काठमाडौं : नेकपा एकीकृत समाजवादीले मन्त्रालय जिम्मेवारीलाई हेरफेर गरेको छ। यसअघि आफ्नो पार्टीबाट सरकारमा सामेल हुन लागेका नेताहरुको मन्त्रालयको जिम्मेवारी सच्याएको हो।
समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर भएको जानकारी दिए। नेकपा एकीकृतले पाएको चार मन्त्रायमा यसअघि रामकुमारी झाँक्रीलाई स्वास्थ्य मन्त्रालय दिने गरि सहमति भएको थियो। तर, उनलाई पर्यटन मन्त्रालय दिने सहमति भएको खतिवडाले बताए।
स्वास्थ्य मन्त्रीमा विरोध खतिवडालाई अघि बढाउने समाजवादीले तय गरेको छ। यसअघि खतिवडालाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो। तर, पार्टी अध्यक्ष माधव नेपालले आन्तरिक छलफल गरेपछि जिम्मेवारीमा हेरफेर भएको हो।
जिम्मेवारी हेरफेरसहितको पत्र पार्टीका तर्फबाट कार्यालय सचिव गंगालाल तुलाधरले प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाउँदै छन्। सरकारमा सहभागी हुन लागेका प्रेम आले र किसान श्रेष्ठको पनि जिम्मेवारी हेरफेर भएको उनको भनाई छ। तर, कुन मन्त्रालयमा भन्नेबारे भने आफूलाई थाहा नभएको खतिवडाको भनाई छ।
