PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

गोंगबु बसपार्क बन्यो विमानस्थलको टर्मिनलजस्तै चिटिक्क, टिकट काउन्टर पनि व्यवस्थित

गोंगबु बसपार्क बन्यो विमानस्थलको टर्मिनलजस्तै चिटिक्क, टिकट काउन्टर पनि व्यवस्थित

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : दशैं नजिकिएसँग नयाँ गोगंबुस्थित नयाँ बसपार्कको रुप फेरिएको छ। अहिले नामजस्तै चिटिक्क नयाँ पारिएको छ बसपार्क।

टिकट काउन्टरहरु व्यबस्थित पारिएका छन्। जहाँ डिजिटल तरिकाबाट अफलाइन टिकट काट्न पाइन्छ। काउन्टरमा राखिएको डिस्प्ले बोर्डमा बसका खाली रहेका सीटको जानकारी र भाडादर देखाउँछ। सेवाग्राहीले त्यहि हेरेर टिकट लिन सक्छन्। भाडादर नै प्रिन्ट भएर आउछ। यहाँ ३३ वटा डिजिटल टिकट काउन्टर राखिएको बताइएको छ।

लामो दुरीको अग्रिम बुकिङका लागि पाँच काउन्टर थपिएको छ। बसपार्क व्यवस्थापन गरिरहेको कम्पनी ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन व्यवस्थापक पंकज मल्ल भन्छन् 'बसपार्क अब अत्याधुनिक बनेको छ। बस र टिकट सजिलै पाइन्छ।'

काउन्टर व्यबस्थित बनाउनमात्र एक करोड खर्चेको मल्लले दाबी गरे। 'काउण्टरको सिस्टम विकासका लागि मात्रै एक करोड रुपैयाँ खर्चेका छौं,' मल्लले भने, 'लकडाउनको समयमा हामीले योजना बनाएका हौं। त्रिभुवन विमानस्थलमा राखिएका आन्तरिकतर्फको काउन्टर जत्तिकै तहको हाम्रा काउन्टर छन्।'

सफा र फराकिलो स्पेस भएका खाजाघर बनाइएको छ। हाइजेनिक र सुलभ मूल्यमा खाना तथा खाजा उपलब्ध गराउने उद्देश्यले बनाइएको मल्लले सुनाए। यहाँ ग्राहकले खाजा अर्डर गर्दा नै भुक्तानी गर्नुपर्छ। बसपार्कका विभिन्न ठाउँमा सीसीटीभी क्यामेरा राखिएको छ।

बसपार्कभित्रै पेट्रोलपम्प र सपिङ कम्प्लेक्स ल्होत्से मल संचालनमा छ। बाहिरबाट आएका सवारी साधन धुने तथा सर्भिसिङ सेवाभित्रै उपलब्ध छ। दसैंका लागि प्रहरीको सहयोगमा यात्रु सहायताका कक्ष राखिएको छ। यात्रुहरुलाइ जनचेतना जगाउने बोर्डहरु राखिएको तथा नियमित रूपमा माइकिङ गरिरहेको उनले बताए।

काठमाडौं महानगरपालिकासँग २०५६ मा सार्वजनिक-निजी साझेदारीमा बसपार्क संचालनमा छ। बसपार्कमा ल्होत्सेका ३५ र अन्य विभिन्न कम्पनीबाट हायर गरिएका गरि १ सय २५ जनाभन्दा बढीले रोजगारी पाइरहेका छन्। विभिन्न खालका प्रविधिहरु ल्याएर नमुना बसपार्क बनाउन लागिएको मल्लले दाबी गरे।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पनि बसपार्क प्रविधिमैत्रीरूपमा विकास गरिएको बताए। 'अहिले बसपार्क पुग्दा सिंगापुरको जस्तो देखिन्छ। पहिले अस्तव्यस्त हुने बसपार्कमा प्रविधिले व्यवस्थित बनाएको छ,' उनले भने,' हामीले पनि डेढ करोड रुपैयाँसम्मका बस चलाएका छौं।'

बसपार्क व्यवस्थित भए पनि बिभिन्न जिल्लामा सडकको दुरवस्थाका कारण भने यात्राको सास्ती हट्न नसकेको उनको भनाइ छ। 'यहाँ जे जस्तो भए पनि के गर्नु,  सडक नै खराब छ। दिउँसै आइपुग्नुपर्ने गाडी मध्यरातको १ बजे आइपुग्छ,' उनले सडकका कारण ठूलो सास्ती व्यहोर्नु परेको गुनासो गरे।



ट्रेन्डिङ पोस्ट

Ncell