PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पूर्व सभासद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसँगै समातिने १२ जना को को हुन्?



सविन ढकाल

पूर्व सभासद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसँगै समातिने १२ जना को को हुन्?

काठमाडौं : बैङ्किङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेपछि पूर्व सभासद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ यतिखेर हिरासतमा छन्। हिजो प्रहरीले पक्राउ गरेर उनीमाथि अनुसन्धान गरिरहेको छ। 

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सोमवार उनीसहित ठगी आरोपमा १२ जना पक्राउ गरेको हो। तामाङ संचालक रहेको सिभिल सहकारीबाट करौडौं रुपैयाँ ठगी भएको र त्यसमा उनको प्रत्यक्ष संलग्नताको आरोप छ।

तामाङ, सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठसहित सिभिल १२ जना कर्मचारीलाई प्रहरीले सोमवार साँझ पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा सहकारीका कर्मचारी समेत रहेका छन्। प्रहरीले विजयविक्रम साह, एलिना तुलाधर, बुद्धराज तामाङ, कैस्तुभ चेतन ढुङ्गाना, भगवानबहादुर सिंह, संगित श्रेष्ठ, शंकरप्रसाद पाठक, मायानानी महर्जन, राकेश महर्जन र हरिहर प्रसाद लामिछानेलाई नियन्त्रणमा लिएको हो।

राकेश महर्जन इच्छाराज तामाङका विश्वासपात्रका रुपमा चिनिन्छन्। सबैखाले गतिविधिमा उनी तामाङसँगै रहने गरेको प्रहरीको दावी छ। शंकरप्रसाद पाण्डेले सुन्धारा स्थित बागदरबारमा रहेर निक्षेपकर्तासँग 'डिल' गर्थे। 

केही समयअघि निक्षेपकर्ताहरुले आफू ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। सोमवारसम्म ७५ जनाभन्दा धेरैले आफू सिभिल सहकारीबाट ठगिएको उजुरी दिएको केन्द्रीय अनुसन्धान ब्युरोका सीआइबीका डीआइजी धीरजप्रताप सिंहले जानकारी दिए। मंगलवार बिहानैदेखि उजुरी दिनेहरु लगातार थपिइरहेका छन्। यो समाचार तयार पार्दासम्म थप ६० जनाले उजुरी दिएका छन्, आफू ठगिएको भन्दै।

सिभिल सहकारीमा हाल ३ हजार बढी निक्षेपकर्ता रहेकोमा अहिले २२ सय बढी निक्षेपकर्ता सक्रिय रहेको देखिएको छ। १ लाखदेखि १ करोड माथिसम्म निक्षेप राख्दा ठगिनपरेको भन्दै प्रहरीकहाँ लामो समयदेखि उजुरी पर्दै आएको हो। नेकपा एमालेले समानुपातिक कोटामा उनलाई संविधानसभा सदस्य बनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell