PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

दसैं रौनक : गाउँघरमा लिपपोत र सरसफाई सुरु, कोही दुनाटपरी बुन्दै



निशा गुरुङ

दसैं रौनक : गाउँघरमा लिपपोत र सरसफाई सुरु, कोही दुनाटपरी बुन्दै

हेटौंडा : दसैंको बेला गाँउमा बेग्लै रौनक छाँउछ। गाँउघरमा दसैं आएको संकेत हो - घरमा हुने लिपपोत र सरसफाइ।  अहिले गाउँका सबै घर रङगाउन, लिपपोत गर्न र सरसफाई गर्न व्यस्त छन् मानिसहरु।

मकवानपुरको विभिन्न गाउँहरुमा अहिले घर लिपपोतमै व्यस्त छन महिलाहरु। वर्षभरी, झरीले बिगारेका घरका बाहिरी भित्ता, मकुराका जालोहरुलाई हटाइ कसैले रातो माटोले त कसैले कमेरोकोले घर उज्यालो बनाउन थालेका छन्। यो बेलामा शहरका घरहरु लगाइएको रङसगै मिसिएको फेबिकलको बास्नाभन्दा गाँउमा लगाइएको माटोकै सुगन्धले आनन्दित दिलाँउछ। यसरी घर रंग्याउन कोहीको भने रातो र कमेरो माटो खोज्न दौडधुप चलिरहेको छ।

वर्षको एकचोटी दसैंमा पुरै घर पोत्नुपर्ने चलनअनुसार उनीहरू टाढाटाढाबाट माटो खोजेर ल्याँउछन्। प्राय गाँउ घरको माथिल्लो भागमा सेतो र तल रातोले भित्ता पोत्ने चलन छ। कतिपयले धार्मिक मान्यताले पुरै घर रातो माटोले पोत्ने चलन रहेको छ। ढिस्कोबाट माटो आफै खनेर ल्याउने चलन छ। बजारको रङ लगाए शुभ हुँदैन भन्ने मान्यता विद्यामान नै छ। माटोको घरमा पोतिसकेपछि झ्याल ढोकामा सालको बोक्रा पकाएर, त्यसबाट निस्केको पानीले रङगाउने चलन छ जुन कालो रङजस्तै देखिन्छ।

घण्टौं हिँडेर माटो ल्याउने गरेको मकवानपुरगढी वडा—न ४ शान्तिमाया घलान। उनले घरको भित्तामा पहेलो माटो र तल साटामा पहेलो माटो लगाउने सुरु गरेकी छिन्। टाढाको जंगलको बिचमा पाइने माटो गाँउघरका दिदिबहिनिसँगै जाने गरेको बताँउछिन्। घर फुलपातीसम्ममा लिपि सक्ने उनले बताइन्। यो बेला महिलाहरुको काम धेरै हुने शान्तिमाया बताँउछिन्। घरमा सरसफाई गर्ने, लुगा धुने चोखाउने चलन रहेको उनको भनाई छ।

त्यस्तै हेटौंडा—१८ दइदमारका रमिता घले पनि कत्लेको माटो लिन परसम्म पुग्छिन्। उनी भन्छिन, 'माटो ल्याउन जाने चहलपहल भएपछि मात्रै दसैं आएजस्तो लाग्छ । घर नजिकै रातो माटो नपाइने भएपछि गाउँका सबै महिललाहरू जम्मा भएर एकसाथ कत्लेको माटो लिन जाने गरेको बताँउछिन्। कत्लेको माटोको तारिफ गर्दै भन्छिन्, ‘रङ जस्तै रातो हुन्छ, किनेको रङमा र कत्लेको माटोमा कुनै फरक छैन। पक्की घर हुनेहरू रङ लगाँउछन्। कच्ची घरमा रातो माटो र कमेरो लगाउँछौ।'

घर शुद्ध पार्न वनजंगलमा माटो खोज्न जाँदै गरेकी सम्झना घलान बाटैमा भेटिन्छन्। दसैंमा कसको घर कति राम्रो छ भनेर तुलना गर्ने हुँदा आफुलाई टाढै भएपनि जंगल—जंगल धाउने गरेको बताँउछिन्। वर्षाभरी पानीले पखालेको घरको भित्ता टाढाबाट हेर्दै टलक्क टल्किने गरी पोत्न थालेको उनले बताइन्। गाउँमा पक्की घर छिटफुट मात्रै छन । घटस्थापनाअघि नै घर चोख्याइन्छ । टपरीमा जमरा नयाँ माटोमा उमारिन्छ । घरमा जमरा राखेसँगै आफूहरु घरसमेत लिपपोत गर्न व्यस्त हुने बताँउछिन्।

यता, मकवानपुगढी गाँउपालिकाकै १४ वर्षिया प्रमोद न्यौपाने पनि दसैंको लागि भनेर कुवा खन्दै गरेको भेटिन्छन्। एक खोल्सामा उनले केही साथिभाईजम्मा गरेर दसैंमा धेरै पानी खर्च हुने भएको कारणले कुवामा लुगा धुन, नुहाउनको लागि मर्मत गरेको बताँउछन्। घरमा धारा त आइरहेको हुन्छ तर, त्यसमा पानि खर्च हुन्छ, पाहुना पनि आँउछन् उनले भने।

मकवानपुरगढीकै १० वर्षीया सोना श्रेष्ठ घटस्थापनादेखि विद्यालय विदा भएपछि उनी घरको काममा हजुरआमालाई सघाँउदै बसेकी छन्। खास गरि उनी दसैंकै लागि भनेर आफै टपरि दुना गाँस्नमा व्यस्त छिन्। नवमीको दिन घरमा राँको मासु ल्याउने बताँउदै त्यही दुना टपरिमा मासु चिउरा हालेर खाने उनले सुनाइन्। दसैँ आएपछि आफूलाई घरमा छुट्टै रमाइलो लाग्ने उनले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell