काठमाडौं : नेकपा एमालेलाई विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी बनाएका तत्कालीन एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले चुनाव चिह्न कलम राख्ने भएका छन्। त्यसका लागि एकीकृत समाजवादीका अध्यक्ष नेपालले आज निर्वाचन आयोगलाई पत्र लेख्न लागेको कार्यालय सचिव गंगालाल तुलाधरले जानकारी दिए।
तर, वैधानिकताको पाटो बाँकी रहेको उनले बताए। नेपाल निकट नेता जीवन राईले एमाले विभाजन नहुनु अघि नै नेकपा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए। उक्त पार्टीको चुनाव चिह्न कलम रहेको छ। कलम चिह्नलाई आफ्नो पार्टीको चुनाव चिह्न बनाउनका लागि राईको पार्टी नेकपा एकीकृतसँग एकता भएको औपचारिक निर्णय आवश्यक भएकाले एकीकृत समाजवादी गृहकार्यमा जुटेको छ।
'कलम चिह्नका लागि सानो वैधानिक पाटो बाँकी हुन्छ। नेकपा एकीकृतसँग एकीकरण गरेको देखिनुपर्छ। कलम नेकपा एकीकृतको चिह्न हो,' तुलाधरले भने। राईलाई एकीकृत समाजवादीमा पदधिकारी चयन गरेर उक्त पार्टीसँग एकीकृत समाजवादी एकीकरण भएको थियो।
