काठमाडौं : काठमाडौं महानगरपालिकाले सुविधासम्पन्न भवन निर्माणको योजना अघि बढाएको छ। भूमिगत तलासहितको ८ तले भवनको सोमबार महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका हुन्। वातावरण विभाग रहेको टेकुको करीब ६ रोपनी क्षेत्रफलमा भवन बनाउन लागिएको हो।
प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निर्माण र नयाँ भवन निर्माणलाई सम्पन्न गर्ने प्रतिबद्धता अनुसार नै उक्त भवन शिलान्यास गरेको बताए।
‘हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छौ भनेर घोषणा गरेका थियौं,’ शाक्यले भने, ‘सेवाग्राहीले सेवा लिने ठाउँ मैत्री हुनुपर्छ भनेर अहिलेको भवनमा केन्द्रीय कार्यालय बनाउन चाहेका थियौं। विभिन्न कारणले त्यहाँ केन्द्रीय भवन बनाउन सम्भव भएन। आज केन्द्रीय भवनको यहाँ शिलान्यास भयो।’
महानगरपालिकाका अनुसार करीब ६ रोपनी क्षेत्रफलमा बन्ने सो भवनको भूमिगत तलामा ३० वटा गाडी र ८० वटा मोटरसाइकलका लागि पार्किङको व्यवस्था गरिएको छ। भूकम्प प्रतिरोधी भवनको भवन मापदण्ड अनुसार वरीपरी ५ मिटर छाडिएको छ भने भूमिगत तलामा भविष्यमा थप २५ वटा गाडी मेकानिकल प्रविधिबाट थप गर्न सकिने छ।
काठमाडौँ महानगरपालिका सहरी योजना आयोगमा उपाध्यक्ष सरोज बस्नेतले काठमाडौँ महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई ध्यानमा राख्दै समय सापेक्ष ढंगबाट सो भवनको डिजाइन तयार गरिएको बताए। त्यसैगरी आकाशे पानी संकलन तथा पर्याप्त फिल्टरेशन प्रणाली सहितको रिचार्ज पिट समावेश गरिएको पनि महानगरपालिकाले जानकारी दिएको छ ।
अपाङ्ग र जेष्ठ नागरिकमैत्री भवनको डिजाइन सहरी योजना आयोग र सिनर्जी इन्जिनियरिङ प्रालीले तयार पारेको हो।
आफ्नै भवन नहुँदा महानगर अन्तर्गतका विभागहरु विभिन्न स्थानमा भाडाको भवनमा छन्। महानगरपालिका रहेको बागदरबार संरक्षण हुनुपर्ने भन्दै मुद्दा परेका कारण उक्त भवनको जीर्णोद्धार हुनसकेको छैन।
