PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रमोद निर्वाणको त्यो गीत जसले दसैंमा बोल्छ गरिबीको वेदना



लक्ष्मी बलायर

प्रमोद निर्वाणको त्यो गीत जसले दसैंमा बोल्छ गरिबीको वेदना

दसैं आयो भन्दा भन्दै, दशा ल्यायो

दसैं आयो भन्दा भन्दै, दशा ल्यायो

सररर रोटेपिङैमा

अझै छन् बरिलै साहुको ऋणमा

दसैंको माहोल छ। दसैं आउँदा हुने खानेहरु रमाइलो गरिरहेका हुन्छन्। तर गरिब परिवारलाई भने एक छाक टार्नसमेत गाह्रो हुन्छ। बाढिपहिरोले खेतिपाती नष्ट गर्दाको पीडा। जसमाथि थपिने साहुको ऋण। जसकारण त्यो गरिब परिवारको सदस्यले दसैंलाई दशा भनि सोच्छ। दसैं आउँदा उसलाई झन दुखी बनाउछ। तर अन्त्यमा त्यो गरिबले जे छ त्यसैमा खुसी हुने कोसिस गर्छ। किनकी उसँग अरु विकल्प नै हुँदैन। दसैंमा ठुलाबडाबाट टीका लगाउन पाउँदाको खुसी र आर्शीवाद नै ठुलो हो भन्ने सोच्छ। अनि आफूसँग जे छ त्यसैमा रमाउछ पनि। जुन कथा हो दसैंविशेष गीत 'दसैं आयो भन्दा भन्दै दशा ल्यायो' को। 

यो 'दसैं' बोलको गीत 'निर्वाण म्युजिक ब्यान्ड एण्ड लिंक' को हो। करिब १२ वर्षअघिको यस गीतले दसैंको छेकोमा एक गरिब परिवारको सोच्ने पीडा बोकेको छ। यो गीतको शब्द लेखेका हुन् गायक प्रमोद निर्वाणले। साथै गीतमा स्वर र संगीत समेत प्रमोदको नै छ।

विसं २०६६ साल ताका। 'निर्वाण म्युजिक ब्यान्ड एण्ड लिंक' ब्यान्ड चर्चाको उचाईमा थियो। किनकी ब्यान्डबाट 'किन यसरी' र 'जब तारा गनेर'  गीतहरु आइसकेका थिए। जुन गीतहरु निकै हिट थिए।

बालुवाटारस्थित घरमा प्रमोद आराम गरिरहेका थिए। मोटरसाइकल दुर्घटनामा परेर उनको खुट्टा भाँचिएको रहेछ। जसकारण पाएको खाली समय। अब यो खाली समयमा के गर्ने होला भनि सोच्न थालेछन् उनी। एकदिन उनको दिमागमा दसैं शब्द फुरेछ। दसैं के रहेछ भनेर उनी सोच्न थालेछन्। निष्कर्षमा पैसा हुँदा पो दसैं हो, पैसा नहुँदा दशा हो लागेछ। उनले त्यो भावलाई कोर्न थाले। अनि बन्यो 'दसैं आयो भन्दा भन्दै दशा ल्यायो' गीत।

विशेषगरि पुराना पुराना मान्छेहरुको दु:ख सम्झेर र गाउँको दसैंलाई सम्झेर यो गीतको शब्द कोरेको बताउँछन् प्रमोद। यो गीतले पैसावालाको पो दसैं छ, पैसा नहुनेलाई त दसैंमा पिडा छ भन्ने भाव देखाएको छ। गीतमा टिपिकल गाउँमा बस्ने गरिब मानिसको कहानी देखाइएको छ। जुन गीतलाई धेरैले रुचाउनु भएको समेत उनले बताए।

कोरोना महामारीका हरेक क्षेत्रलाई थला पारेको छ। यो भाइरसकै कारण धेरैले आफन्तहरु घुमाउन पुगे। केहीको त रोजीरोटीसमेत खोसिदिएको छ। जसकारण दसैंमा पहिलेजस्तो रौनक नहुन सक्छ। दसैं दशा भन्ने गीत गाएता पनि दसैंलाई दशाको रुपमा नलिन उनले आग्रह गरे।

कोरोनाकै कारण दसैंलाई दशा नसोच्नुपर्ने उनको भनाई छ। भन्छन्, 'मानिसहरुको जीवनमा उतारचढाव आउँछन् तर आफैँले झेल्नुपर्छ। जहाँ हुनुहुन्छ मन खुसी भएर दसैं मनाउनुहोला। अहिलेको दसैं खासै रमाइलो छैन। तर दशाको रुपमा भने नलिनुहोला।'

प्रमोद आन्तरिक मनको शान्तिको नै वास्तविक दसैं मान्छन्। 'घरमा सबैको मन खुसी छ भने ढिडो खाएपनि आनन्द मिल्छ। अरुसँग तुलना गर्दा दसैं दुखलाग्दो हुन्छ। त्यसैले आफूसँग जे छ त्यसैमा खुसी हुनुपर्छ,' उनल भने।

गीतको अहिलेसम्म भिडियो भने बनेको छैन। पहिले अडियोमै गीत हिट हुने भएकाले भिडियो बनाउन आवश्यक नभएकाले भिडियो नबनाएको उनले बताए। अडियोमा नै यो दसैंविशेष गीतलाई निकै रुचाइएको प्रमोदले दाबी गरे।

यो दसैंको गीत सुनेपछि उनका साथीहरुले दसैंको अरु गीत नि बनाउन आग्रह गरेका रहेछन्। दसैंको रमाइलो गीत निकाल्न उनलाई साथीहरुले सुझाउँछन् पनि। अर्को वर्षसम्म दसैंको रमाइलो खाले गीत बनाउने योजना रहेको सुनाए उनले।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell