काठमाडौं : नेकपा एमालेले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा पनि अवरोध कायमै राखेको छ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकको कार्यसूचि अघि बढाउनासाथ एमालेले वेल घेराउ गरेर नारावाजी गरेको थियो। सांसद प्रेम सुवालले बैठकमा आफ्नो धारणा राखे।
उनले मजदुर किसान पार्टीले राजावादीको वकालत नगरेको दाबी गरे। आफ्ना पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको भनाईलाई तोडमोड गरिएको बताए। उनले राजतन्त्रबारे टिप्पणी गर्दै भने, 'सानो उमेरमा लगाएको लुगा अहिले ठीक हुँदैन। राजाहरुले जनतासँग मिलेर युद्धहरु गरेका थिए। हाम्रा अध्यक्षले यही बिचार राखेका थिए। यसबारे खगेन्द्र संग्रौला जस्ता लेखकले समेत दाबी गरेका थिए। उहाँको वौद्धिक स्खलन देख्दा दु:ख लाग्यो,' उनले भने।
उनले प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबराको पनि मन्त्रिपरिषदमा भाग भन्दै समाचारहरु आएको भन्दै सत्तारुढ दलको आलोचना गरेका थिए। कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारका तर्फबाट प्रतिनिधि सभाको शुक्रवारको बैठकमा संघीय निजामती विधेयक प्रस्तुत गरेका थिए।
