PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मान्छेको ज्यान लिने पासो महँगोमा बिक्ने भन्दै महिलाको हत्या! ऐनामा डोरी देखिएपछि भएका थिए फरार...



सविन ढकाल

मान्छेको ज्यान लिने पासो महँगोमा बिक्ने भन्दै महिलाको हत्या! ऐनामा डोरी देखिएपछि भएका थिए फरार...

काठमाडौं : पासो लागेको डोरी महँगोमा बिक्री हुने भन्दै तीन युवाले एक महिलाको हत्या गरेका छन्। तन्त्र साधना गर्नेलाई पासो लगाइएको डोरी महँगोमा बेच्न पाउने लोभमा उनीहरुले ४५ वर्षीया कमला तामाङको हत्या गरेको प्रहरीले जनाएको छ।

'यस्तो डोरी मूल्यवान हुने र महँगोमा बेच्न पाउने भन्दै हत्या भएको देखिन्छ,' महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पङ्गेनीले भने, 'अन्धविश्वासले हत्यासम्मको स्थिति बनाएको देखियो।' 

भदौ २५ गते बिहान प्रहरीले बेलकोटगढी नगरपालिका बस्ने कमलाको शव ललितपुरको सुनाकोठीमा भेटेको थियो। घाँटी कसेर हत्या भएको देखिएपछि महानगरीय प्रहरी महाशाखा र प्रहरी बिट चापागाउँले घटनाको अनुसन्धान थालेको थियो।

डोरीले कसेर हत्या गर्ने र त्यो डोरी महँगोमा बेच्ने योजनासहित तीन जनाले कमलाको ज्यान लिएको प्रहरीको दावी छ। प्रहरीले आज अभियुक्तहरु २३ वर्षीय सविन प्रजा, उनकी १८ वर्षीया श्रीमती सविना प्रजा माझी र २० वर्षीय सुमन मगरलाई सार्वजनिक गरेको हो। 

तान्त्रिक विद्याका लागि यस्तो डोरी बहुमुल्य हुने भन्दै उनीहरु २४ गते नै चिनजानमा रहेकी कमलाकहाँ पुगेका थिए। उनीहरुले सँगै खाना खाएका थिए। राति कमलाको हत्या गरेको प्रहरीले जनाएको छ। उनीहरुले कमलाको हत्या गरेपछि नुवाइधुवाइ गरेर डोरीलाई ऐना अगाडि देखाएका थिए। घाटी कसिएको डोरी ऐनमा देखाउँदा नदेखिने सुनेका उनीहरुले - हत्यापछि परीक्षण गर्नका लागि डोरी ऐनासामु देखाएका थिए।

तर, उनीहरुको योजना विफल बन्यो किनकि ऐनामा डोरी दुरुस्तै देखियो। हत्या गर्ने डोरीमा शक्ति हुने र ऐनामा नदेखिने अन्धविश्वास फेल खायो। त्यसपछि उनीहरु डोरी नजिकैको इनारमा फ्याँकेर फरार भएका थिए।  

योजनावद्ध रुपमा हत्या गरेपछि कमलाले लगाएका गहना र उनको मोबाइल समेत उनीहरुले लिएर गएका थिए। 'कुरिती र अन्धविश्वासमा परेर हत्या गरेको देखियो,' एसपी पङ्गेनीले भने। मजदुरी गर्दै आएका उनीहरु सँगसँगै काम गर्थे। कमलाले आफूँसँग काम गर्ने साथीहरु आएपछि खान खुवाएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell