PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ठमेलको 'मोना'मा जब एकसाथ ३३ कलाकारले रंग्याए क्यान्भास

ठमेलको 'मोना'मा जब एकसाथ ३३ कलाकारले रंग्याए क्यान्भास

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : ठमेलस्थित काठमाडौं गेस्ट हाउसको ड्रिम गार्डेनमा आज ३३ नेपाली कलाकार एकसाथ भेला भए। उद्देश्य थियो – चित्र कोर्नु।

म्युजियम अफ नेपाली आर्ट (मोना) ले आयोजन गरेको थियो 'लाइभ पेन्टिङ' गर्ने कार्यक्रम। अभिनेता राजेश हमालले चित्र कोर्दै कार्यक्रमको उद्घाटन गरे। अनि सुरु भयो 'आर्ट फर होप' थिम दिइएको कला महोत्सव।

कोरोना भाइरसको संक्रमणले लामो समय कला क्षेत्र र त्यससँग जोडिएका व्यक्तिहरु प्रभावित भएको अवस्थामा कला क्षेत्रलाई ब्युँताउन सहयोग पुग्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको थियो।

‘लाइभ पेन्टिङ’ गर्दै कसैले हिमालको दृश्य कोरे त कसैले कुमारीको। कोही एब्सट्रयाक्ट पेन्टिङ गरिरहेका थिए त कोही परम्परागत चित्रकलालाई क्यान्भासमा उतार्दै थिए।

महोत्सवमा किरण मानन्धर, लोक चित्रकार, सुरेन्द्रमान सिंह श्रेष्ठ, इरिना ताम्राकार, सुशिला सिंहलगायतले प्रत्यक्ष चित्र बनाए।

कलाकारहरुले चित्र बनाउँदै गर्दा गार्डेनमा युवायुवतीहरु माटोको भाडो बनाउँदै थिए। प्रदर्शनीमा आएकाहरुका लागि चित्रकलासँग सम्बन्धित सामाग्री विक्रीमा राखिएको थियो।

आजको महोत्सवबाट उठेको रकमको केही अंश कान्ति बाल अस्पतालको अङ्कोलोजी विभागमा क्यान्सरसँग जुधिरहेका बालबालिकाको उपचारका लागि सहयोगस्वरुप प्रदान गरिनेछ। यो प्रदर्शनीले नेपालका कन्टेम्पोरी र ट्रेडिस्नल आर्टिस्टहरुलाई एकै ठाउँमा भेला गरेर नेपाल कलाको प्रवर्द्धनमा सहयोग गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ।

आज कोरिएका चित्रहरु असोज २४ गते मोनामा प्रदर्शन गरिनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell