PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शनिवार अमेरिका उड्ने सेड्युल, बुधवार भेटियो २६ वर्षीया अनिताको शव, मृत्यु अघिको भिडियो कलले उब्जायो शंका...



सविन ढकाल

शनिवार अमेरिका उड्ने सेड्युल, बुधवार भेटियो २६ वर्षीया अनिताको शव, मृत्यु अघिको भिडियो कलले उब्जायो शंका...

काठमाडौं : दुई दिनपछि अनिता नेपालबाट टाढिदै थिइन्। घरपरिवार र माइती छोडेर अमेरिका उड्ने तय भइसकेको थियो। फ्लाइट भोलि अर्थात् शनिवार बिहानको।

अमेरिका उड्नुको अर्थ थियो, लामो समय यहाँ रहेका सबैबाट टाढा हुनु। त्यसैले बिहानैदेखि अनिता बावुआमासँग भिडियो कलमा व्यस्त थिइन्।

शनिवार बिहान साढे ८ बजे काठमाडौंबाट लामो समयदेखि प्रतीक्षा गरेको मुलुक अमेरिकातिरको यात्रा हुँदै थियो। सबै ठीक हुन्थ्यो भने आज (शुक्रवार) उनी बुटवलबाट काठमाडौं आएकी हुने थिइन्। त्यसैले बुधवार बिहान उनी भिडियो कलमा व्यस्त थिइन्।

तीन वर्षअघि अनिताको बुटवल उपमहानगरपालिका १३ स्थित ढावहलवामा विवाह भएको थियो। माइतीघर खासै टाढा थिएन। जुन दिन भिडियो कल गरेकी थिइन् विदा हुन् लागि त्यसै दिन माइती जाँदै थिइन्। उनको स्वागत र विदाई दुवैका लागि प्रतीक्षारत थिए सबैजना। १२ बजेतिर अनिताले 'एकछिनमा आइपुग्छु है...' भन्दै फोन राखिन्।

स्वभाविक नै हो, बावुआमाको आँखा उनी आउने बाटो तिर हुनु। किनकि त्यसपछि लामो समय सशरीर भेटको सम्भावना कम थियो।

छोरीले फोन गरेको पौने २ घन्टापछि अनिताको घरबाट फोन आयो। त्यो कल उनीहरुको कल्पनाभन्दा धेरै परको थियो, पूर्णरुपमा अनपेक्षित। फोनमा उनीहरुले जे सुने पत्याउनै नसकिने र होसै उडाउने! हो, केही अघिसम्म हाँसीखुशी बोलिरहेकी अनिताको मृत्युको खबर उनीहरुको कानमा पर्‍यो। कुनै दुर्घटना होइन, 'आत्महत्या'!

'एक छिनमा आउँछु भनेर हाँसी खुशी बोलिरहेकी थिइन्। त्यो खबर पत्याउनेखालकै थिएन। कसरी यस्तो गर्लिन् भन्ने भयो?,' अनिताका दाजु महेश रेग्मीले भने।

अनिताका बावु र भाइ बुटवल उपमहानगरपालिका ११ को देवीनगरबाट अनिताको घरमा पुगे। त्यहाँ पुग्न गाडीमा २०/२५ मिनेटमात्र लाग्ने। त्यहाँ पुगेपछि देखे - घरको दोस्रो तल्लाको कोठामा २६ वर्षीया उनको शरीर झुन्डिएको। कोठा खुल्ला नै थियो, उनीहरु पुग्दा। सल पासो बनेको थियो। दुई घन्टा अगाडि कुराकानी गरिरहेको मानिसको यस्तो अवस्था देख्दा पत्याउने कसरी?

अनिताको शव सिलिङको पङ्खामुनि झुन्डिरहेको थियो। घाँटीको मंगलसुत्र भुँईमा झरेको थियो। पङ्खामुनि टुल देखियो।

तीन वर्षअघि मात्रै अनिताको बुटवलको खनाल परिवारमा मागी विवाह भएको हो। डिभि परेर अमेरिका पुगेर छुट्टीमा नेपाल आएको बेला बिवाह भएको थियो। विवाह भएपछि केही महिनामात्र उनीहरु सँगै रहे। त्यसपछि अनिताका श्रीमानले प्रकृया अगाडि बढाए आफ्नी श्रीमतीलाई लैजाने। सबै प्रक्रिया पूरा भयो। भिसा पनि लाग्यो। त्यसैले शनिवारको फ्लाइटबाट अमेरिका उड्ने तय भयो। 

उनका श्रीमान् काठमाडौंमा थिए, यताको काम मिलाउन। घरमा ससुरा र माइला देवर पनि थिएनन्। उनकी सासु, दुई देवर र सासुकी बहिनी घरमै थिइन्। सबै कुरा ठीक भइसकेको अवस्थामा एकाएक उनी कसरी मृत अवस्थामा भेटिइन् त?

माइती पक्षले शङ्का गर्नु अस्वभाविक भएन। केह समयअघिमात्र त्यसरी बोलिरहेको मान्छेले कसरी आत्महत्या गर्न सक्छ? प्रश्न उठ्नु स्वभाविक थियो। घरमा देवरसँगको मनमुटावबारे माइती पक्षले सुनेको थियो। पङ्खामा लगाएको पासो र अनिताको उचाई बिचको अन्तर धेरै देखेपछि उनीहरु थप सशंकित बन्न पुगे। के उनले आत्महत्या नै गरेकी हुन् त?

'यो हत्या हो नभए आत्महत्या गर्ने बाध्य पारेको हो। नत्र केही समय अगाडि त्यसरी बोलिरहेको मानिसलाई यस्तो अवस्था कसरी पुग्न सक्छ?,' दाजु महेशको प्रश्न छ।

अनिताको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। माइती पक्षले घटनाको निष्पक्ष छानविन नभएसम्म शव उठाउन नदिने भन्दै रोक लगाएका छन्। उनीहरुले घटनाको निष्पक्ष छानविन हुनुपर्ने भन्दै प्रहरीमा उजुरी दिएका छन्।

'तीन जना घरमा हुनुहुन्थ्यो। कोठा खुल्लै राखेर सबैजना घरमा हुँदा कसैले आत्महत्या गर्ने सक्ला?,' अनिताका दाजु महेशले भने।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मदन कुँवरले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए। 'घटना दिउँसो भएको हो। हामीले यसमा अनुसन्धान गरिरहेका छौं। अहिले नै के हो भन्ने अवस्था छैन,' डीएसपी कुँवरले भने।

सामाजिक सञ्जालमा 'जस्टिस फर अनिता' भन्दै न्यायका लागि आवाज उठाउने क्रम सुरु भएको छ। त्यसैले, प्रहरीमा अनुसन्धानको दवाव बढ्ने देखिन्छ। त्यसमाथि माइती पक्षले निष्पक्ष छानविन नहुने हो कि भन्दै किटानी जाहेरीको पनि तयारी गरिरहेका छन्।

२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐनको दफा १८५ मा आत्महत्या गर्न कसैले कसैलाई दुरुत्साहन गरे कारबाही हुने व्यवस्था छ। आत्महत्या गर्न दुरुत्साहित गरेको प्रमाणित भए ऐनको दफा १८५ अनुसार अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell