PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एमाले वाग्मती प्रदेशका सचेतक निरौलाको गठबन्धनलाई प्रश्न : तपाईहरुको मुख्यमन्त्री को हो?



एमाले वाग्मती प्रदेशका सचेतक निरौलाको गठबन्धनलाई प्रश्न : तपाईहरुको मुख्यमन्त्री को हो?

हेटौँडा : वाग्मती प्रदेशमा विपक्षी गठबन्धनले अझै मुख्यमन्त्री टुंग्याउन सकेको छैन। नेकपा (एमाले) विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले प्रदेशमा औपचारिक मान्यता पाएर मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनै लाग्दासम्म सरकारको नेतृत्व गठबन्धनबाट कसले गर्ने भन्ने विषय टुंगो लागेको छैन।

नेपाली कांग्रेस र एकीकृत समाजवादीले वाग्मती प्रदेशको सरकार आफनो दलले नेतृत्व गर्ने भनेर आ-आफ्नै दाबी गर्दै आएका छन्। नेतृत्वबारे टुंगो लगाउन नसक्दा गठबन्धनभित्रै असमझदारी उत्पन्न भएको छ।

वाग्मती प्रदेशसभाको बैठकमा एमाले वाग्मती प्रदेशका सचेतक दीपक निरौलाले वाग्मती प्रदेशमा पटक-पटक मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई राजीनामा दिन आग्रह गरिरहँदा पहिला मुख्यमन्त्री टुंग्याएर आउन आग्रह गरेका छन्।

वाग्मती प्रदेशमा गठबन्धनको विषयमा प्रश्न उठिरहेको भन्दै उनले गठबन्धनलाई प्रश्न गरे, ‘तपाईहरुको नेता को हो? पहिला नेता टुंग्याएर आउनुस्। एक सेकेन्ड पनि हाम्रो दलको नेता सरकारको नेतृत्व गरेर बस्दैन। हामी चाहन्छौँ काम चलाउ सरकारले लामो समय काम नगरोस्, यो हाम्रो चाहाना हो।’

सोही कारणले कानुनी रुपमा एमाले अल्पमतमा नरहेको भन्दै विधि प्रकृयालाई एमालेले नमिच्ने उनले बताए।

भदौ ११ गते प्रदेशसभाको आठौँ अधिवेशन स्थगित गरिएपनि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता सिर्जना भएसँगै आज दिउँसो ३ बजेका लागि प्रदेशसभाको नवौँ अधिवेशन बोलाइएको थियो। भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्रीको रुपमा शाक्यले सपथ ग्रहण गरेकी थिइन्।

उनी उपाध्यक्ष रहेको दल नेकपा (एमाले) विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएसँगै मुख्यमन्त्री समक्ष सदनबाट विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता सिर्जना भएको हो। आफ्नो सत्ता लम्ब्याउन प्रदेशसभाको अधिवेशन हतारोमा स्थगित गरेपनि दल विभाजन भएको मितिले ३० दिनभित्रमा सदनबाट विश्वासको मत लिनुपर्ने बाध्यकारी कानुनका कारण मुख्यमन्त्री शाक्यले प्रदेशसभाको बैठक आह्वान गरेकी थिइन्।

मुख्यमन्त्री शाक्यले दसैँपछि मात्रै विश्वासको मत लिने भएकी छन्। आइतवार बसेको प्रदेशसभाको ९ औँ अधिवेशनको संसद् बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने भनिए पनि बैठकमा विश्वासको मतको प्रस्ताव मात्रै टेबुल भएको हो।

वाग्मती प्रदेशमा सभामुखसहित १०९ सांसद रहेका छन्। एमालेको तर्फबाट एकल बहुमतको आधारमा शाक्य मुख्यमन्त्री बनेकी थिइन्। उनी मुख्यमन्त्री भएसँगै एमाले विभाजन भएर गठन भएको एकीकृत समाजवादीमा १३ जना प्रदेश सांसदहरु गए। उनीहरुले नयाँ दल रोजेसँगै हाल प्रदेशसभामा एमालेको ४३ सांसद मात्र रहेका छन्।

सरकार टिकाउन शाक्यलाई ५५ मत आवश्यक पर्छ। जुन अन्य दलसँगको सहकार्यमा सम्भव छैन। हाल विपक्षी गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) २३, नेपाली कांग्रेस २२, एकीकृत समाजवादी १३ र जनता समाजवादी १ गरी ५९ जना सांसदले शाक्यलाई विश्वासको मत नदिने र नयाँ सरकार घोषणा गरिसकेका छन्। ३ मत रहेको विवेकशील साझा पार्टीले यो सरकारलाई विस्थापित गर्न विश्वासको मतको विपक्षमा मतदान गर्ने घोषणा गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell