PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कांग्रेस जिल्ला सभापति बन्न जसले छपाए थुप्रै टिसर्ट, प्रचारमै खर्चे अढाई लाख : तर पाएनन् उम्मेद्वारी दिन



पी बी खड्का

कांग्रेस जिल्ला सभापति बन्न जसले छपाए थुप्रै टिसर्ट, प्रचारमै खर्चे अढाई लाख : तर पाएनन् उम्मेद्वारी दिन

सुर्खेत : नेपाली कांग्रेसमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा विभाजित छन्। केन्द्रदेखि तल्लो तहसम्म यि दुई समूहमा नेता कार्यकर्ता विभाजित बनेका छन्।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा समेत मुख्य गरी यिनै दुई समूह प्रतिष्पर्धामा देखिएका छन्। कालीकोटमा समेत महाधिवेशनबाट जिल्लाको नेतृत्व हत्याउन पौडेल पक्षका अम्मबहादुर शाही र नेता देउवा पक्षका मोतीराज बम सक्रिय बने।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अम्मबहादुर शाही सर्वसम्मत सभापति बने। निर्वाचन नभएर नेतृत्व चयन गरेको घोषणा गरेको कालीकोटको देशभरी चर्चा भइरहेको छ। 

मिडियामा आएजस्तो र बजार हल्ला जस्तै सभापतिमा सहमति भएको हो त?

‘मलाई सभापति हुन नदिने गरी सहमति गरियो, निर्वाचन नै भए मैले सहजै सभापति जित्थें, मेरो पक्षमा माहोल राम्रो थियो,’ सभापति पदका उम्मेदवार बमले भने, ‘सहमतिका नाममा मलाई बन्धक बनाइयो।’

सहमतिको नाममा असहमतिको बिजारोपण भन्दै सामाजिक सञ्जालमा पनि उनले असन्तुष्ट पोखेका छन्।

देउवा पक्षको कालीबहादुर सहकारीबाहेक आफुहरुले यो निर्णय नमान्ने उनको भनाई छ।

यसरी चुके बम

दुवै समूहबाट निर्वाचन नगरेरै नेतृत्व छान्ने कसरत अनुसार देउवा पक्ष र पौडेल पक्षवीच छलफल भयो।

सहमतिका लागि निवर्तमान सभापति हर्ष बम, देउवा पक्षबाट कालीबहादुर सहकारी र पौडेल पक्षबाट भुपेन्द्रजंग शाहीवीच सभापति लिनेले १० जना केन्द्रीय प्रतिनिधि र सभापति नलिनेले १६ जना प्रतिनिधि लिने सहमति गरे।

उक्त सहमति अनुसार देउवा पक्षका कालीबहादुरले १६ जना प्रतिनिधि लिने र पौडेल पक्षका भुपेन्द्रजंग शाहीले सभापतिसहित १० जना प्रतिनिधि लिने छिनोफानो भयो।

‘हाम्रो (देउवा) पक्षको बहुमत हुदाँ हुदैँ पनि उसले (कालीबहादुर) अर्को (पौडेल) पक्षलाई सभापति दिने गरी सहमति गरेछ, निर्वाचन भएपनि मैले जित्ने सुनिश्चित थियो,’ बमको दाबी रह्यो।

देउवा पक्षबाटै आफूलाई सहमतिको नाममा बन्धक बनाएको सभापति पदका उम्मेदवार बम बताउँछन्। सहमति गर्ने पौडेल पक्षका भुपेन्द्रजंग र आफ्नो टिम (देउवा पक्ष) कै कालीबहादुरले आफुलाई सभापति हुन नदिने खेल खेलेको उनको आरोप छ।

कालीकोटमा अहिले १४ सय सदस्य रहेकोमध्ये आफ्नो पक्षमा आठ सय बढी रहेको दाबी छ। तर, पनि कालीबहादुरले पार्टी सभापति देउवाले ‘प्रतिनिधि धेरै ल्याएर सभापति अर्को पक्षलाई दिनुस् भनेर फोन गर्नुभयो मलाई, त्यसो भएर मैले सभापति उता दिए’ कालीबहादुरलाई उद्धृत गर्दै बमले भने, ‘यदि, त्यसो हो भने, शेरबहादुर देउवालाई भन्छु, सभापति रामचन्द्र पौडेललाई बुझाइदिनुस् ७० प्रतिशत केन्द्रीय सदस्य ल्याउनुस्।’

त्यस्तै, बम अहिले पनि विमलेन्द्र निधीको नेतृत्वमा रहेको केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षक प्रतिष्ठानको सदस्य हुन्। जसले गर्दा पनि निधि गुटको भन्ने आशंकाले उनले घाटा बेहार्नु परेको हो।

केन्द्रीय सभापतिमा भोट कसलाई?

सभापति पदका उम्मेदवार बमले समानान्तर समिति नबनाउने भन्दै अब भोट देउवालाई दिने की नदिने भन्ने विषय रहेको बताए।

‘हुम्लाको जस्तो समानान्तर समिति गठन हुदैँन, अब भोट कसलाई दिने भन्ने मात्रै हो’ उनले भने, ‘अब मेरो टिमले देउवालाई भोट दिन्न।’

प्रचारप्रसारमा साढे दुई लाख खर्च

बमले सभापतिमा उठ्ने गरी महाधिवेशन आउनुअघिदेखि नै तयारी गरिरहेका थिए। उनले उम्मेदवारीका लागि अहिलेसम्म दुई लाख ५५ हजार रुपैयाँ खर्चिएको बताए। त्यस्तै, उनले प्रचारका लागि टिसर्टसमेत छपाएका थिए। जुन अहिले सामाजिक सञ्जालमा टिप्पणीको विषयसमेत बनेको छ।

जित्ने माहोल बनेपछि आफूले १६५ पिस टिसर्ट छपाएको र त्यही अनुसार खर्चसमेत गरेको बमले बताए।

‘सभापति लड्ने भनेर आवतजावत, खानपिन र प्रचार प्रसारका लागि दुई लाख ५५ हजार रुपैयाँ खर्च भयो’ उनले भने, ‘१६५ पिस टिर्सट छापियो, माहोल जित्ने गरी बनाएको थिए।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell