PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सर्पहरुले गीत सुनेनन् !



पहिलोपोस्ट

सर्पहरुले गीत सुनेनन् !

  • लिलाराज खतिवडा -

कहिलेकाहीँ ‘रिपोर्टर’भएर शहरमा बरालिन मन लाग्छ। शहरमा बिना उद्देश्य बरालिँदा यदाकदा यस्ता पात्रसँग जम्काभेट हुन्छ जहाँ आफ्नो पुरानो अखबारी–ग्रन्थी घड्याप्पै सतहमा आइदिन्छ। अनि सल्बलाउन थाल्छन् सिर्जनतत्व, आफसेआफ।

‘नियमित आकस्मिकता’ नै भनौँ, केही दिनअघि अग्रज साहित्यकार शैलेन्द्र साकारका घरमा पुगियो। मीनभवन पछाडि ठूलो खरीको बोटछेवैको उनको घरको भुइँतल्लामा बसेर केही युवासँग निकैबेर गफमा बत्तिँदासम्म त्यो घर तीस र चालिसको दशकका बेजोड साहित्यकार शैलेन्द्र साकारको हो भन्ने थाहा थिएन।

उनका कान्छा छोरा अनुबन्धको आतिथ्यमा म त्यहाँ पुगेको। भेटघाटको क्रम नितान्त भिन्नै थियो। तर, हिँड्ने बेलामा अनुबन्ध रहस्य उजागर गर्न ताम्सिए। केही दिनदेखि अन्य युवासहित मसँग एउटा ‘मेडिटेशन क्याफे’ खोल्ने सन्दर्भमा सामेल थिए, मेरा गाउँले भाइ युगल र उनका साथी अनुबन्ध। अनुबन्धले आफू साहित्यकार शैलेन्द्र साकारको छोरो भएको रहस्योजगार गरेपछि मैले बिना कुनै बिलम्ब अर्को पटक बुबासँग भेट गराइदिन अनुरोध गरेँ।

नभन्दै त्यसको अर्को हप्ताको एक ताजा बिहानीमा म नेपाली साहित्यको इतिहासमा सम्पन्न तीन वटा सशक्त साहित्यिक आन्दोलनका एक अग्रणी अभियन्ता, उपन्यासकार, कथाकार, कवि तथा पूर्व सरकारी सेवक शैलेन्द्र साकारसँग साक्षात्कार गरिरहेको थिएँ।

यसप्रकार, ‘मेडिटेशन क्याफे’को नितान्त फरक सन्दर्भले एक जना मूर्धन्य साहित्यकारसँग भेट गराइदिएर एकाएक मभित्र आराम गरिरहेको ‘रिपोर्टर'लाई पुनः उमालिदियो। शहरमा आफूले विभिन्न तप्काका मानिसहरुसँग अन्तर्वाता लिँदै हिँडेका जवान दिनहरु ताजा भएर आए।

अनि म ताम्सिएँ, ‘इन्टरनेट’मा फेरि एक पटक शंकरप्रसाद श्रेष्ठ अर्थात शैलेन्द्र साकारका साहित्यिक आयामहरु खोतल्न। उनको एउटा भयानक कविताले मेरो ध्यान आकर्षित गर्‍यो।

मैले सस्वर वाचन गरेँ -

तिमी जतिसुकै पीडाले चिच्याऊ

ईश्वरका विरुद्ध उभिएर सडकमा

अथवा आनन्दले विभोर भएर

जीवनको प्रशंसामा जतिसुकै गीतहरु गाऊ

त्यसको केही मूल्य छैन

तिमी कसैकहाँ सम्प्रेषित हुन सक्दैनौ

कसैलाई ब्युँझाएर केही भन्न सक्दैनौ

सर्प झैँ आत्मरतिमा निमग्न भएकाहरु

गीत सुन्दैनन् — तिम्रो कविता सुन्दैनन्।

मलाई थाहा छ —

तिमी चिरन्तन बोलिरहेछौ

युगका सुख—दुःखका कथाहरु

तिमी बोलिरहेछौ सधैँ आफ्नो अस्मिता

तिमी मुटुका भक्कानोहरुलाई पङ्तिबद्ध गरिरहेछौ।

तिमी कवितामा खोजिरहेछौ जीवनको लय

तिमी अन्याय र बर्बरताको कथा सुसेलिरहेछौ

तिमी आफ्नो अस्तित्वका सम्पूर्ण रागहरु बजाइरहेछौ।

तर के गर्छौ मेरा प्रिय गायक

सर्पहरु गीत सुन्दैनन्

संसारका कुनै पनि सर्पहरु

कविता सुन्दैनन्।

तिमीले जतिसुकै चिच्याई—चिच्याई गाए पनि

यी मन्दिरमा खोपिएका सर्प—प्रतीकहरु बहिरा छन्

कुनै पूर्व निश्चित चाडको सामुहिक भोजमा बहुलाएर

यी विषदन्त गोमनहरु टोकिरहन्छन्

कुनै पनि नवजात शिशु भविष्य

र ईश्वरका सामु गर्वोन्नत रहन्छन्।

मलाई दुःख छ मेरा गायक

सर्पहरु कविता सुन्दैनन्

सर्पहरु गीत सुन्दैनन्।

+++

आफ्ना लागि अरुका सशक्त कविता वाचन गर्न खुब आनन्द आउँछ, मलाई। शैलेन्द्र साकारको यो कविता वाचन गरेर मलाई निकै आनन्द आयो। मैले पुनः वाचन गरेँ। झन् आनन्द आयो। साकार मलाई कताकता भूपि शेरचन झैँ लागिदिन्छन्। उनका कवितामा भूपिको सुगन्ध पाउन सकिन्छ।

एकबेलाका यी चर्चित कविसँग उनकै मीनभवनस्थित निवासमा भर्खरैको एक विहान साहित्य संवाद गरिरहँदा मेरो मनमा केही अजीव विचारहरु संप्रेषित भए। लेखिएको झण्डै चालिस वर्षपछि आज अग्रज सहित्यकारको यस कवितालाई भूतकालमा पो वाचन गर्नु पर्ने ठानेँ, मैले। जस्तो,

सर्पहरुले कविता सुनेनन्

सर्पहरुले गीत सुनेनन्!

किनभने, हामीले यहाँ सर्पहरुलाई पनि कविता र गीत सुनाउने प्रयास गर्‍यौं। कति महान थियौँ हामी, कि सर्पहरुलाई काव्य सुनाउन ताम्सियौँ? तर किन सुन्थे, सर्पहरुले हाम्रा काव्यिक आवाज? सुनेनन्!

सर्पहरु बहिरा भएर त्यसो भएको होइन। सर्पहरु हाम्रा गीत सुन्न लायक नभएर हो। गल्ती हाम्रै थियो, कि हामी सर्पहरुलाई गीत सुनाउन ताम्सियौँ। कहाँ सर्पहरुलाई बिन बजाएर नचाउनु पर्नेमा हामीले ठिक उल्टो गयौँ।

मलाई लाग्छ, सर्प भनेका शासक हुन्। वा शासक भनेका सर्प हुन्। सर्पहरु विषयुक्त र विषरहित गरेर दुइथरी हुन्छन्। तर, शासक? यहाँ जुन शासक आए पनि गालाभित्र विषको थैली लिएर आएका छन्। विषरहित शासक यता फेला पार्न दुरुह! शासकहरु विषधारी सर्प हुन्। यिनीहरुले हाम्रा सुमधूर गीत कहिल्यै सुनेनन्। प्रयास हाम्रो व्यर्थै रह्यो।

‘रहेन त?’ प्रश्नको प्रत्यञ्चा फुत्कियो।

कलाकार उत्तम नेपालीमाथि ‘किलागलको तिमी हामी रेष्टुराँ र उत्तम नेपाली दाइ’शीर्षकमा संस्मरण लेखेर सकाउँदै गर्नुभएका कवि, लेखक तथा साहित्यिक अभियन्ता शैलेन्द्र साकारलाई सोधियो, ‘मुलुकको वर्तमान साहित्यिक अवस्था कस्तो छ? तपाईं त अझै पनि लेखपढ्मा सक्रिय हुनुहुन्छ।’

बुट पालिश, अस्वीकृत जमात, सडक कविता क्रान्ति र कथ्य काया कल्प जस्ता उल्लेखनीय अभियानमा अग्रणी भूमिका खेलेका साहित्यकार साकार शुरु भए, ‘पहिले पहिले प्रज्ञा प्रतिष्ठान जाँदा श्रद्धाले शिर निहुरिन्थ्यो भने अहिले लज्जावोध हुन्छ। अहिले साहित्यमा राजनीति मिसिएकाले प्रज्ञा प्रतिष्ठानमा लायकका मान्छे छैनन्। साहित्यको ‘स’ समेत नजान्ने मान्छे त्यहाँ नियुक्त छन्। त्यस्ता मानिससँग कुनै साहित्यिक संवाद हुनै सक्दैन। त्यहाँका पदाधिकारीहरुलाई किन भेट्ने? भेटेर के संवाद गर्ने? तसर्थ म भन्छु, प्रज्ञा प्रतिष्ठान साहित्यिकरुपले अहिले संवादहीन अवस्थामा छ।’

‘बहुदल व्यवस्थाका तीन दशकमा महान नेपाली साहित्यको हुर्मत काढिएको हो, त्यसो भए?’ एउटा नयाँ कविता संग्रह प्रकाशन गर्ने तरखरमा रहेका उनलाई मेरो अर्को प्रश्न।

उनको सटिक जवाफ, ‘अहिले स्थिति भयावह छ। बहुदल आएपछि सब ठिक हुन्छ भन्ठान्नु हाम्रो भ्रम थियो। केही पनि ठिक भएन। बरु भएको पनि बिग्रियो। अहिले कतै पनि स्वस्थ प्रतिस्पर्धा छैन। जताततै राजनीति हाबी छ। त्यसैले पहिलेको जस्तो उत्साह र उमंग पनि छैन। जिन्दगीको रौनक हराएको छ।’

अब उनले उत्साहित मुद्रामा कलाकार उत्तम नेपालीमाथि हस्तलिखित संस्मरणका केही हिस्सा सुनाए, ‘चित्रकारी सिकेर फर्केका उत्तम नेपाली एक नामी चित्रकार भनेर नै काठमाडौंमा परिचित भए। त्यो बेलामा अमूर्त चित्रकारका लागि कुनै ठाउँ थिएन र अहिले पनि छैन। जागिरे जीवनले मात्र परिवार धान्न गाह्रो भएपछि उनले आफ्नो जन्मघर किलागलमा एउटा भट्टी पसल खोले। त्यसको नाम थियो ‘तिमी हामी’। त्यही भट्टीमा त्यसबेलाका मद्यपान प्रेमी कवि लेखकहरु जम्मा भएर साँझपख मदिरा सँगसँगै कविताको समेत रसपान गर्न थाले। उत्तम दाइ पनि निकै राम्रो कवि भएकाले कविता सुनाउँदा सुनाउँदै व्यापारको हिसाब चाहिँ बिर्सिँदै गए। कसले कति बोतल, कति ग्लास मदिरा उडाइसक्यो, हिसाब गोलमाल! त्यतिबेला हरिभक्त कटुवाललाई भेट्नु पर्‍यो भने, त्यहीँ जानुपर्ने। उत्तम दाइका समकालीन प्रसिद्ध कविहरु कृष्णभक्त श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, द्वारिका श्रेष्ठ, प्रशन्न पाण्डे, भूपि शेरचन, मदन रेग्मीआफ्ना केही प्रशंसकका साथ हरेक साँझ ‘तिमी हामी’मा भेटिन थाले। उत्तम दाइलाई पनि त्यो संगोल खुब मन पर्थ्यो। तर, कतिदिन चल्ने त्यसरी व्यापार? एकदिन देखियो, तिमी हामीका राम्रा र बाक्ला पर्दाहरु झिकिएका थिए। मद्यपानका लागि उपयोगी बाक्ला पर्दाहरुले ल्याउने अँध्यारोलाई हटाएर त्यो प्रशिद्ध घरमा जताततै उज्यालो देखिन थाल्यो। अब त्यहाँ अँध्यारोको कुनै रौनक थिएन। घोरिएर एउटा कुनामा बसेर गीत र कविता सोचिरहने हरिभक्त कटुवाल पनि त्यहाँ देखिन छाडे। अँध्यारोको घना रमाइलोमा पो देखिन्थे त भन्थे उनी। पर्दा हटाएको उज्यालो उनका लागि के काम?’

भोजपुरमा जन्मिएका उनी ७५ वर्षको उमेरमा पनि लेखनमा सक्रिय छन्। हातैले लेख्छन्। अध्ययन पनि जारी छ। अध्ययनमा नयाँ आयाम पनि थपिएको छ, युट्युब। सिनेमाहरु पनि उत्तिकै हेर्छन्। यो उमेरमा उनको सकृयता लोभलाग्दो छ। बिहान बेलुका पैदल यात्रा जारी छ। अन्य साहित्यकारसँग बानेस्वरको एउटा‘कामरेड’को चियापसलमा नियमितजसो भलाकुसारी पनि हुनेगर्छ। उमेर चढ्दै गइरहेकाहरुलाई उनको यो ऊर्जा प्रेरणादायी बन्न सक्छ।

उनले दुइवटा कालजयी उपन्यास सहलेखन पनि गरे – ‘आकाश विभाजित छ’ र ‘अवतार विघटन’। २०४५ सालमा बजारमा आएको ‘अवतार विघटन’ यस लेखकले १६ वर्षको उमेरमा पढ्न भ्याएको थियो। यसका लेखक १२ जना। त्यति बिघ्न लेखकले कसरी एकसाथएउटा गहन उपन्यास लेखे होला भनेर त्यतिबेला म छक्क परेको थिएँ।‘अवतार विघटन’ फेरि पढ्ने मनसाय छ। एक पटक फेरि नपढी हाल त्यसबारे म केही पनि लेख्न असमर्थ छु। बजारमा अहिलेसम्म फेला पर्न सकेको छैन त्यो।

'साकार बा'लाई सोधियो, ‘त्यो बृहत सहलेखन कसरी संभव हुनपुग्यो ? अवतार विघटनको पृष्ठभूमि के थियो?’

उनले विगतमा छलाङ लगाए, ‘त्यतिबेला दश जना भारतीय लेखकले सहलेखन गरेको ‘ग्यारह सपनों का देश’ भन्ने हिन्दी पुस्तकले हाम्रो ध्यानाकर्षण गर्‍यो। यसै उपन्यासले हामीलाई अवतार विघटन लेख्न प्रेरित गर्‍यो।’

+‌++

‘शैलेन्द्र साकारका कविता’ (२०३६),‘कोलाज कथा’ (२०३६), ‘कालपात्र र अरु कथा’ (२०४२),‘ सर्पहरु गीत सुन्दैनन्’ (२०४७), ‘रामायण र अरु कथा’ (२०५६),‘ नांगो तार, लामो कविता’ (२०५९), ‘कवितामा अमेरिका’ (२०६०), ‘अमेरिका नियात्रा र कविता’ (२०६०) र हालै प्रकाशित ‘भोजपुरे हुलाकीका सन्तान’ जस्ता उल्लेख्य कृति लेखेर नेपाली साहित्यमा उल्लेख्य योगदान पुर्‍याएका यी साहित्यकारलाई भटाभट केही प्रश्न सोधियो,

नेपाली युवा पुस्ताका लेखकहरुसँग चिनजान छ कि छैन?

'धेरैसँग सम्पर्क छ मेरो। मलाई भेट्न आइरहन्छन् मान्छेहरु तपाईं जस्तै।'

पढौंपढौं लाग्ने लेखकहरु छन् कि छैनन अहिले बजारमा?

पहिला धेरै आइराख्ने ‘फिरफिरे’का लेखक बुद्धिसागर अहिले निकै ठूला मान्छे भएछन्। आउनै छाडे। बुद्धिसागरलाई हामीले धेरै नै सहयोग गरेका थियौँ। मलाई उसको लेखनशैली मनपर्छ। तर आजकल ठूलो मान्छे भएछ। लेख्नै छाड्यो। उसलाई खानलाउन पुगेछ, अब किन लेख्थ्यो?

थप युवा सहित्यकारको नाम लिनुपर्दा?

मलाई कुमार नगरकोटी पनि राम्रो लाग्छ। पहिलेपहिले मनपर्ने कविहरुको नाम लिनुपर्दा उनी मेरो पनि नाम लिन्थे। म पनि राम्रो चिन्छु उनलाई। तर अहिले आफैँ ठूलो लेखक भइसकेपछि त्यसरी मेरो नाम लिन छाडेका छन्। त्यसो त, मलाई विप्लव ढकाल पनि मन पर्छ। श्रवण मुकारुङ पनि राम्रै लेख्छन्। पहिला ऊ धेरै ‘सिरियस’ कवि थियो अहिले अलिक प्रचारमुखी भएछ।

विभिन्न पुरस्कारले ‘सुशोभित’ पुस्तकहरु पनि बजारमा प्रसस्तै छन्। त्यस्ता पुस्तकहरु मिडियामा पनि छाइरहेका हुन्छन्। पढौँपढौँ लाग्दैन ?

त्यस्तो मलाई केही पनि लाग्दैन। यहाँ ऐतिहासिक दस्तावेजले पनि साहित्यिक पुरस्कार पाएका छन्। ऐतिहासिक दस्तावेज साहित्य हो र? पुरस्कार यहाँ लगनशील लेखकलाई होइन, मुसाहरुलाई दिइन्छ। पुरस्कारको के कुरा गर्नु ?

भनेपछि ‘पीएचडी थेसिस’हरुले पनि साहित्यिक पुरस्कार पाउन थाले यहाँ?

हो, त्यस्तै लाग्छ।

मौलिक कृति खोइ? नेपाली साहित्यमा अब मौलिक कृति लेख्नै छाडिएको हो त?पछिल्ला दशकमा त्यस्तो कुनै उल्लेखनीय मौलिक कृति बजारमा आएको छैन त?

आएका छन् नि। नयनराज पाण्डेका पुस्तकहरु छन्। बुद्धिसागरकै‘फिरफिरे’ पनि राम्रै छ। कुमार नगरकोटीले पनि नयाँ तरिकाले लेखिरहेको छ। श्रवण मुकारुङ प्रचारमुखी भए पनि राम्रै लेखिरहेका छन्।

+++

उनले लेख्ने तेजधार कविता जस्तै साकारको बोली पनि खरो लागिरहेको थियो। यिनका प्रायः सबै कवितामा चेतना उच्चगतिमा बगिरहेको प्रतीत हुन्छ। अत्यधिक बिद्रोह, मुलुकको परिवेशको मिहिन चित्रण, अन्याय अत्याचार बिरुद्धको खरो आवाज, सत्ता उपर झापड र व्यंग्यउनका कविता–तत्व हुन्। उनकै भाषामा बलियो कविता लेख्न अध्ययन पनि बलियै चाहिन्छ।

अब म उनको अर्को भयानक कविता वाचन गर्न ताम्सिएँ,

टुहुरा राहुलहरु

खोजिरहेछन् नयाँ बुद्धहरु

देश बिर्सेकाहरुले, हराएकाहरुले

देश खोजे जस्तै

आमाको गर्भमा बास पाउन नसकेका

मानिस हुन आतुर भ्रुणहरु

बुद्ध खोजिरहेछन्

शायद नयाँ विश्वको लागि

नयाँ बुद्ध !

+++

लामो समय कृषि विकास बैंकमा जागिरे भएर काम गरेका शैलेन्द्र साकार पूर्व राजा ज्ञानेन्द्र शाहका पालामा साझा प्रकाशनको अध्यक्ष समेत भए। तर त्यहाँ उनको अनुभव त्यति स्वादिलो रहेन। त्यहाँ राजनीतिक दलका कार्यकर्ताहरुको हालिमुहाली थियो र उनीहरु त्यहाँ मस्त जागिर खाइरहेका थिए। साकारको आगमन त्यस्ता मान्छेहरुलाई मन परिरहेको थिएन। साझा प्रकाशनको हालत खस्ता भएको थियो। अझै पनि मूर्धन्य साहित्यकारका कालजयी कृतिहरु ऊ ‘न्यूजप्रिन्ट’मै निकाल्ने गर्छ। अब साझा प्रकाशन साझा बस झैँ बन्द हुन मात्रै बाँकी रहे जस्तो लाग्छ।

साकार सुनाउँछन्, ‘हामीले लेख्नेबेलामा साझा ठिकै थियो। मेरै पनि धेरै किताब साझा प्रकाशनले छापेको छ। सस्तोमा छापेको भएको हुँदा अहिले खुइलिएर कस्तो भइसक्यो। उसले छापेका किताब निकै कमसल छन्। छोयो कि च्यातिन्छ।’

‘तपाईंले केही सुधार ल्याउनु भएन?’ प्रश्न स्वतः उब्जिएको थियो।

जवाफ आयो, ‘कामै गर्न पाइएन। म त्यस बेला केही समय अमेरिका बसेर आएको थिएँ। घरमा सुतेरै बस्थेँ। एकदिन अचानक साझा प्रकाशनको डीजीएमको नरबहादुर गुरुङको फोन आयो। तपाईंलाई मन्त्रीज्यूले खोजिरहेका छन्। म लिन आउँछु तपाईंलाई। एकपटक कृषि मन्त्रीकहाँ जाउँ भन्नुभयो। को छ मन्त्री? भनेर भनेर सोधेँ। उनले भने, केशरबहादुर बिष्ट हुनुहुन्छ। ए म चिन्छु भनेँ। गएँ। गएपछि बिष्टजीले भने, तपाईं कहाँ हराइरा’? म मन्त्री भइसकेँ। साझामा अध्यक्ष चाहिएको छ। डिजिएमले पनि तपाईंलाई सिफारिस गरेका रहेछन्। केदारमान व्यथितजीकी छोरीको बिहेमा बिष्टजी र मैले लुकेर लोकल रक्सी खाएको थियौँ। नेवारी रक्सी। उसलाई त्यो सम्झना रहेछ। एकछिन रमाइलो पनि भयो।साझा प्रकाशनसँग मेरो पुरानै साइनो थियो। त्यसैले नाईं भन्न सकिएन। केही नयाँ गर्न सकिन्छ कि भन्ने लागेको थियो। तर राजनीतिले नराम्रोसँग गाँजिएको रहेछ साझा प्रकाशन। जतापनि आफ्ना मान्छे घुसाइहाल्दा रहेछन्। म चार वर्षका लागि नियुक्त भएको थिएँ। चार महिनामा छोडियो। राजाको विरोधीहरु सल्बलाउन थालिहाले। कांग्रेस, कम्युनिस्ट र माओवादी भन्न थाले। काम गर्ने वातावरण नै रहेन। फेरि घर गएर सुतेँ। साझामा कसैले केही गर्नै नपर्ने। बसीबसी खाने। त्यति सानो संस्थामा पनि चौध जना फस्टक्लास विभागीय प्रमुख थिए। त्यहाँ चारसय पाँचसय जना त जागिरे मात्रै। तपाईंलाई अब एउटा कथा भन्छु।’

केहीबेर मौन रहेर चियाको चुस्कि पिएर उनले साहित्यकार इन्द्रबहादुर राईको साझा प्रकाशनसँग सम्बन्धित एउटा कथा सुनाए। भएछ के भने, दार्जिलिंगबाट इन्द्रबहादुर राई साझा प्रकाशन हेर्न आएका रहेछन्।तर उनलाई चिन्ने मान्छे त्यहाँ नभएका कारण बरिष्ठ साहित्यकार राइमाथि दुर्व्यवहार पनि भएछ। मने, साझा प्रकाशनमा सबै राजनीतिक कार्यकर्ता नियुक्त भएका कारण उनीहरुले इन्द्रबहादुर राइलाई किन चिन्नु?

+++

अग्रज साहित्यकारलाई अब फेरि केही फटाफट प्रश्न :

कसरी बित्छ दिन आजकाल?

पढ्छु। लेख्छु।

आजकल कुनकुन पुस्तक पढिरहनुभएको छ?

नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको ‘आजका नेपाली कविता’। रबिन्द्रनाथ ठाकुरको ‘गीताञ्जली’। कैलाश वाजपेयीको ‘महास्वप्न का मध्यान्तर’ र इभा फिग्सको ‘घोस्ट्स’।

निद्रा कत्तिको लाग्छ ?

निन्द्रा कम लाग्छ। प्रोस्टेटको अलिक समस्या छ। त्यस बाहेक केही पनि समस्या छैन। त्यसो त प्रोस्टेट अफ्रिकामा अपरेशन गरेपछि ठिक भइसक्यो। तर पिसाबचाँहि अलिक बढी नै लाग्छ । चियापानी बढी खानै हुँदैन।

बिहान कतिबजे उठ्नु हुन्छ?

साढे चार, पाँच बजे उठ्छु।

उठेर के गर्नुहुन्छ?

योग गर्छु। मैले विभिन्न योगासनहरु हेरेर आफ्नै लागि योग बनाएको छु। एक घण्टाजति गर्छु। त्यसपछि वाग्मतीको किनारै किनार घुम्न हिँड्छु। ध्रुव सापकोटा र म जान्छौँ। पहिला ५ बजे जान्थ्यौं। अहिले ६ बजे जाने गरेका छौँ।

पहिला जस्तो सहज छैन होला काठमाडौंको प्रभातफेरि?

ठिकै छ, खोलैखोलाको बाटो जाँदा। नयाँ बानेश्वर पुगेर आउन खासै सकस छैन। रमाइलै हुन्छ। त्यहाँ एउटा पसलमा चिया खाएर मनग्ये गफ गर्छौं।

कुन पसलमा?

एकजना‘कामरेड’ले पसल खोलेका छन्। भक्तपुरको मान्छे रहेछन्। उसको छोरालाइ ‘माओवादी’ भनेर सैनिकले मारेको रहेछ। त्यसैको क्षतिपूर्तिस्वरुप उसलाई केही पैसा दिएर बानेश्वरमा पसल खोलिदिएका रहेछन्। ऊ फेरि माओवादीमा आवद्ध पनि रहेछ। जे होस्, मान्छे वेश छ।

घुमेर आएपछि के गर्नुहुन्छ?

खाना खाएपछि युट्युब हेर्छु। नेपाली कार्यक्रमहरु हेर्छु। मलाई डा. सुरेन्द्र केसीको कुरा मन पर्छ। उनको खुब राम्रो पनि लाग्छ। र, नेता र मन्त्रीलाई पनि गाली गर्छ। राम्रो भिडियो रहेछ भने लाइक पनि ठोकिदिन्छु। मन लाग्यो भने अमेरिकातिर ती भिडियोहरु पठाइ पनि दिन्छु। दिउँसो एकछिन सुत्छु। उठेर एक ग्लास कागती पानी खान्छु। त्यसपछि श्रीमतीले केही फर्सीको बियाँ लगायतका खानेकुराहरु ल्याइदिन्छिन्। खान्छु। कहिलेकाहिँ सन्ध्या यात्रामा पनि हिँडिन्छ।

बेलुका कति बजेसम्म बस्नुहुन्छ?

बेलुका म दश बजेसम्म टेलिभिजन हेर्छु। अनि आफ्नो कोठामा गएर एक्लै लेखपढ गर्छु। अनि सुत्छु।

मनमा कुरा खेल्छन् कि खेल्दैनन्?

त्यत्ति खेल्दैनन्।

लेखेर ‘रिलिज’ हुन्छ होला?

लेख्यो भने धेरै निकास हुन्छ।

तपाईं त रक्सीको पारखी। आजकल कत्तिको लिनुहुन्छ?

शुक्रबार चाहिँ नखाइ हुँदैन। कि रक्सी खान्छु कि त वाइन।

कति पेग?

२ पेग।

पहिला त उधुम खानुहुन्थ्यो होइन?

हो, पहिला धेरै खान्थेँ। सीमा नै छैन। नलाग्ने गरी त कहिल्यै खाएको याद नै छैन। फरक के भने, जवानीमा साथीहरु सँग खाइन्थ्यो। अहिले श्रीमतीसँग खान्छु। रक्सी अहिले निकै कम गरेको। केही वर्षअघि चुरोट पनि छाडिदिएँ।

के रहेछ यो रक्सी र चुरोटको राज?

पहिले पहिले कविहरुले खानुपर्छ भन्ने थियो नि। त्यही भएर खाइयो। तर, सृजनामा त्यसले केही अर्थ राख्दैन। त्यसले प्रतिभा प्रष्फुटन हुन्छ भन्छन् नि, त्यो म मान्दिन। साथीभाइसँग यसो रमाइलो मात्रै हो।

कोदोको रक्सी खाने गर्नुहुन्छ, हो?

पहिले पहिले चाहिँ कोदोको खुब खान्थेँ। अहिले ‘रोयल स्टाग’ खान्छु।

राम्रै छ यो रक्सी?

राम्रो छ। पानीचाहिँ मिसाउनै पर्छ। एक बोतल ल्यायो भने मलाई ७ हप्ता पुग्छ।

हप्तामा एक दिन रक्सी खाँदा आजकल के ‘फिलिङ्ग’ आउँछ?

निन्द्रा लाग्छ। खाने। सुत्ने।

जवानीमा रक्सी खाएर अराजक हुनुभयो?

मातेर होस्टलमा कति झगडा पनि गरियो। पहिलेका युवा अलिक बढी नै बिद्रोही थिए नि त।

नशापानबारे युवा पुस्तालाई केही सन्देश?

नशा बेकार चिज हो। कुनै पनि नशा बेकार हो। अहिले रक्सीभन्दा गाँजा राम्रो भनेर आएको छ। ऊ बेलामा चाहिँ मानसिक काम गर्नेले गाँजा खानुपर्ने र शारीरिक काम गर्नेले रक्सी खानुपर्ने भन्थे क्या। त्यो बेलामा यो कुरा हो जस्तो पनि लाग्थ्यो। मैले गाँजा पनि खाएँ। तर, प्रतिभाका लागि कुनै पनि नशा आवश्यक छैन।

+++

कविता लेख्नु नांगो तार समात्नु जस्तै हो भन्ठान्ने अग्र ज साहित्यकारलाई अन्त्यमा सोधियो, ‘अब फेरि एउटा उपन्यास सहलेखन गर्ने अफर आयो भने तयार हुनुहुन्छ?’

उत्साही जवाफ उनको, ‘तयार छु। पुरानो वा नयाँ जुनसुकै लेखकहरुसँग म सहकार्य गर्न तयार छु। नयाँ पुस्ताले पनि मलाइ मनपराए जस्तो लाग्छ। कुनै पनि पुस्तासँग मिल्न सक्ने हुनुपर्छ। यसमा गाह्रो के नै छ र?’

हाललाई बिल्कूलै अन्तिम प्रश्न, ‘गरौँ त फेरि एउटा उपन्यास सहलेखन?’

जवाफ ‘हाइभोल्टेज’ थियो, ‘गरौँ। तपाईं संयोजन गर्नुहोस्। प्रकाशक पनि भेटिन्छ। उसलाइ आर्थिक नाफा हुनेगरेर कोसिस गरौँला। मबाटै शुरु गर्ने भए पनि हुन्छ।’

उनको यस् जवाफले साह्रै चित्त बुझायो। मनमा केही नौलो ‘प्लट’ फुर्‍यो, पनि। यस्तो लाग्यो, प्यासले लेख्नेहरु लेखेर कहिल्यै थाक्दैनन्। थाक्दै थाक्दैनन्।

ठानेँ, लेख्न जन्मिएकाहरु यहाँ लगातार कलम घोटेर सृजनाको सुमधुर गीत गाइरहेकै हुन्छन्। चाहे सर्पहरुले ती सुमधुर गीत सुनुन् वा नसुनून्!

लेख्नै जन्मिएका शैलेन्द्र साकारको यो बेजोड कविता गुन्गुनाउँदै मैले बिदा मागेँ र केहीबेरमै शहरको अनकण्टार भिडमा मिसिएँ।

यो भूमण्डलबाट हराएर जाने छैन

मानिसको रगतको टाटो लागेको अक्षर

सत्ताका भाटहरुले बोकेर लाने छैनन्

पुस्तकालय, म्यूजियम र संग्रहालय

अथवा संविधान।

पानीको दहमा ढुङ्गाको छाल झैँ

हराएर जाने छैन

पानीमा लेखिएको अक्षर झैँ

क्रान्तिको अनुहार

आगो हाम्रो पिठ्यूँमा छ

सम्मुख हुनेछ कुनै दिन

मलाई थाहा छैन

म कुन देशमा के खोजिरहेछु?

अमेरिकामा एशियन भएर खोज्नुपर्ने

काम कि स्वतन्त्र उन्मुक्त सास

कि गर्नुपर्ने डलर परिश्रम

देश बिर्सेर खानुपर्ने आफ्नो अङ्ग?

कि देश बिर्सेर मनाउनुपर्ने आफ्नै शरीर पतनको उत्सव?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell