि स्टोर गरेर राख्नाले भएको संघका महासचिव विप्लव अधिकारीले बताए। उनका अनुसार सिटामोल ग्राहकहरुले अनावश्यक होल्ड गर्दा बजारमा समस्या भएको हो। उनले भने 'अहिले वार्षिक १ परिवारले २० देखि ३० ट्याबलेट पारासिटामोल प्रयोग गर्ने गरेका छन्, तर अभाव हुने डरले औषधि मौज्दात गरेर राख्दा बजारमा अभाव देखिएको छ।'

निजी उद्योगहरुले घाटामै सिटामोल बिक्री गरिरहेको महासचिव अधिकारीको भनाइ छ।

भारततर्फ तस्करी भएको शंका

नेपालमा भन्दा भारतमा सिटामोल महँगो भएपछि भारतर्फ सिटामोल गएको हुनसक्ने व्यवसायीहरुले बताएका छन्। अहिले भारतीय बजारमा प्रतिट्याबलेट १ रुपैयाँ ७० पैसादेखि २ रुपैयाँ ५० पैसासम्म पर्छ।

७० प्रतिशतसम्म नाफा भएपछि खुला सिमाना कारण सिटामोल भारतर्फ गएको हुन सक्ने आकलन गरिएको छ। भारतीय बजारमा नै महंगो भएका कारण नेपालमा आयात हुने कुनै सम्भावना देखिदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell