PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अन्त्येष्टि गर्दै गर्दा नियन्त्रणमा लिइएको युवतीको शव काठमाडौं पठाइयो, गाउँपालिका अध्यक्ष जालिम मियाँको परिवार पक्राउ



राधेश्याम पटेल

अन्त्येष्टि गर्दै गर्दा नियन्त्रणमा लिइएको युवतीको शव काठमाडौं पठाइयो, गाउँपालिका अध्यक्ष जालिम मियाँको परिवार पक्राउ

वीरगंज : पर्सा प्रहरीले वीरगंज-१२ मुर्ली नवकाटोलमा रहेको कब्रिस्तानबाट बिहीवार साँझ नियन्त्रणमा लिएको एक युवतीको शव परीक्षणका लागि काठमाडौं पठाएको छ। युवतीको मृत्यु शंकास्पद देखिएको र सोही अनुसारको सूचना पाएको कारण नारायणी अस्पताल वीरगंजमा परीक्षण नगरी शिक्षण अस्पताल महाराजगंज पठाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

उनले बिहार पश्चिमी चम्पारण इनर्वा थाना खमिया निवासी १८ वर्षीया युवती जयुनत खातुनको अन्तिम संस्कार वीरगंजमा हुन लागेको र अन्त्येष्टिमा परिवारका सदस्य मात्रको सहभागिता रहेको सूचनाको आधारमा घटना शंकास्पद देखिएपछि शव बरामद गरिएको जानकारी दिए। अन्त्येष्टिमा सहभागी चार जनालाई नियन्त्रणमा लिएर सोधपूछ भइरहेको पर्सा प्रहरीले जनाएको छ।

युवतीको मृत्यु कालगतिले नभएको र सो कर्तुत लुकाउने अभिप्रायले परिवारका सदस्यहरूले गुपचुप अन्तिम संस्कार गर्न खोजेको प्रहरीको आशंका छ। मृतक युवती जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको परिवारसँग सम्बन्धित रहेको पाइएको छ।

अध्यक्ष मियाँका नाति, मृतककी आमा, बुबासहित केहीलाई प्रहरीले नियन्त्रणमा राखेको छ। मृतक युवती खातुन जगरनाथपुर गाउँपालिकाका अध्यक्ष मियाँका कान्छा छोरा जाकिर मियाँ धुनियाकी सहोदर साली हुन्‌।

उनी केही समयदेखि आफ्नी दिदीको घरमा बस्दै आएकी बुझिएको छ। जयुनत जबरजस्ती करणीको शिकार भएकी र अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मृतक युवतीको घाँटीमा नीलडाम पनि छ। सोही कारण शवको प्रकृति शंकास्पद देखिएको प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले बताए।

कब्रिस्तान उनको घरभन्दा सय मिटर पूर्व भएकोले धेरै समस्या नहुने भएर गाउँबाट वीरगंज शव एम्बुलेन्समा राखेर ल्याइएको थियो। यसबारे गाउँपालिका अध्यक्ष जालिम मियाँसँग बुझ्दा उनले प्रहरीको दावीमा कुनै सत्यता नरहेको दावी गरे।

मृतकका आमा र बुबा प्रहरीको नियन्त्रणमा छन्‌। उनीहरूले नै सत्यतथ्य बताउने गाउँपालिका अध्यक्ष मियाँले बताए।

घरमा झुन्डिन लाग्दा मृतकको आमाले देखेपछि उपचारको लागि वीरगंज ल्याउँदा बाटोमा मृत्यु भएको र गाउँ टाढा पर्ने भएकोले वीरगंजमा अन्तिम संस्कार गर्न लागेको उनले प्रष्ट्याए। अध्यक्ष मियाँले मृतकको मानसिक स्थिति ठीक नरहेको बताएका छन्‌। घटनाका मुख्य आरोपी जाकिर मियाँ अहिले फरार छन्‌।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell