PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

भानुभक्त जोशीले छाडे एमाले, भीम रावललाई अर्को झड्का



पहिलोपोस्ट

भानुभक्त जोशीले छाडे एमाले, भीम रावललाई अर्को झड्का

धनगढी : नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुदुरपश्चिमका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजावादीमा प्रवेश गरेका छन्। 

एमाले विभाजनका बेला निर्वाचन आयोगले जनप्रतिनिधिलाई दल रोज्न दिएको समयभित्र एमालेमै रहेका जोशी अब भने एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। 

नेकपा एमाले भित्रको संघर्षका बेला तत्कालीन बरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा रहेका नेता जोशीले एमाले विभाजनका बेला पनि एकीकृत समाजवादी रोज्ने बताएका थिए। तर एमाले उपाध्यक्ष भीम रावलको लगातारको दबाबपछि उनी एमालेमै रहेका थिए।

माओवादी केन्द्र र एमाले मिलेर बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा जोशी सुदुरपश्चिमको सहइञ्चार्जको भूमिकामा थिए। एमालेमा भएको १० बुँदे सहमतिलाई अक्षरस पालना गराउनुपर्ने अडानमा रहेका उनी अध्यक्ष केपी शर्मा ओलीले सहमति कार्यान्वयन गर्न आलटाल गर्न थालेपछि एमालेबाट बाहिरिने निचोडमा पुगेका हुन्।

आज काठमाडौंको थापागाउँमा भएको एक कार्यक्रमका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जोशीलाई पार्टीमा स्वागत गरे। जोशीको एकीकृत समाजवादी प्रवेशसँगै भीम रावललाई अर्को झड्का लागेको छ।

१० बुँदे सहमति अनुसार सुदुरपश्चिमा पार्टी इञ्चार्जको जिम्मेवारी नपाएका रावलले आफ्नो क्षेत्रमा लगातार शक्ति गुमाइरहेका छन्। गृहजिल्ला अछामका तत्कालीन एमालेका अध्यक्ष शेरबहादुर कुवुरले पनि नेकपा एकीकृत समाजवादी रोजेका थिए। राम्रो जनाधार रहेको मानिएका कुवरले एमाले छोडेपछि रावलले गृहजिल्लामा आफ्नो शक्ति गुमाएका थिए। अहिले फेरी सुदुरपश्चिममा राम्रो पकड रहेका नेता जोशीले पनि एमाले छोडने निर्णयमा पुगेपछि रावललाई अर्को झड्का लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell