PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विधान महाधिवेशनका हिसाबले जाँदा हामी ध्वस्त भइसक्यौँ, विवादित विषयमा पछि छलफल गर्ने ओलीसँग सहमति भएको छ : घनश्याम भुसाल



पहिलोपोस्ट

विधान महाधिवेशनका हिसाबले जाँदा हामी ध्वस्त भइसक्यौँ, विवादित विषयमा पछि छलफल गर्ने ओलीसँग सहमति भएको छ : घनश्याम भुसाल

काठमाडौं : नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले विधान महाधिवेशनले गरेको निर्णयका बारेमा छलफल गर्ने सहमति भएको बताएका छन्। काठमाडौंमा आयोजित पत्रकारसँग भेटघाट कार्यक्रममा भुसालले विधान महाधिवेशनभन्दा पहिला बसेको स्थायी कमिटीको बैठकमा विवादित विषयलाई पछि छलफल गर्ने सहमति भएको बताए।

उनले मंसिरमा हुने एमालेको १० औँ महाधिवेशनमा विधान महाधिवेशनले गरेका निर्णय संशोधन गर्न सकिने भएकाले आफूले फरक मत नराखेको बताए।

उनले भने, ‘विधान महाधिवेशनमा भएका निर्णयमा हामी छलफल गर्छौँ भनेर स्थायी कमिटीमा सहमति भएको छ। निर्णय करेक्सन गर्छौँ।’

पार्टी विभाजित भइसकेको अवस्थामा निराश भएका कार्यकर्ता माझ विवादित विषय प्रस्तुत गर्नु सान्दर्भिक नभएकाले विधान महाधिवेशनमा आफ्ना मतहरु नराखेको उनको प्रष्टिकरण थियो। अहिले पनि अध्यक्ष केपी शर्मा ओलीले दाबी गर्दै आएको प्रतिनिधिसभा विघटन परिस्थितिको उपज भन्ने पक्षमा आफू नरहेको उनले बताए।

पार्टीमा चुनावदेखि चुनावसम्म र विद्रोहदेखि विद्रोहसम्म जाने परिपाटी भएको भुसालको भनाइ छ। समाजवादको कार्यदिशा नबने नेपालको राजनीति गोलचक्करमा फसिरहने उनको चेतावनी छ।

विधान महाधिवेशनमा ओलीले दलाल पुँजीवादको बारेमा व्याख्या गर्नु राम्रो पक्ष भएको भुसालको भनाइ छ। जनताको बहुदलीय जनवाद (जबज) अहिले सान्दर्भिक नभएको र अब समाजवादी यात्रा तय गर्नुपर्ने उनको मत छ।

‘दलाल पुँजीवादलाई हामीले सत्ताको भर्‍याङ मात्र बनायौँ। एमाले लोकतान्त्रिक परिपाटी भएको पार्टी हो। विधान महाधिवेशनका हिसाबले जाने हो भने हामी ध्वस्त भइसक्यौँ। व्यक्तिदेखि व्यक्तिसम्म गएको किन भने संस्थागत जीवन ध्वस्त भइसक्यो,’ उनले भने।

उनले आफूले तत्कालीन नेकपा (एमाले)का वरिष्ठ नेता तथा हाल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई छाडेको भन्ने भनाइ गलत भएको बताए।

‘माधव नेपाल वैचारिक बहसमा जान मन गर्नु भएन, उहाँले आँट भए हुन्छ भन्नु भो। हामी कार्यक्रम बनाएर लैजानुपर्छ भन्ने पक्षमा थियौँ। हामीले छोडेको होइन, छोडेको माधव नेपाल हो,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell