काठमाडौं : ठमेलस्थित म्युजियम अफ नेपाली आर्ट (मोना) मा असोज २१ गते वार्षिक कला महोत्सव आयोजना हुँदैछ। कोरोना भाइरसको संक्रमणले लामो समय कला क्षेत्र र त्यससँग जोडिएका व्यक्तिहरु प्रभावित भएको अवस्थामा यो महोत्सवले कला क्षेत्रलाई ब्युँताउन सहयोग पुग्ने आयोजकले जनाएको छ। त्यसैले पनि यो महोत्सवको थिम नै 'आर्ट फर होप' राखिएको छ।
काठमाडौं गेस्ट हाउसको ड्रिम गार्डेनमा आयोजना हुने महोत्सवमा ३३ नेपाली कलाकारहरुले ‘लाइभ पेन्टिङ’ गर्नेछन्। महोत्सवमा कला सामाग्री प्रदर्शनीका साथै बिक्री पनि हुनेछ। महोत्सवमा किरण मानन्धर, लोक चित्रकार, सुरेन्द्रमान सिंह श्रेष्ठ, इरिना ताम्राकार, सुशिला सिंहलगायतले प्रत्यक्ष चित्र बनाउने छन्।
महोत्सवबाट उठेको रकमको केही अंश कान्ति बाल अस्पतालको अङ्कोलोजी विभागमा क्यान्सरसँग जुधिरहेका बालबालिकाको उपचारका लागि सहयोगस्वरुप प्रदान गरिने मोनाका संस्थापक निर्देशक राजन शाक्यले बताए। यो प्रदर्शनीले नेपालका कन्टेम्पोरी र ट्रेडिस्नल आर्टिस्टहरुलाई एकै ठाउँमा भेला गरेर नेपाल कलाको प्रवर्द्धनमा सहयोग गर्ने अपेक्षा रहेको उनले बताए।
नेपाली कलाकारहरुको काम चिनाउने उद्देश्यले काठमाडौं आर्ट हाउसको समेत उद्घाटन हुँदैछ। मोनाले ठमेलको सातघुम्तीलाई ‘कलामार्ग’ बनाउने उद्देश्यसहित काठमाडौं आर्ट हाउस पनि सुरु हुने उनले बताए।
असोज २१ गते कोरिएका चित्रहरु असोज २४ गते प्रदर्शन गरिनेछ।
