PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

दिल्लीबाट ११ वर्षीया बालिकाको उद्धार, वीरगंजमा ल्याएर परिवारको जिम्मा लगाइयो



राधेश्याम पटेल

दिल्लीबाट ११ वर्षीया बालिकाको उद्धार, वीरगंजमा ल्याएर परिवारको जिम्मा लगाइयो

वीरगंज : वीरगंजकी ११ वर्षीया एक बालिकालाई भारतको राजधानी नयाँ दिल्लीबाट उद्धार गरिएको छ। वीरगंज-१५ लक्षमानवास्थित घरबाट गत ११ जुलाईमा बिहान ७ बजेदेखि उनी बेपत्ता भएकी थिइन्।

करिब ३ महिनापछि उनलाई फेला पार्न र परिवारमा फिर्ता ल्याउन ‘केआई नेपाल आफन्त नेपाल’ संस्थाले मद्दत गरेको हो। उद्धार गर्ने संस्थाका भारत प्रमुख नविन जोशीको प्रयासमा भारतको विभिन्न सरोकारवाला निकायसँग समन्वय गरी बुधवार बालिकालाई वीरगंजमा परिवारको जिम्मा लगाइएको छ।

वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासमा भएको कार्यक्रममा सरोकारवालाहरुका बीच बालिकालाई परिवारको जिम्मा लगाइएको थियो। गरिबीको कारण ती बालिका अर्कैको घरमा काम गरिरहेको अवस्थाबाट बेपत्ता भएकी थिइन्।

घरबाट हिँड्दा उनीसँग ५ सय रुपैयाँ मात्र थियो। लक्षमानवाबाट ३० रुपैयाँ भाडा दिएर रक्सौल मितेरी पुलसम्म र बिना टिकेट रक्सौल रेल्वे स्टेशनबाट रेलमा दिल्ली रेल्वे स्टेशनमा पुगेकी थिइन्। रेलको लामो यात्रापछि उनी रेल्वे स्टेशनमा अलपत्र पर्दा भारतीय प्रहरीलाई भेटेपछि सामाजिक संस्थाको सेल्टर हाउसमा राखिएको थियो।

‘केआई नेपाल आफन्त नेपाल’ संस्था विगत १२ वर्षदेखि मानव तथा चेलीबेटी बेचबिखन विरुद्धको अभियानमा काम गर्दै आएको संस्था हो। पत्रकार सम्मेलनमा बालिकाका बुवाले परिवारले कुनै किसिमको मानसिक यातना वा घर छोडेर भाग्ने अवस्था सिर्जना नगर्दा पनि छोरी दिल्ली पुगेको घटनाप्रति पर्सा प्रहरीलाई अनुसन्धान गर्न सुझाव दिए।

वडा नम्बर १५ का वडाध्यक्ष गजेन्द्र प्रसाद कुर्मीले कसैको प्रलोभनमा परी बालिका दिल्ली पुगेको हुन सक्ने भएकोले वास्तविक छानबिन गर्न अपिल गरे। बालिका करिब तीन महिनापछि घर फर्किएकोले धेरै कुरा बिर्सेको र धेरै बोल्न मानेकी थिइनन्।

वार्षिक २ सय बालबालिकाको उद्धार गर्दै केआई नेपाल

पछिल्लो समय नेपालबाट भारतमा हुने मानव तथा बालबालिकाको तस्करी निकै बढेको बताइएको छ। केआई नेपाल भारतका प्रमुख नविन जोशीका अनुसार कोभिडपछि बाल श्रमिक र यौन पेशाका लागि वार्षिक सयौँ बालबालिका तथा मानिसहरुको तस्करी भइरहेको छ।

वार्षिक डेढ सयदेखि २ सय हाराहारीमा उक्त संस्थाले मात्रै नेपाली बालबालिका तथा युवालाई उद्धार गरी फिर्ता ल्याउने गरेको छ। १५ वर्ष मुनिकालाई बाल श्रमिकको रुपमा होटल, कारखाना तथा घरमा काम गराइन्छ भने १५ वर्ष कटेका बालिकालाई यौन व्यवसायमा देशको विभिन्न शहरमा पुर्‍याउने गरिन्छ। यस्तो काममा नेपालदेखि भारतसम्म ठूला गिरोह नै काम गरिरहेको जोशीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell