सुर्खेत : अहिले पनि महिलालाई निर्णायक तहमा पुग्न फलामको चिउरा चपाउनुसरह मानिन्छ। पुरुष हावी हुँदा निर्णायक तहमा पुग्न सहज छैन।
माथिल्लो पदमा पुग्न पुरुषसँग नभिडी सुखै छैन। आँट र साहस छैन भने अधिकांश महिला भूमिकाबिहीन पदमा खुम्चिनुपर्ने बाध्यता यथावत।
यसरी पुरुषसँग भिडेर नेतृत्वमा पुग्ने महिला न्युन हुन्छन्। त्यस मध्येकी हुन् सल्यानको छत्रेश्वरी गाउँपालिकाकी सीता केसी।
नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत गाउँपालिकामा उनले पुरुषसँग सामना गरेरै निर्वाचित भइन्, गाउँपालिकाको सभापति पदमा। उनी कर्णाली प्रदेशकै एक्ली पालिका सभापति हुन् कांग्रेसमा।
कांग्रेसको केन्द्रीय नेतृत्वमा जस्तै यस गाउँपालिकामा पनि गुटगत उम्मेदवारी थियो। सीता थिइन्, प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा पक्षबाट। उनको प्रतिद्वन्द्वीका रुपमा उम्मेदवारी घोषणा गरिसकेका थिए वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट टेकबहादुर बिष्टले।
सर्वसम्मत नेतृत्व छनौटका लागि पहल नभएको होइन। सीताले आफू महिला भएकाले एक पटक अवसर दिन आग्रह गरेकी थिइन्। तर, सभापतिका दावेदार बिष्टले नछाड्ने अडान लिए। अन्तत: निर्वाचन नै गर्नुपर्यो।
असोज ९ गते भएको निर्वाचनमा सीताले ६१ मत ल्याएर सभापतिको पद आफ्नो पोल्टामा पारिन्। प्रतिद्वन्द्वी बिष्टले ४२ मत ल्याएर पराजित भए। अनि गाउँपालिकाको नेतृत्व हाँक्ने जिम्मा सिताको काँधमा पुग्यो।
‘सर्वसम्मत नेतृत्व गरौँ भनेर छलफल भएको थियो, तर, दुवैले नछोड्ने भएपछि निर्वाचन हुनपुग्यो,’ सीताले भनिन्, ‘घरपरिवार, आफन्त सबैबाट सहयोग भयो। विश्वास गरेर साथीभाइ सबैले मलाई नेतृत्व गर्ने जिम्मा दिनुभएको छ।’
पार्टी, संघ संगठनलाई सक्रिय बनाएर एकढिक्का बनाउने अठोट उनमा छ। ‘लोकतन्त्रमा निर्वाचन हुनुभनेको स्वभाविक रुपमा लिनुपर्छ, विगतमा के भयो र के थियो भन्ने कुरा भुलेर आगामी दिनमा पार्टी र संगठनलाई एकढिक्का बनाएर अघि बढाउने मेरो पहिलो काम हुन्छ,’ उनले भनिन्।
कसरी होमिइन् राजनीतिमा?
१४ वर्षको उमेरमा विवाह गरेकी सीता चुलो चौकामा सीमित थिइन्। उनका बुवा तुलसीराम भण्डारी कांग्रेसको सक्रिय राजनीतिक गर्ने। उनी कांग्रेसबाटै २०४८ सालमा गाविस उपाध्यक्ष बनेका थिए।
जसले गर्दा पनि राजनीतिप्रति बुझ्न सहज भयो उनलाई।
तर, बिहेपछि घरव्यवहार र बालबच्चाको स्याहार सुसारले फुर्सदै हुँदैनथ्यो। तैपनि उनी गाउँ समाजमा हुने छलफल, भेलामा भने सक्रिय बन्थिन्। बिहेअघि जस्तो घरबाहिर निस्केर पुरुष सरह खुलेर हिँड्न सहज भने भएन उनलाई।
गाउँ टोलमा हुने छलफल र भेलामा चित्त बुझे, नबुझेका विषयमा आफ्ना भनाई सुनाउँथिन्। त्यत्तिमात्रै होइन, महिलामाथि हुने हिंसा र विभेदका बारेमा चर्को आवाज उठाउने मध्ये उनी अग्रपङ्तिमा हुन्थिन्।
सानातिना कार्यक्रम, भेला र छलफलमा सहभागि हुँदै गर्दा सीतालाई विस्तारै राजनीतिप्रति लगाव बढ्यो। अनि उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भइन्।
‘घर व्यवहारमा व्यस्त थिएँ, कहिले काँही समय निकालेर गाउँघरमा हुने छलफल, भेलाहरु पुग्थेँ,’ उनले भनिन्, ‘यस्तै सानातिना कार्यक्रम जाने र नेता कार्यकर्तासँग भेटघाट गर्दैजाँदा राजनीतिमा सक्रिय भएँ।’
पारिवारिक राजनीतिक पृष्ठभूमि नेपाली कांग्रेस भएकाले उनी कांग्रेसमै रहेर राजनीति गर्न थालिन्। पार्टीप्रतिको लगाव र सक्रियता देखेर उनलाई नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा समेत पार्टीका अगुवा नेता कार्यकर्ताले उनलाई दमाचौर गाविसको क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन गरे।
क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भएसँगै उनको राजनीतिक यात्राले थप तीब्रता लियो। उनी जिल्ला सदस्यमा समेत निर्वाचिन बन्न पुगिन्।
उनमा देखिएको सक्षमता र नेतृत्वदायी भूमिकाले २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत पार्टीले गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारमा अघि सार्यो।
उनको प्रतिद्वन्द्वीका रुपमा नेकपा एमालेबाट बुद्ध केसी र नेकपा माओवादी केन्द्रबाट राधा शर्माले उम्मेदवारी दिएर चुनावी मैदानमा थिए। अन्तत: सीताले आफ्ना प्रतिद्वन्द्वी दुवैलाई पराजित गर्दै छत्रेश्वरी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित बनिन्।
गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित बनेकी सीतालाई राजनीतिमा लाग्न थप आत्मविश्वास र हौसला मिलेको छ। कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरिरहेको उनको भनाई छ।
श्रीमान् सहित घरपरिवार, साथीभाइ र नेताकार्यकर्ताबाट मिलेको साथ, सहयोग र हौसलाले उनी आगामी निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने योजना बनाएकी छिन्।
‘सुरुका दिनमा केही अप्ठ्याराहरु भोगियो, काम गर्दै जाँदा सिकियो, अहिले मेरो अनुभवले अध्यक्ष भएँ भने पनि सहजै चलाउन सक्छु भन्ने विश्वास जागेको छ,’ उनले भनिन्।
संघर्षविना सफल भइँदैन भन्ने कुरालाई आत्मसाथ गरेकी सीतालाई जस्तो सुकै कठिनाई र ठक्कर खाए पनि पछि हट्नु हुँदैन भन्ने हेक्का छ।
‘आफ्ना लागि संघर्ष आफैँले गर्नुपर्छ, अरुले गर्देलान् भन्नु हुँदैन,’ उनले भनिन्, ‘हिँड्दाखेरी ठेस लाग्यो भन्दैमा हिँड्न नै छोड्ने होइन, निरन्ता दियो भनेमात्रै गन्तव्यमा पुग्न सकिन्छ।’
घर व्यवहारको उस्तै जिम्मेवारी
कक्षा ८ मा पढ्दै गर्दा कलिलै उमेरमा विवाह गरिन्। माइतमा छोरी भनेर पुलपुलेकी सीता जब बिहे भयो, अनि थोपरियो घर व्यवहारको जिम्मेवारी पनि।
बुहारी भइसकेपछि घरको काम नगरी सुखै छैन। घर व्यवहारको कामले फुर्सद पनि नहुने। कति बेला पढ्ने? अनि रोकियो पढाई।
बिहे गरेको केही वर्षमै छोराछोरी जन्मिए। थप घरव्यवहारबाट उम्कन पाउने कल्पनासम्म पनि भएन। चार सन्तानको आमा बनेपछि छोराछोरीको स्याहारसुसार पालनपोषणमै बित्न थाल्यो दिन।
कसरी पढ्ने? वातावरण नै बनेन, उनलाई। ‘सानै उमेरमा बिहे भयो, बुहारी भएर आएपछि घर व्यवहारको काम, बच्चाबच्ची भएपछि त पढ्ने कुरा सपनाजस्तै भयो,’ उनले भनिन्।
विस्तारै छोराछोरी हुर्कँदै गएपछि उनलाई फेरि पढ्ने इच्छा जाग्यो। कहिले काहीँ ७०/८० वर्षकाले पनि पढ्छन् भन्ने सुनेको हुँदा थप पढाईलाई निरन्ता दिने हौसला मिल्यो। बिहेपछि पढाई छोडेको झण्डै डेढ दशकपछि फेरि उनले कक्षा आठमा भर्ना भएर आफ्नो पढाईलाई निरन्तरता दिन थालिन्।
२०६० सालमा स्थानीय विद्यालयबाटै एसएलसी पनि उत्तीर्ण गरिन् उनले। त्यतसमात्रै होइन, कक्षा १२ पनि पास गरिन्। त्यसो भन्दा अगाडिको पढाई भने छोड्नुपर्ने बाध्यता आइलाग्यो। कारण थियो छोराछोरी र आफू पढ्ने भएपछि पढाई खर्च धान्न मुश्किल। त्यसपछि लाग्यो उनको पढाईमा ब्रेक।
त्यतिबेला श्रीमान् नेपबहादुर रोजगारीका लागि विदेशमा थिए। घर व्यवहारदेखि छोराछोरीको हेरचाह गर्नुपर्ने जिम्मेवारी बोकेकी सीताको पढ्ने धोको फेरि अधुरै रह्यो।
अहिले भने चारै छोराछोरीको बिहेवारी भइसकेको छ। गाउँपालिकाको उपाध्यक्ष भएपछि श्रीमानले घर व्यवहार धान्दै आएका छन्।
‘अहिले छोराछोरी सबैको बिहेवारी भइसक्यो, श्रीमानले घर व्यवहार हेर्नुहुन्छ, आफु जहाँ जतिबेला भए पनि पुग्न सजिलो भएको छ,’ उनले भनिन्।