PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

शशांकलाई मन्त्रीमा सान्त्वना, गुट फुटाउने देउवाको दाउ



पहिलोपोस्ट

शशांकलाई मन्त्रीमा सान्त्वना, गुट फुटाउने देउवाको दाउ

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा पार्टीका महामन्त्री शशांक कोइरालालाई चिढ्याउन चाहेनन्। त्यसैको असर हो रामचन्द्र पौडेललाई बाइपास गर्दै विस्तार गरिएको मन्त्रिपरिषदमा शशांकलाई भने सान्त्वना मिल्यो।

देउवाले कांग्रेसको कोटामा परेको ९ मन्त्रीमा २ जनामात्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई दिए। पौडेल पक्षका भनिए पनि रक्षा मन्त्री बनेका डा मीनेन्द्र रिजाल महामन्त्री डा शशांक कोइरालाको सिफारिसमा मन्त्री बन्न सफल भएका हुन्। त्यसो त कानुनमन्त्री बनेका दिलेन्द्रप्रसाद बडुलाई पनि शशांकको समर्थन छ।

आफ्नो समर्थन रहेका नेता मन्त्री बन्ने भएपछि शशांक बिहानै सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न पुगे। त्यहाँ उनले आफू १४ औं महाधिवेशनमा सभपतिमा उम्मेद्वार बन्ने घोषणा पनि गरे।

यता पौडेलले आफ्नो समूहलाई तीन मन्त्री चाहिने भन्दै अडान जारी राखेपछि देउवाले उनको मागमा कुनै सुनुवाई गरेनन्। हुन त कानुनमन्त्री बनेका बडू लामो समयदेखि कोइराला खेमाका नेता हुन्। पछिल्लो समय उनी पौडेल पक्षमा छन्। पौडेल पक्षले एक जना मन्त्री पाउँदा प्रकाशमान सिंह पक्षले भने कुनै कोटा पाएन। जसले गर्दा उनी रुष्ट बनेका छन्।

यता देउवाले भने आफ्नो तर्फबाट गजेन्द्र बमलाई मन्त्री बनाउन भ्याए। पछिल्लो पटक संस्थापन इतर एकजुट हुन थालेपछि देउवाले महामन्त्री शशांकलाई सन्त्वाना दिँदै आएका छन्। शशांकलाई बेलाबेला भेटेर देउवाले आखिरी पटक आफूलाई सभापतिमा सघाउन अनुरोध गर्दै आएका छन्। अर्को पटक शशांकलाई छाडिदिने देउवाले वचन दिएको उनी आफै बताउँछन्। त्यसो त गत निर्वाचनमा सभापति देउवाकै कारण चुनावमा कांग्रेस हारेको आरोप लाग्दा शशांकले बचाउसमेत गरेका थिए।

शशांकमाथि संस्थापन इतरले नै देउवालाई सघाउँदै आएको आरोप लगाउँदै आएका छन्। यद्यपि, वरिष्ठ नेता पौडेलले राखेको हरेक बैठकमा शशांकको उपस्थिति रहने गर्छ। यस्तो अवस्थामा देउवाले शशांकलाई मन्त्रीको कोटा दिएर सन्त्वाना दिएको कांग्रेस पौडेल पक्षका नेताहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell