PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

देउवाले ८८ दिनपछि मन्त्रिपरिषदलाई पूर्णता दिए, कसलाई कुन मन्त्रालय?



पहिलोपोस्ट

देउवाले ८८ दिनपछि मन्त्रिपरिषदलाई पूर्णता दिए, कसलाई कुन मन्त्रालय?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएको छ। संविधानमा भएको व्यवस्था अनुसार हाल २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाइने भएकाले देउवाले गठबन्धनमा आवद्ध दलहरुको भागबण्डाका आधारमा थप १८ जनालाई मन्त्री नियुक्त गरेका हुन्। यससँगै देउवा नेतृत्वको सरकार अब २५ सदस्यीय भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको सिफारिसमा मन्त्रीहरुलाई निुयक्त गरिसकेकी छिन्। 

ज्ञानेन्द्र कानुनबाट सञ्चारमा

असार २९ गते गठन भएको देउवा सरकारको गृहमन्त्रीमा कांग्रेसका बालकृष्ण खाँण नियुक्त भएका थिए। उनलाई शुक्रवारको मन्त्रिपरिषदको विस्तारमा पनि निरन्तरता दिइएको छ। त्यतिबेला कानुन मन्त्री बनेका ज्ञानेन्द्रबहादुर कार्कीको भने जिम्मेवारी फेरिएको छ। उनले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यसअघि माओवादी केन्द्रबाट मन्त्री भएका पम्फा भुसालको उर्जा र जनार्दन शर्माको अर्थ मन्त्रायलयको जिम्मेवारी कायमै छ।

देउवा क्याबिनेटमा स्वास्थ्य राज्य मन्त्री बनेका उमेश श्रेष्ठको पनि जिम्मेवारी फेरिएको छ। उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहने गरी राज्यमन्त्री बनाइएको छ। स्वास्थ्य मन्त्रालयको राज्य मन्त्रीमा भने नेकपा एकीकृत समाजवादीका भवानीप्रसाद खापुङलाई नियुक्त गरिएको छ।

कस दललाई कुन मन्त्रालय?

दलहरुबिच भागवण्डा नमिलेकै कारण देउवा सरकार विस्तारमा ढिलाइ भएको थियो। लामो समयसम्म सरकारले पूर्णता नपाउँदा सरकारको आलोचना हुनुका साथै देउवाको नेतृत्वमाथि नै प्रश्न उठेको थियो। बिहीवारमात्रै दलहरुबिच मन्‍त्रालयको बाँडफाँटबारे सहमति भएको थियो।

देउवा सरकारमा जनता समाजवादी पार्टीका तर्फबाट मन्त्री बनेका राजेन्द्र श्रेष्ठले सामान्य प्रशासन मन्त्रालय पाएका छन्। एकीकृत समाजवादीबाट मन्त्री बनेका विरोध खतिवडाले स्वास्थ्य मन्त्रालय पाउँदा कांग्रेसका डा.मिनेन्द्र रिजालले रक्षा मन्त्री नियुक्त भएका छन्।

कांग्रेसका उमाकान्त चौधरीलाई खानेपानी मन्त्री बनेका छन्। यसअघि नै परराष्ट्र मन्त्री बनेका डा.नारायण खडकाको परराष्ट्र मन्त्रालयको जिम्मेवारी कायमै छ। जसपाकी रेनुकुमारी यादवलाई भौतिक पूर्वाधार मन्त्रालय, एकीकृत समाजवादीका प्रेम आलेलाई पर्यटन, कांग्रेसका दिलेन्द्र बडुलाई कानुन मन्त्री बनाइएको छ। ज्ञानेन्द्र कार्कीका ठाउँमा बडु ल्याइएको हो। कार्कीलाई संचार मन्त्रालयको जिम्मेवरी दिइएको छ।

माओवादीका देवेन्द्र पौडेललाई शिक्षा, जसपाका महेन्द्र राय यादवलाई कृषी मन्त्रालयको जिम्मेवारी दिइएको छ। कांग्रेसकी उमा रेग्मीलाई महिला मन्त्रीको रुपमा नियुक्त गरिएको छ।

माओवादीकी शशी श्रेष्ठलाई भूमि व्यवस्था,एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई सहरी विकास मन्त्री बनाइएको छ। गैर सांसद गजेन्द्रबहादुर हमाललाई उद्योग मन्त्रालय दिइएको छ।

जसपाका रामसहाय प्रसाद यादवलाई वन मन्त्रालय, एकीकृत समाजवादीका कृष्ण कुमार श्रेष्ठ किसानलाई श्रम, माओवादी केन्द्रका महेश्वरजंग गहतराजलाई युवा मन्त्री बनाइएको छ।

कांग्रेसका उमेश श्रेष्ठलाई राज्यमन्त्रीका रुपमा प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ। उनी यसअघि स्वास्थ्य राज्यमन्त्री थिए। यस्तै, एकीकृत समाजवादीका भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री र माओवादी केन्द्रका बोधमायाकुमारी यादव शिक्षा राज्यमन्त्री भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell