काठमाडौं : यसपालिको प्रदर्शनीमा पहिलेभन्दा के फरक छ? ललितपुरको चाकुपाटस्थित 'एमक्युब' ग्यालरीमा कलाकार संगी श्रेष्ठसँग यस्तो प्रश्न सोध्द उनको उत्तर थियो - भावना, संवेग।
ग्यालरीमा चलिरहेको कलाकार संगी श्रेष्ठको कला प्रदर्शनीको शीर्षक त्यसैले पनि 'संवेग' रहेको छ।
हुन त कलाकारले कला सिर्जना गर्दा आफूलाई स्वेच्छाले नै लकडाउनमा राख्ने गर्दछ। तर अहिले परिस्थिति अलग छ। कोरोनाको त्रासका कारण बाध्य भएर घरमा थुनिनु पर्दाको लकडाउन स्वेच्छिक लकडाउनभन्दा फरक हुने नै भयो, र मनमा उठ्ने संवेगहरु फरक हुने नै भए। तिनमा उनले तत्कालिन समयको मनोभाव पोखेकी छन्। त्यसैले प्रदर्शनीमा उनका कला पहिलेको ढर्राभन्दा फरक छन्। आयत, वर्गलगायतका ज्यामितीय आकारका प्रयाग ज्यादा रुचाउने उनले यिनमा भावनाहरुलाई परम्परागत चित्रका प्याटर्नको भरपुर प्रयोगबाट व्यक्त गरेकी छिन्।
यान्त्रिक हुनथालेको जीवनमा मानवीय संवेदनाहरु पनि कृत्रिम हुँदै गइरहेका छन्। कृत्रिमताभित्र सजिवता खोज्न त मुश्किल नै हुन्छ। कोरोनाको महामारीले घरभित्र थुनिनु पर्दा मानिसहरु पनि ती कृत्रिमताबाट बाहिर निस्कन पनि सहयोग पुगे। ती समयमा मानिसहरुले आफूलाई पनि राम्ररी चिने। आफू उभिएको धरातल पनि राम्ररी देखे। पलपल त्रासलाई अंगाली अनेक आशाहरु संगाल्न थाले। ती आशारुपी अनेक मानवीय संवेगहरुलाई नै कलाकार श्रेष्ठले आफ्नो क्यानभासमा पोखेका छन्।
निराशाको कालो रंग र त्यसको विपरित उज्यालो चहकिलो रंगको समायोजन गरिएको एउटा चित्र छ, एउटा आँखा बन्द छ, अर्को आँखा उज्यालोतिर उघारिएको छ। बुझ्न गाह्रो छैन, हामीले सोच सँधै सकारात्मक राख्नुपर्छ। केही चित्रमा श्री गणेशका आकर्षक आकृतिको साथै मण्डला मन्त्र समेत छन्। तिनमा पनि रंगको छनोट र प्रयोग विधि उम्दा छन्। यस्तै अरु थुप्रै चित्र हेर्दा अवश्य पनि आशा र भरोसाका संवेगहरु मनमा आउनेछन्।
चित्रहरु प्राय एक्रेलिक रंगमा र मिक्स्ड मिडियामा रचिएका छन्। प्रदर्शनीमा रहेका ३८ चित्रले अहिलेका विषम परिस्थितिमा मानवीय मनस्थिति, त्रास, प्रार्थना र आशा, भरोसाका आधारहरु तथा सकारात्मकता आदिको सन्देश बोल्दछन्।
संगीको कला प्रदर्शनी असोज २२ सम्म जारी रहनेछ।