PahiloPost

Oct 30, 2024 | १४ कात्तिक २०८१

मन्त्री बन्ने बायोडेटा! [सम्पादकीय]



पहिलोपोस्ट

मन्त्री बन्ने बायोडेटा! [सम्पादकीय]

शुक्रवार साँझ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कुर्सी सम्हालिरहँदा गजेन्द्र हमालले भनेका शब्द नोट गर्न योग्य थिए। उनले भनेका थिए - 'मैले केही बुझेको छैन। मलाई केही थाहा छैन।' हमालको सरल र स्वभाविक भनाइले मुलुकलाई अग्रगमनतिर लैजान केही वर्ष यता नेतृत्वको छनोट कसरी भइरहेछ बुझ्न कठिन छैन। पदभार ग्रहण गरिरहँदा 'केही पनि थाहा नपाउने' व्यक्तिलाई यतिविघ्न महत्त्वपूर्ण जिम्मेवारी दिनुपर्ने अवस्था कसरी आयो? राज्यसत्ता संचालनको लामो अनुभव सम्हालेका कांग्रेसका वृद्ध नेता शेरबहादुर देउवा किन हमाललाई मन्त्री बनाउन बाध्य भए? ओपन सेक्रेट बनिसकेको छ हमाल नियुक्तिको सन्दर्भ। जनजनमा उनको नाम स्थापित भइसकेको छ, मन्त्री बन्नुअघि नै। प्रधान न्यायाधीशसँगको मिलेमतोमा संवैधानिक नियुक्तिमा भागवण्डाको बिजारोपण यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। त्यसलाई स्थापित गर्ने कार्यभार चाहिँ देउवाले निभाएका छन्। नेपालको राजनीतिमा केपी ओलीबाट प्रधानमन्त्री पद देउवाको शिरमा पुग्नुको अर्थ – 'तावाबाट उछिट्टिएर भुङ्ग्रामा पर्नु'मै सीमित बनेको छ नेपाली जनताका लागि।

त्यसो त मन्त्री हमाल त्यस्ता व्यक्ति हुन् जसको विज्ञता मुलुकले जान्न पाएको छैन। मुलुकको आवश्यकताको सूचीमा कतै पनि अपरिहार्य रुपमा देखिएका पात्र होइनन् उनी। सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गुटबाहेक प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराका जेठान हुनु मुलुकका लागि उनको सबैभन्दा बलियो बायोडेटा बन्यो। सांसद नै बनिरहन परेन उनले मन्त्री बन्नका लागि। त्यसैले किन मन्त्री र कुन मन्त्रालयको जिम्मेवारी भन्ने विषयमा उनी बेखबर सुनिनु स्वभाविक बन्यो। त्यसैको असर थियो, मन्त्रालयमा हिजो पदभार ग्रहण गरिरहँदा उनका अभिव्यक्ति। दोहर्‍याउ, उनले स्वभाविक रुपमा भन्दै थिए – 'भर्खर आएँ, मलाई केही थाहा छैन।'

प्रधानमन्त्री शेरबहादुर देउवा ज्यादै कम बोल्छन्। तौलिएर बोल्नु उनको विशेषता हो। नबोली नबोली काम फत्ते गर्न माहिर शैली छ उनको। त्यसैले देउवासँग प्रश्न गर्नु र उत्तरको अपेक्षा गर्नुको औचित्य छैन। पदमा पटकपटक पुगेर पनि असफल सिद्ध प्रधानमन्त्री शेरबहादुर देउवा सत्तामा पुगेपछि कुन हदसम्मको सम्झौता गर्न सक्छन्, त्यो पनि ओपन सेक्रेट नै थियो। यसर्थ, सुरुमा उमेश श्रेष्ठको नियुक्तिमा देउवामाथि प्रश्न उठे। ती प्रश्नको जवाफ दिन उनले चाहेनन्। अब फेरि प्रश्न उठेको छ जसको खुलेर जवाफ उनले दिनेवाला छैनन्। केपी ‌ओलीको विराशत ढलेर लागेको राजनीतिक 'अपुताली' उनका लागि यस्तै चिनेका नचिनेका पात्र र प्रवृत्तिलाई रिझाउनमै व्यथित हुने देखिन्छ। नेपालको राजनीतिका लागि योभन्दा ठूलो दुर्भाग्य के होला?

नेपालको प्रजातान्त्रिक व्यवस्थालाई बदनाम गराउने पात्रहरुमा गिरिजप्रसाद कोइरालाको नाम कसैले बिर्सिँदैन। तर, राजनीतिको उत्तरार्धमा कोइरालाले आफूलाई यसरी करेक्सन गरे कि उनका असफलताका धब्बा धेरै हदसम्म धोइए। शेरबहादुर देउवाबाट मानिसले आशा गरेका थिएनन्, उनका लागि पहिचान सुधार्ने मौकाका रुपमा लिएका थिए यसपालाको अवसर। नेपाली राजनीतिमा स्थापित 'बद्‍नाम' पहिचान फेर्ने अवसर गुमाउने मात्र होइन, आफ्नो पूरानै शैली पुन: सबैसामु देखाउँदै एउटा प्रष्ट संदेश दिएका छन् – हामी सुधारिनेवाला छैनौं। स्वभाविक हो, न्यायालयलाई राजनीतिक भर्ती केन्द्रका रुपमा विकास गर्ने नेताहरु, पार्टी प्रमुखका गलत हर्कतमाथि प्रश्न उठाउन नसक्ने लाचार कार्यकर्ता र तिनैको दादागिरीलाई सहिरहने जनता भएसम्म देउवाजस्ता नेतृत्वमा आउनेले भनिरहनेछन् – '…हामी सुधारिँदैनौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell