PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

सवारी दुर्घटना प्रत्येक वर्ष बढ्दै: घाइते हुने र मृतकको संख्या पनि लाग्यो उकालो



पहिलोपोस्ट

सवारी दुर्घटना प्रत्येक वर्ष बढ्दै: घाइते हुने र मृतकको संख्या पनि लाग्यो उकालो
फाइल फोटो

काठमाडौंः चाडपर्व सुरु भएसँगै काठमाडौंलगायत अन्य स्थानमा सवारी दुर्घटनाहरू बढ्ने गरेको देखिएको छ। त्यसैले प्रहरीले चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीको संक्रियतासमेत बढाउने गरेको छ। मादक पदार्थ सेवन, लापरबाहीको र यान्त्रिक गडबडीको कारण दुर्घटना हुने गरेका छन्। यस्ता दुर्घटनामा सयौँ मानिसले अकालमै जीवन गुमाउनु परेको छ।

पछिल्ला केही वर्ष देशभित्र हुने सडक दुर्घटना बढेर गएको छ। गत आर्थिक वर्षमा मात्र ३२ प्रतिशतभन्दा बढीले सडक दुर्घटना बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७७/७८ देशभर २० हजार ६ सय ३४ वटा सडक दुर्घटना भएका थिए। त्यसअघिको आर्थिक वर्ष २०७६/७७ मा १५ हजार ५ सय ५४ वटामात्र सडक दुर्घटना भएको देखिएको छ। आर्थिक वर्ष २०७५/७६ मा सडक दुर्घटनाको सङ्ख्या १३ हजार ३ सय ६६ रहेको छ।

सडक दुर्घटना बढेसँगै दुर्घटनामा परेर मर्ने मानिसहरूको सङ्ख्या पनि बढेर गएको देखिएको छ। आर्थिक वर्ष २०७७/७८ मा ११ प्रतिशतले सडक दुर्घटनामा मृत्यु हुने मानिसको सङ्ख्या बढेको छ। आर्थिक वर्ष २०७७/७८ मा २ हजार ५ सय १३ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा २ हजार २ सय ५१ जनाको मृत्यु भएको हो। तर आर्थिक वर्ष २०७५/७६ मा भने दुर्घटना मर्नेहरूको सङ्ख्या २ हजार ७ सय ८९ रहेको थियो।

दुर्घटनामा परेर गम्भीर घाइते हुने मानिसको सङ्ख्या पनि बढ्दै गएको देखिए। गम्भीर घाइतेहरूको सङ्ख्या पनि ३९ प्रतिशतभन्दा बढी देखिन्छ। आर्थिक वर्ष २०७७/७८ मा विभिन्न सवारी दुर्घटनामा ६  हजार ४ सय ५३ जना मानिस गम्भीर घाइते भएका छन्। सबैभन्दा धेरै सवारी दुर्घटनामा पर्नेहरू मोटरसाइकल चालक नै रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell