PahiloPost

May 15, 2024 | २ जेठ २०८१

माधव नेपालको पार्टी सत्ता यात्राको तयारीमा, केपी ओलीले गुमाउँदै थप शक्ति



प्रकाश भण्डारी

माधव नेपालको पार्टी सत्ता यात्राको तयारीमा, केपी ओलीले गुमाउँदै थप शक्ति

काठमाडौं : नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीका तर्फबाट मन्त्री छान्न सचिवालयको बैठक बोलाएको छ। पार्टी कार्यालय मीनभवनमा बैठक बस्न लागेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नथ खतिवडाले जानकारी दिए।

'समय निश्चित भइसकेको छैन। मन्त्रीहरु छान्न सचिवालयको बैठक पार्टी कार्यालयमा बस्छ। आज अरु विषयमा भन्दा पनि मन्त्री नै छान्ने हो,' उनले भने। एकीकृत समाजवादीलाई सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार ४ मन्त्री र एक राज्यमन्त्रीको भाग छ। स्वाथ्य, पर्यटन, श्रम र सहरी विकास मन्त्रालय एकीकृत समाजवादीले पाएको छ।

उक्त पार्टीका तर्फबाट विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, प्रेम आले, भवानी खापुङ र किसान श्रेष्ठ मन्त्रीका लागि चयन हुन लागेका हुन्। मन्त्रालयको संख्या थोरै र कम महत्वका दिएको भन्दै एकीकृत समाजावादीका अध्यक्ष माधव नेपालले गठबन्धनमा असन्तुष्टि जनाएपछि बिहीवारको गठबन्धनको बैठकले प्रदेश १ र वाग्मतीमा नेपालको पार्टीलाई मुख्यमन्त्री दिएर सहमति गरेको हो।

प्रदेश १ मा आजै देखि मुख्यमन्त्रीको प्रक्रिया अगाडी बढ्न लागेको खतिवडाले जानकारी दिए। 'सहमति भएकै छ। प्रदेश १ मा आजै देखि र वाग्मतीमा चाँडै प्रक्रिया सुरु हुन्छ,' उनले भने।

यस्तै गठबन्धनले आजै सरकार बिस्तार गर्ने तयारी गरेको छ। मन्त्रीहरुले आजै सपथ लिनलागेको खतिवडाले जानकारी दिए। नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी पहिलोपटक सत्तामा पुग्न लागेको हो। एकीकृत समाजवादीको सत्ता यात्रा सुरु हुदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने फेरि पनि शक्ति गुमाउने भएका छन्। प्रदेश नम्बर एक र वाग्मतीमा एमालेको आफू इतर समूहलाई मुख्यमन्त्री बनाएर सत्ता टिकाउन खोजेका ओलीको रणनीति एकीकृत समाजवादीले असफल बनाउन लागेको हो। योसँगै नेकपा एमालेले केन्द्र र सबै प्रदेशको सत्ताबाट हात धुनु परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell