PahiloPost

Dec 23, 2024 | ८ पुष २०८१

बहिरा विद्यार्थीलाई काम लागेन कोभिडकालको वैकल्पिक सिकाई, पढाईबाटै वञ्चित



पी बी खड्का

बहिरा विद्यार्थीलाई काम लागेन कोभिडकालको वैकल्पिक सिकाई, पढाईबाटै वञ्चित

सुर्खेत : कोरोना भाइरस महामारीले दुई वर्षको अवधिमा बोल्न र सुन्न नसक्ने बहिरा तथा सुस्त श्रवण शक्ति कम भएका बालबालिका समस्यामा परेका छन्। विशेष शिक्षा अन्तर्गत बालबालिकालाई अध्ययन अध्यापन सहज गराउने कुनै ठोस योजना र माध्यम नहुँदा उनीहरु समस्यामा परिरहेका छन्।

यस्तै, समस्या भोगिरहेका छन् वीरेन्द्रनगरस्थित सिद्ध बहिरा बाल विद्यालयका बालबालिकाले। कर्णाली प्रदेशसहित १५ जिल्लाका बालबालिका अध्ययनरत यस विद्यालयका विद्यार्थी कोरोना महामारीमा आ–आफ्नो घर पुगे। यसअवधिमा उनीहरुले सिकाईलाई निरन्तरता दिन पाएनन्। बोल्न र सुन्न सक्ने बालबालिकाहरुले वैकल्पिक माध्यमको अनलाइन कक्षा, रेडियो तथा टेलिभिजन जस्ता माध्यमबाट सिकाईलाई निरन्तरता दिए भने उनीहरु बञ्चित हुनुपर्‍यो। कारण थियो न उनीहरु सुन्न सक्छन्, न त बोल्न। जसले गर्दा उनीहरुको अध्ययन, अध्यापन ठप्प बन्न पुग्यो।

‘कोरोनाका बेला बोल्न र सुन्न सक्ने विद्यार्थीहरुले वैकल्पिक माध्यम अनलाइन, रेडियोजस्ता माध्यमबाट पढ्नु भयो’ शिक्षक विष्णुप्रसाद भट्टराई भन्छन्, ‘हाम्रा विद्यार्थी त न अनलाइन, न रेडियो कुनै पनि माध्यमबाट सिकाईलाई निरन्तरता दिन सकिएन।’

उनका अनुसार प्रत्यक्ष कक्षामै उपस्थित भएका बेलासमेत पठनपाठनमा समस्या हुने बालबालिकालाई यस्ता वैकल्पिक माध्यमबाट सम्भावना नभएको उनी बताउँछन्।

‘कक्षा कोठामै बुझाउन कति सकिदैँन,’ उनले भने, ‘सांकेतिक भाषा हुने हुदाँ सुनेरमात्रै हुदैँन, हामीले गरेको हरेक क्रियाकलाप सांकेतिक माध्यममा देखाउनुपर्छ।’

कोरोना महामारीपछि ठप्प बनेको पठनपाठन अब भौतिक रुपमा पठनपाठनको तयारी गरिएको छ भने, महामारीमा घर गएका बालबालिकासमेत आउन थालेका छन्।

यस विद्यालयमा एक सय २ जना विद्यार्थी अहिले अध्ययनरत छन्। अधिकांश बालबालिका हिमाली तथा ग्रामिण क्षेत्रका छन्।

विशेष शिक्षा अर्थात अपांगता भएका बालबालिका लागि सबै तहमा समावेशी, गुणस्तरीय शिक्षाका अवसरहरुमा समतामूलक पहुँच सुनिश्चित गर्ने सरकारी नीति छ।

तर, अहिले पनि कर्णालीमा रहेका सामान्य अवस्थाका बालबालिका सरह बोल्न र सुन्न नसक्ने बालबालिका निकै कमजोर छन्। कतिपय बालबालिका विद्यालयसम्म पुग्न सकेका छैनन् भने, पुगेका बालबालिकालाई शैक्षिक सामग्री लगायत अन्य स्रोत साधनको अभावले सिकाई स्तरसमेत दयनीय छ।

‘सुन्न र बोल्न सक्ने विद्यार्थी सरह विशेष शिक्षालाई लिने गरेको पाइन्छ,’ उनले भने, ‘सरकारी निकायबाटै शिक्षकको व्यवस्थापन, शैक्षिक सामग्री लगाएत सुन्न र बोल्न नसक्ने बालबालिकाका लागि विशेष व्यवस्था हुनुपर्थ्यो, त्यो छैन, कसरी सिकाईस्तर गुणस्तरिय हुन्छ?’

विशेष शिक्षामार्फत सञ्चालन भएका बहिरा तथा दृष्टिविहिन विद्यालयहरुमा भौतिक पूर्वाधार भवन, शौचालय, खानेपानीलगायत शिक्षक दरबन्दी र शैक्षिक सामग्री अभावले गुणस्तरीय शिक्षा प्रवाहमा समस्या भएको हो।

महामारीमा मात्रै होइन सामान्य अवस्थामै अपांगता भएका बालबालिकाहरुको हितका लागि सरकारी निकायसँग कुनै ठोस् योजना र कार्यक्रम नै छैन्।

‘प्रदेश सरकारले भौतिक संरचना निर्माणका लागि बजेट उपलब्ध गराउने गरेको छ,’ सामाजिक विकास मन्त्रालयकी अधिकृत अनिता केसी भन्छिन्, ‘अध्ययन, अध्यापनलाई सहज बनाउन छात्रवृत्रि, विद्यार्थीको अवस्था हेर केही शैक्षिक सामग्री पनि दिदैँ आएका छौँ।’

सरकारले छात्रवृत्ति र शैक्षिक सामग्रीका नाममा झारा टार्नेबाहेक अन्य कुनै काम नगरेको लक्षित समूहका विद्यार्थी र शिक्षकको गुनासो छ।

त्यसैले गुणस्तरीय शिक्षाका लागि देख्न र सुन्न सक्ने बालबालिका सरह मात्रै होइन, बोल्न र सुन्न नसक्ने बहिरा तथा सुस्त श्रवण शक्ति कम भएका बालबालिकालाई थप प्राथमिकतामा राख्नुपर्ने जानकारहरुको भनाई छ।

‘विशेष शिक्षा अन्र्तगतका बालबालिकाहरुलाई अन्य बालबालिका सरह बुझ्नु गलत छ’ पूर्व शिक्षक भोजप्रसाद शर्मा भन्छन्, ‘बालबालिकाको शिक्षाको गुणस्तर वृद्धिका लागि सुन्न र बोल्न सक्ने विद्यार्थीको तुलनामा बढी प्राथमिकतामा राखेर विशेष खालको योजना सहितका कार्यक्रम ल्याउनु आवश्यक छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell