PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आजदेखि खुले देशैभरिका सिनेमा हल : उपत्यकाका हलमा कतै मध्यम दर्शक, कतै ‘शो क्यान्सिल’



लक्ष्मी बलायर

आजदेखि खुले देशैभरिका सिनेमा हल : उपत्यकाका हलमा कतै मध्यम दर्शक, कतै ‘शो क्यान्सिल’

काठमाडौं : घटस्थापनाको दिनदेखि देशैभरिका सिनेमा हलहरू खुलिसकेका छन्। कोरोनाको दोस्रो लहरको निषेधाज्ञापछि बन्द भएका सिनेमा हल पुन: खुलेका हुन्। हल खुलेको पहिलो दिन हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस ९’ र ‘नोबडी’ रिलिज भएका छन्।

चावहिलमा रहेको एफ क्युब सिनेमामा पहिलो दिनमै फिल्मका पाँच ओटा शोहरु प्रदर्शन भए। हल खोलेको पहिलो दिन नै सोचेको भन्दा राम्रै दर्शक आएको एफ क्युब सिनेमाका व्यवस्थापक रामहरि कोइरालाले बताए।

‘खासै फिल्म चल्छ जस्तो लागेको थिएन। तर, एउटा शो मा ३० देखि ४० जना दर्शक आउनुभएको छ। जुन राम्रै हो। बिस्तारै दर्शक आएमा शो बढाउँदै लैजाने छौँ। सबैभन्दा बढी 'फास्ट एण्ड फ्युरियस ९'मा दर्शक आइरहेका छन्। अर्को फिल्म 'नोबडी' पहिले नै रिलिज भइसकेको भएर कम दर्शक छन्,’ उनले बताए।

दर्शकको संख्या पहिलो लकडाउन ताकाको भन्दा बढी हो। यस अघिको लकडाउनपछि हल खोल्दा ५ देखि १० जना मात्रै आएको उनले सुनाए। आजबाट दशैँ शुरु भएकाले पनि दर्शक आएको हुन सक्ने उनले बताए।

क्युएफएक्सका सीईओ रोशन अडिगा पनि पहिलो दिनमै दर्शकहरुको उपस्थिति उत्साहजनक रहेको बताउँछन्।

‘सुरुवातको दिन नै हलहरुमा एउटा शोमा ४०/५० जना दर्शकहरु आएका छन्। जुन संख्या राम्रै हो। बन्द गरेर खोल्दा यत्तिको आउनु पनि राम्रै कुरा हो। अब अर्को नयाँ हलिउड फिल्म लाग्दैछ। अहिलेको अवस्था हेरेर दर्शकहरु राम्रै आउनुहुन्छ भन्ने आशा छ,’ उनले भने।

त्यसैगरी, कमलपोखरीस्थित बिग मुभिजमा पुग्दा आज तीन ओटा शो मात्रै भएको जानकारी पाइयो। हल खुलेको पहिलो दिन फिल्म ‘फास्ट एण्ड फ्युरियस ९’ हेर्न मात्रै दर्शक हलसम्म पुगेका छन्। त्यसैगरी फिल्म ‘नोबडी’ हेर्न दर्शक नआएर शो नै क्यान्सिल गरिएको छ।

एउटा शो मा १२ देखि १७ जना दर्शकहरु आएको बिग मुभिजले जानकारी दिएको छ। पहिलो लकडाउनपछि हल खुल्दाभन्दा यसपटक पहिलो दिन दर्शकहरु आएका छन्।

त्यसैगरी, क्युजमा भने जम्मा दुईवटा शो मात्रै सञ्चालनमा आए। जसमा एउटा शोमा दुई जना र अर्को शोमा तीन जना मात्रै दर्शकहरु छन्।

पहिलो दिन खासै दर्शक आउने आशा नै नरहेको क्युज सिनेमामा इन्चार्ज अभिषेक थपलियाले बताए। भन्छन्, ‘दशैँमा हल खुलेको छ है भनेर भन्न भए पनि फिल्म लगाएका हौँ। खासै अहिले आश नै छैन। बरु अर्को हप्ता जेम्स बोन्ड फिल्म 'नो टाइम टू डाइ'  प्रदर्शन हुनेछ। त्यसबाट केही आश गर्न सकिन्छ। तिहारमा अक्षयको 'सुर्यवंशी' रिलिज भएपछि भने दर्शक बढ्नेमा केही आशावादी हुन सकिन्छ।’

असोज २६ गतेदेखि नेपाली फिल्म ‘डाँडाको वर पीपल’ र २८ गते जेम्स बोन्ड फिल्म ‘नो टाइम टू डाइ’ प्रदर्शन हुँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell