PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अभियुक्तको 'इजी टार्गेट'मा पारिन् पातली : अन्धविश्वासले बन्यो यस्तो योजना, अनि लिए ज्यान



पहिलोपोस्ट

अभियुक्तको 'इजी टार्गेट'मा पारिन् पातली : अन्धविश्वासले बन्यो यस्तो योजना, अनि लिए ज्यान

काठमाडौं : 'मानिस पासो लागेर मरेको डोरी करौडौंमा बिक्री हुन्छ।'

२० वर्षीय सुमन मगर र २३ वर्षीय सविन प्रजालाई कसैले सुनाएको थियो। एउटा डोरीको मुल्य करोडसम्म हुने सुनेर यी दुईमा डोरी पाउने लालसा जाग्यो। त्यसपछि यी दुई डोरी खोज्दै हिँडे - कहीकतै सजिलै पाइन्छ कि भनेर। तर सोचेजस्तो मानिस झुन्डिएर मरेको डोरी कहाँ पाउनु?

त्यसपछि उनीहरुले बुने त्यस्तै पासो पाउने आफ्नै योजना। मानिसलाई डोरीको पासोमा पारेर हत्या गर्ने, अनि त्यही डोरी लगेर बेच्ने। अब कसलाई पार्ने त जालमा? यही विषयमा उनीहरुबिच लामो छलफल भयो। उनीहरुको योजनामा सविनकी श्रीमती १८ वर्षीया प्रविना प्रजासमेत थपिइन्।

'सुरुमा उनीहरुले सडकमा हिँड्ने बेवारिसे मानिसलाई मार्ने भनेर खोजी गरेको पनि देखिन्छ। तर त्यहाँ उनीहरु सफल भएनन्,' महानगरीय प्रहरी अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले भने।

खोजीकै क्रममा उनीहरुको 'इजी टार्गेट'मा परिन् पातली अर्थात ४५ वर्षीय कमला तामाङ। उनीहरुले कमलालाई डोरीको पासोमा पारेर मार्ने योजना बनाए। तर उक्त योजना उनीहरुको लागि जीवनभर महंगो पर्‍यो। उनीहरु आफ्नो योजनामा सफल त भए तर प्रहरीबाट भाग्न सफल भएनन्।

कसरी भयो घटना?

भदौ २५ गते बिहान साढे ६ बजे ललितपुरको सुनाकोठीमा नुवाकोट घर भएकी ४५ वर्षीय कमला आफू बस्ने टहरामा मृत फेला परेकी थिइन्। घाँटी कसेर हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको थियो।

त्यसपछि प्रहरीले अभियुक्तको खोजी गर्‍यो।

झन्डै एक महिनापछि मात्र प्रहरीले घटनामा संलग्न मकवानपुर घर भएका २३ वर्षीय सविन प्रजा, मोरङ पथरी घर भएका २० वर्षीय सुमन मगर र १८ वर्षीय प्रविना प्रजालाई नियन्त्रणमा लिएको हो। असोज २१ गते सुमनलाई ललितपुर र सविन र प्रविनालाई असोज २२ गते मकवानपुरबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका तीनै जना मजदुरी गर्दै आएका छन्। मृतक पनि मजदुरी गर्थिन्। त्यही क्रममा कमला र सुमनबिच चिनजान भएको थियो। कोठामा एक्लै बस्दै आएकी कमला र सुमनबिच शारीरिक सम्बन्धसमेत हुने गरेको प्रहरीसँगको बयानमा बताएका छन्।

'महिलाले केही रकम दिएर सुमनलाई शारीरिक सम्पर्क राख्न लगाउने गरेको देखियो। त्यही क्रममा सुमन महिलाको कोठामा पटकपटक पुग्ने गरेको देखिन्छ,' अनुसन्धानमा खटिएका एक प्रहरीले भने।

महिलासँगको नजिकको सम्बन्ध भएकाले नै सुमनको नजरमा डोरीको लागि हत्याको इजी टार्गेटमा कमला परेकी थिइन्। त्यसैले भदौ २४ गते राति सुमन र सविन कमलाको डेरामा पुगेका थिए। उनीहरुले सँगै बसेर खाना तथा मादक पदार्थसमेत खाएको देखिएको छ।

'उनीहरु योजनाबद्ध रुपमा इनारबाट पानी तान्ने डोरी लिएर कमलाको कोठामा पुगेका थिए। मौका छोपेर हत्या गरेको देखियो,' महाशाखाका एसपी पंगेनीले भने।

रातिको समयमा कमला र सुमनबिच यौन सम्पर्कसमेत भएको प्रहरीको दाबी छ। त्यही क्रममा उनीहरुले खुट्टा र हात बाँधेर डोरीले कसेर हत्या गरेका थिए। हत्या गरेपछि उनीहरु डोरी र कमलाले लगाएको सुन लिएर भागेका थिए।

उनीहरुलाई यसरी पासो लागेको डोरी ऐनामा देखाउँदा नदेखिने हुनुपर्छ भन्नेसमेत सुनेका थिए। तबमात्र डोरीले काम गर्ने भन्ने अन्धविश्वासले उनीहरुलाई ग्रस्त बनाएको थियो। भोलिपल्ट बिहानै उनीहरुले नुहाएर पूजा गरे। त्यसपछि सुनेअनुसार नै डोरीलाई ऐना देखाए। तर डोरी ऐनामा प्रस्ट देखियो। त्यसपछि डोरीले काम गरेन भन्ने भएपछि उनीहरु भागेका थिए।

'यो घटना अन्धविश्वासले भएको देखियो। अन्धविश्वसामा परेर रकमको लोभले ज्यान लिएका थिए। यसमा अरु हत्याको कुनै कारण थिएन,' एसपी पंगेनीले भने।

उनीहरुले सुनेको भरमा नै डोरीको लागि हत्या गरे? वा कसैले यस्तो डोरी पाए यति पैसा दिन्छु भनेर भनेको थियो? हत्या गर्ने योजनामा अरु पनि थिए? यी प्रश्नको जवाफ प्रहरीले अझैसम्म भेटेको छैन। त्यसो त मानिसलाई बली दिन भारतसम्म लगिएका र बली दिएका घटनाहरु पनि धेरै छन्। अन्धविश्वास र धनको लोभले पातलीले अकालमा ज्यान गुमाउनु पर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell