PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका यी नेताले लिँदैछन् मन्त्रीको सपथ



पहिलोपोस्ट

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका यी नेताले लिँदैछन् मन्त्रीको सपथ

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी गरिरहेका छन्। बिहीवार सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेर भागबण्डा टुंग्याएका देउवाले सपथका लागि शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए। आजै सपथका लागि तयारी भइरहेको राष्ट्रपति कार्यालय शीतल निवास स्रोतले बतायो।

सरकारमा सहभागी हुने चार पार्टीले मन्त्रीको नाम टुंग्याएका छन्। माओवादी केन्द्रले सबैभन्दा पहिला बुधवार मन्त्रीको नाम फाइनल गरेको थियो भने नेपाली कांग्रेसले शुक्रवारमात्रै मन्त्री हुने नेताको नाम अघि सारेको छ। एकीकृत समाजवादीले बिहीवारै मन्त्रीको नाम अघि बढाए पनि शुक्रवारमात्रै सचिवालय बैठकमा अनुमोदन गर्‍यो। यता जनता समाजवादी पार्टीले बिहीवार दिनभरको छलफलपछि मन्त्रीका लागि नेता छानेको छ।

सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने सरकार बाहिरै रहेर सरकारलाई सहयोग गर्ने वचन दिएको छ।

मीनेन्द्र रक्षा, दिलेन्द्र बढुलाई कानुन

कांग्रेसबाट पनि शुक्रवार चार मन्त्री थपिन लागेका छन्। मीनेन्द्र रिजाल रक्षा मन्त्री बन्ने भएका छन्। कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम टुंगो लागेको बताएकी हुन्।

जसमध्ये उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ। यस्तै, दिलेन्द्रप्रसाद बडुलाई कानुन मन्त्री बनाइने भएको छ। यसअघि कानुन मन्त्री रहेका ज्ञानेन्द्र कार्कीलाई संचार मन्त्रीको जिम्मेवारी दिइनेछ।

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा उमा रेग्मीलाई महिला तथा बालकालिका मन्त्री बनाइने भएको छ।

कांग्रेसबाट यसअघि गृह मन्त्रीको जिम्मेवारी बालकृष्ण खाँण र स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी उमेश श्रेष्ठले सम्हालिरहेका छन्। भने परराष्ट्र मन्त्रीमा डा. नारायण खड्का छन्।

माओवादीका ४ मन्त्री

माओवादी केन्द्रको बुधवार बसेको स्थायी कमिटीको बैठकले ३ मन्त्री र एक राज्यमन्त्री छानेको थियो। देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराजलाई मन्त्री बनाउने माओवादीको तयारी छ। त्यस्तै, माओवादीले बोधमाया यादवलाई राज्यमन्त्री बनाउँदै छ। अर्थ, उर्जा, शिक्षा, भूमि, उद्योग र आपूर्ति मन्त्रालय पाएको माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालयमा जनार्दन शर्मा र पम्फा भुसाललाई असार २९ गते नै पठाएको थियो।

माधव नेपालका चार मन्त्री

सरकार विस्तारका बारेमा अनिर्णित रहँदै आएको सत्ता साझेदार दल एकीकृत समाजवादीले पनि मन्त्रीका लागि ४ नेताको नाम अघि सारेको छ। सचिवालयको बैठकमार्फत् अध्यक्ष माधव नेपालले विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, प्रेम आले, भवानी खापुङ र कृष्णकुमार श्रेष्ठ किसानलाई मन्त्री बनाउने निर्णय गरेका थिए।

स्वाथ्य, पर्यटन, श्रम र शहरी विकास मन्त्रालय एकीकृत समाजवादीले पाएको छ। यो सँगै एकीकृत समाजवादी पार्टीले पहिलोपटक सत्ता यात्रा गर्दैछ।

यी हुन् जसपाका भाग्यमानी ४

जनता समाजवादी पार्टीले सत्ता गठबन्धनमा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएकोमा विरोध गरेको थियो। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को विरोधमा उत्रिएको जसपाले पनि सत्ता गठबन्धन भित्र ४ मन्त्रालयको भाग पाएको छ। जसका लागि अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र श्रेष्ठ, रामसहायप्रसाद यादव, रेणु यादव र प्रमोद शाहलाई अघि सारेको जसपा स्रोतले जानकारी दियो।

बाबुराम भट्टराई र अशोक राईको अनुपस्थितिमै जसपाले मन्त्रीको नाम टुंगो लगाउँदै छ। भौतिक पूर्वाधार, संघीय मामिला, वन र कृषि मन्त्रालय जसपाको भागमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell