PahiloPost

May 15, 2024 | २ जेठ २०८१

नेपाली अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने विश्व बैंकको प्रक्षेपण : खोप, पर्यटन र रेमिट्यान्सले सुधार



पहिलोपोस्ट

नेपाली अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने विश्व बैंकको प्रक्षेपण : खोप, पर्यटन र रेमिट्यान्सले सुधार
Photo : newscentral/africa

काठमाडौं : चालु वर्षमा नेपाली अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले हालै प्रकाशित गरेको 'साउथ एशिया इकोनोमिक फोकस' प्रतिवेदनले २०२१ जुलाईदेखि २०२२ जुलाई सम्मको अवधिमा नेपालले स्थिर बजार मूल्यमा आधारित (वास्तविक कुल गार्हस्थ उत्पादन) आर्थिक वृद्धि यो दरमा हासिल गर्ने जनाएको हो।

विश्‍व बैंक आफैंले यसअघि गरेको प्रक्षेपणभन्‍दा यो आर्थिक वृद्धिको अनुमानित दर धेरै हो। यसअघि बैंकले चालु वर्षमा नेपालको अर्थतन्त्रमा अघिल्लो सालको आधार विन्दुबाट सुधार नहुने जनाउँदै शून्य प्रतिशत वृद्धिमा रहने जनाएको थियो।

कोभिड १९ विरुद्धको खोपकरण, पर्यटन गतिविधि र वैदेशिक रोजगारीमा जाने श्रमिकको प्रवाहमा सुधार आएकाले आर्थिक वृद्धिको सम्भावना क्रमशः राम्रो देखिँदै गएको बैंकले जारी विज्ञप्तिमा उल्लेख गरेको छ। अघिल्लो वर्ष बैंकले १.८ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने अनुमान गरेको थियो।

चालु वर्षका लागि आफैंले गरेको अनुमानमा विश्व बैंकले संशोधन गरेको भए पनि यसको प्रक्षेपित वृद्धि दर नेपाल सरकारले राखेको लक्ष्यभन्दा ३.१ प्रतिशतले कम हो। चालु आर्थिक वर्षको बजेटबाट सरकारले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ।

अर्को वर्ष सन् २०२१/२२ मा भने नेपालको अर्थतन्त्र ४.७ प्रतिशतले विस्तार हुने पनि विश्व बैंकले  अनुमान गरेको छ।

महामारीबिच माल्दिभ्सको आर्थिक वृद्धि २२.३ प्रतिशत

दक्षिण एशियाली देशहरुमा माल्दिभ्सको अर्थतन्त्रको विस्तार यो वर्ष सबैभन्‍दा उच्च दरमा हुने पनि बैंकको प्रक्षेपण छ। कोभिड १९ कै बिच माल्दिभ्सले २२.३ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्ने अनुमान बैंकको छ। अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी योगदान सेवा क्षेत्रको रहेको माल्दिभ्सले यसै वर्ष पर्यटकको आगमन कोभिड १९ अघिको अवस्थामा पुगिसकेको छ।

समग्र दक्षिण एशियाको आर्थिक वृद्धि सन् २०२१ मा ७.१ प्रतिशत हुने 'सिफ्टिङ गियर्सः डिजिटाइजेशन एन्ड सर्भिसेस-लेड डेभलपमेन्ट' शिर्षकमा प्रकाशित गरेको यस 'साउथ एशिया इकोनोमिक फोकश' प्रतिवेदनको निष्कर्ष छ।

प्रतिवेदनअनुसार उच्च आर्थिक वृद्धि गर्नेमा माल्दिभ्सपछि क्रमशः भारत (८.३%), बंगलादेश (६.४%), नेपाल (३.९%), भुटान (३.६%), पाकिस्तान (३.४%) र श्रीलंका (३.३%) रहेका छन्।

यस्तै, सन् २०२२ मा हुने आर्थिक वृद्धिको प्रक्षेपित दरमा अगाडि क्रमशः माल्दिभ्स (११%) भारत (७.५%), बंगलादेश (६.९%), नेपाल (४.७%), भुटान (४.३%), पाकिस्तान (४%) र श्रीलंका (२.१%) रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell