PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

च्याङ्ग्रा लिएर पोखरा झरे व्यापारी, भाउ महँगिदा खस्कियो व्यापार



रिना थापा

च्याङ्ग्रा लिएर पोखरा झरे व्यापारी, भाउ महँगिदा खस्कियो व्यापार

पोखरा : दसैं नजिकिएसँगै हिमाली जिल्लाबाट वर्षेनि व्यापारी च्याङ्ग्रा लिएर पहाड झर्छन्। च्याङ्ग्राकै लागि कोही व्यापारी हप्तौँ लामो यात्रा तय गरी हिमाली जिल्ला पुग्छन्।

अप्ठ्यारो बाटो र दु:खजिलो यात्रा तय गरेर व्यापारी च्याङ्ग्रा ल्याइपुर्‍याउँछन्। गत शुक्रवार मात्र पहिरोले बन्द रहेको मुस्ताङको बाटो छिचोल्दै विकास मगरले आइतवार च्याङ्ग्रालाई पोखराको याम्दी ल्याईपुर्‍याए।

बाटो अवरुद्ध भएका कारण मुस्ताङदेखि उनको टोलीले बेनीसम्म पैदलयात्रा तय गरेको थियो। बेनीदेखि यता भने च्याङ्ग्रालाई ट्रकमा ल्याइएको हो।

दसैंको लागि च्याङ्ग्रा पोखरा झारेसँगै हेम्जा र याम्दी क्षेत्रमा व्यापारी र खरिदकर्ताको चहलपहल देखिएको छ। दु:खजिलो गरी च्याङ्ग्रा पोखरा ल्याएपनि बजार भने खस्किएको मगरको दुखेसो छ।

पछिल्लो वर्षभन्दा यो पालि च्याङ्ग्राको भाउ महँगिएका कारण खरिदकर्ता धेरै छैनन्। यसवर्ष च्याङ्ग्राको मूल्य मुस्ताङमा नै ४० हजार रुपैयाँसम्म पुगेको छ।

व्यापारीले पोखरा झार्दा मूल्य बढेर ४५ हजार रुपैयाँभन्दा माथि पुग्छ। यद्यपि, दसैंको दुई/तीन अगाडिसम्म व्यापार हुने उनको आशा छ।

‘बोर्डर खुलेको छैन, उताको व्यापारी भएनन् यतैको थोरै च्याङ्ग्रा हुँदा महँगो भयो, किन्ने मान्छे थोरै भए,’ उनले भने।

अघिल्लो वर्षपनि सोचे अनुसारको च्याङ्ग्रा व्यापारमा नाफा नकमाएको मगर बताउँछन्। यो वर्ष २ सय वटा च्याङ्ग्रा पोखरा झारेका मगरले मंगलवारसम्म जम्मा दुईवटा बेचेका थिए।

चाडपर्वमा नेपालीको मिठोमसिनो खाने बानीमा पछिल्लो समय दसैंमा मिलेसम्म च्याङ्ग्राको मासु खाने चलन बस्न थालेको छ। केही वर्षयता सकेसम्म दसैंमा केही छाक च्याङ्ग्राको मासु चाख्ने चलन बस्न थालेको हो।

च्याङ्ग्राको मासु स्वादिष्ट र स्वस्थकर मान्दै उपभोक्ताले दसैंमा च्याङ्ग्राको मासु चाख्न खोज्छन्। उपभोक्ताको मागलाई मध्यनजर गर्दै दसैंको समयमा तिब्बतका व्यापारीमार्फत माग धानिन्थ्यो। तर, गत वर्ष र यस वर्ष कोरोनाका कारण कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले नेपालमा च्याङ्ग्रा भित्र्याउन पाएका छैनन्।

यस वर्ष बजारमा स्थानीय च्याङ्ग्रा मात्र आएको छ। कम संख्यामा रहेको स्थानीय च्याङ्ग्राले बजारको माग धान्न गाह्रो छ। त्यसकारण पनि च्याङ्ग्राको भाउ बढेको व्यापारी बताउँछन्।

केही वर्षयता पोखरासहित अन्य क्षेत्रमा च्याङ्ग्राको माग बढेपछि मुस्ताङका बाहेक बाहिरी जिल्लाका व्यापारी समेत पोखरा आउने गरेका छन्। बझाङका व्यापारी जस्बिर बोहोराले हिजोमात्र १ सय २० च्याङ्ग्रा पोखरा ल्याएका छन्।

बुटवलदेखि चितवनको बाटो हुँदै ट्रकमा पोखरा ल्याइपुर्‍याएको च्याङ्ग्राको व्यापार भने यो वर्ष खस्किएको उनी बताउँछन्। मुस्ताङदेखि ल्याइएको च्याङ्ग्राको भाउभन्दा बझाङको भाउ सस्तो छ।

उनले ३५ देखि ३८ हजारसम्म च्याङ्ग्रा बेचिरहेका छन्। मंगलवारसम्म १२ वटा च्याङ्ग्रा बिक्री गरेको उनले सुनाए। तरपनि पछिल्लो वर्षभन्दा योवर्ष व्यापार कम भएको उनी सुनाउछन्।

‘गत वर्ष त ठीकठीकै थियो यो पाला के भयो त्यही नि जाला अल्लि दिनमा’, उनले भने, ‘उता नि महँगो छ क्यारे यता हामीले ३५ देखि ४० हजारसम्म दिएका छौँ।’

बजारमा माग अनुसारको च्याङ्ग्रा कम उत्पादन र व्यापारीले तिर्नुपर्ने करका कारण च्याङ्ग्रा महँगिएको व्यापारी बताउँछन्। हिमाली भेगबाट तल च्याङ्ग्रा झार्दा विभिन्न स्थानीय तहमा कर तिर्नुपर्ने व्यापारीको गुनासो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell