PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'विकल्प' खोज्दै विद्रोही, तानाबाना बुन्दै ओली



प्रकाश भण्डारी

'विकल्प' खोज्दै विद्रोही, तानाबाना बुन्दै ओली

काठमाडौं : तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आफ्नो कुर्सी धरापमा पर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोहोर्‍याउने गरेका थिए - 'म कक्षा दोहोर्‍याएर पढ्दिन '।

उनको सोझो अर्थ 'फेरि अध्यक्षका लागि महाधिवेशनमा उम्मेद्वार हुन्न' भन्ने थियो।

सैद्धान्तिक रुपमा नेकपा विभाजित भएको अवस्थामा सर्वोच्च अदालतले फागुन २३ गते एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदियो। नेकपाकालीन किचलो एमाले ब्युँतिएपछि उत्कर्षमा पुग्यो र अन्तत: एमाले विभाजित भयो। माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी बनाए। अनि, दोस्रो पटक अध्यक्ष नहुने वाचा गरेका ओलीले एमालेमा आइपुग्दा बोली फेरे। जसको प्रष्ट सन्देश ओलीले विधान महाधिवेशन(असोज १५-१७)बाट दिइसकेका छन्।

अध्यक्षमा दोहोरिने चाँजोपाँजो ओलीले विधान महधिवेशनबाट लगाउँदा उनलाई टक्कर दिने नेता भने झन कमजोर बनेका छन्। उनीहरुको गुट यतिमसम्म कमजोर छ कि उनीहरुले ओलीसँग आफ्नो समूहका तर्फबाट छलफल समेत गर्न सकेका छैनन् भने विवादित विषयलाई ओलीले पन्छाइदिएपछि थाती राखेर ओलीकै बोलीमा 'सही मिलाउन' उनीहरु बाध्य बनेका छन्।

७० वर्षे उमेरहदलाई आफू अनुकुल व्याख्या गराएका ओलीले एमालेमा फरक मत राख्नेलाई तितरबितर पार्ने रणनीति बनाएका छन्। कारण - ओलीको रणनीतिको परिणाम स्वरुप उपपहासचिव घनश्याम भुसाल विधान महाधिवेशनमा फरक मत दर्ज गर्न असफल रहे।

ओलीकै गुणगान गाउने दस्तावेजमा ६ हजार बढी प्रतिनिधिले छाप लगाएपछि माहोल ओली अनुकुल बनेको छ एमालेमा। राष्ट्रिय महाधिवेशनको रिहर्सलको रुपमा लिइएको गोदावरी महाधिवेशन एक हिसाबले ओलीको शक्ति प्रदर्शन रह्यो। ओली बाहेक नेताहरुको अस्तित्व एमालेमा नरहेको सन्देश दिन ओली पक्षको रणनीति थियो। जुन केही हदमसम्म सफल पनि रह्यो।

ओली भित्रै हुनसक्छ लडाइँ

एमालेका नेताहरुले दशैंको शुभकामना आदान प्रदानका लागि जमघट गरिरहेका छन्। तर, शुभकामना मात्रै आदान प्रदान गर्नु उनीहरुको उद्देश्य होइन।  मंसिर १०-१३ मा हुने राष्ट्रिय महाधिवेशनमा आफ्नो माहोल बनाउनु उनीहरुको लक्ष्य हो।

आइतवार एकैदिन तर फरक ठाउँ र फरक समयमा महासचिव इश्वर पोखरेल र उपमहासचिव घनश्याम भुसालले जमघटको आयोजना गरेका थिए। ओली समूहमा रहेका पोखरेलले काठमाडौंको तीनकुनेमा बिहान र तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका भुसालले दिउँसो बालुवाटारमा जमघट गरे।

उनीहरुको समय र स्थान मात्रै फरक थिएन एउटै पार्टीका पदाधिकारी भए पनि बोलीमा भने आकाश जमिनको अन्तर थियो। ओलीको विरुद्धमा नजाने तर महासचिवमा पनि नदोहोरिन पोखरेलले उद्घोष गर्दा भुसालले अध्यक्षका लागि आफू योग्य भएको प्रष्टिकरण दिए।

ओलीले महाधिवेशनमा फेरि अध्यक्षमा दोहोरिने इच्छा देखाएकाले ओली निकट नेताहरुले उनको विरुद्धमा जाने आँट गरेका छैनन्।बरु,एमालेको विधान महाधिवेशनले गरेको अध्यक्षपछि दोस्रो वरियतामा रहेको बरिष्ठ उपाध्यक्षका लागि भने ओली समूहमै पनि प्रतिस्पर्धा हुने देखिएको छ।

महासचिव इश्वर पोखरेलले त्यसका लागि आफू योग्य रहेको बताइसकेका छन् भने अहिलेको उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल पनि यसका आकांक्षी हुन्। आफ्ना विश्वासिला पात्र तथा स्थायी कमिटी सदस्य सुवास नेम्बाङलाई पनि व्यवस्थापन गर्नु ओलीका लागि चुनौति छ।

अर्कोतिर पूर्व माओवादीका नेताहरुलाई पनि पदाधिकारीमा नसमेटिए एकता कमजोर हुने ओली निकटहरुको मत छ। यता विभाजनको बेलामा एमालेमा रहेका नेताहरु पनि पदाधिकारीका लागि आकांक्षी भए पनि खुलेर भन्न भने सकिरहेका छैनन्। यसअघि महासचिव पदमा पराजित भएका नेता सुरेन्द्र पाण्डे पनि अब महासचिवका उम्मेद्वार हुन। तर तेस्रो धार एमाले भित्र अस्तित्वको संकटमा रहेकाले उनीहरु पदाधिकारीमा पुग्ने सम्भावना क्षीण छ।  

के गर्छन् विद्रोही?

ओली निकट नेताहरुले दाबी गरिरहेका छन् - ओलीको विकल्प ओली नै हुन। तर, एमालेको फुटमा नेता नेपाललाई साथ नदिएका १० नेता यसलाई मान्ने पक्षमा छैनन्। विधान महाधिवेशनले गरेका निर्णय छलफल गरेर 'करेक्सन' गर्न सकिने सहमति भएको उनीहरुको जिकिर छ।

१० नेता मध्येका एक घनश्याम भुसालले आइतवारको भेटमा १० औं महाधिवेशनमा अहिले विधान महाधिवेशनले गरेका निर्णय संशोधन गर्ने सहमति भएको खुलाए।

उनले भने,'विधान महाधिवेशनमा भएका निर्णयमा हामी छलफल गर्छौँ भनेर स्थायी कमिटीमा सहमति भएको छ। निर्णय करेक्सन गर्छौ।'

भुसालको उक्त बोलीमा विद्रोही स्वभाव भन्दा ओली माथिको भरोसा बढी झल्किन्छ। एमाले भित्र ओलीको शक्तिको अगाडि १० नेताहरुको आवाज सुनिने पक्षमा छैन। त्यसैले भुसालले अध्यक्ष पदका लागि दाबी गर्नुहुन्छ भन्ने प्रश्नमा भने,'पदाधिकारी सबै अध्यक्ष पदका लागि योग्य हुन्छन् भन्ने व्यवस्था छ। दाबी गर्ने नगर्ने उनीहरुको योग्यता क्षमतामा भर पर्छ।'

ओलीसँग भुसाल केही आशावादी पनि देखिन्छन्। ओलीले 'दलाल पुँजीवाद'को व्याख्या गर्नुले उनी केही सच्चिएका छन् र 'जसको नीति उसैको नेतृत्व' भन्ने ओलीले स्वीकारिसकेको भुसालको दाबी छ।

'पुष्पलाललाई नेता मान्ने तर नेतृत्व नमान्ने अवस्था भयो भनेर अध्यक्ष ओलीले भन्नुभयो। यो निकै सकारात्मक कुरा हो' उनले भने।

त्यसो त भुसाल र ओली समूहको वैचारिक मत भिन्नता भने प्रष्ट देखिन्छ। ओलीले जनताको बहुदलीय जनवाद (जबज)सिद्धान्त र कार्यक्रम दुवै भएको बताएका थिए भने भुसालले जबज 'फेज आउट' भइसकेको दाबी गरे। चुनाव देखि चुनाव सम्म र विद्रोह देखि विद्रोह सम्मको रणनीतिले अहिलेको अवस्थामा तात्विक अन्तर नहुने भुसालको विश्लेषण छ।

ओलीलाई गलाउने पक्षमा तेस्रो धार

ओलीले प्रतिनिधिसभा विघटन र एमाले नेतृत्वको सरकारको बहिर्गमनको दोष १० नेताको टाउकोमा हालेर दस्तावेजीकरण नै गरे। जसलाई स्वीकार्नु बाहेकको विकल्प तेस्रो धारका नेताहरुसँग रहेन। ओलीका कमी कमजोरी देखाएर उनी अध्यक्ष पदका लागि योग्य नरहेको दाबी गर्नु एमालेको तेस्रो धारको रणनीति हो।

'एमाले लोकतान्त्रिक परिपाटी भएको पार्टी हो। विधान महाधिवेशनका हिसाबले हामी जाने हो भने हामी धवस्त भइसक्यौ। व्यक्ति देखि व्यक्तिसम्म गएको किन भने संस्थागत जीवन धव्स्त भइसक्यो,' भुसालको मत छ।

ओलीमाथि संस्थागत परिपाटी ध्वस्त बनाएको आरोप तेस्रो धारले लगाइरहेको छ। तर, ओली भने यसलाई मान्ने पक्षमा छैनन्।

ओली निकट नेताहरु राष्ट्रिय राजनीतिमा ओलीको आवश्यकता भएकाले उनको विकल्प एमालेमा कोही हुन नसक्ने बताइरहेका छन्। यस्तो दाबी गर्नेमा अरु भन्दा अगाडी नै छन् इश्वर पोखरेल।

उनले ओली एमालेको स्थापित नेतृत्व भएकाले त्यसका विरुद्ध जान नहुने बताइरहेका छन्।

'हामीले कोही नेताको पूजा गर्दैनौ। तर स्थापित नेतृत्व हुन्छ र त्यसको अन्तर्गत पार्टी हुन्छ। पंक्तिबद्ध कमिटीहरु भएनन् भने पार्टी चल्न सक्दैनन्,' उनले विधान महाधिवेशनमा भनेका थिए।

दशैं तिहार लगत्तै एमालेको महाधिवेशनको चटारो सुरु हुनेछ। अनि खुल्नेछन् एमालेमा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बन्न खोज्ने आकांक्षी नाम। एमालेले फेरि ओलीलाई नै दोहोर्‍याए ओलीले आफ्नो उत्तराधिकारीलाई आफूपछिको पद दिने लगभग पक्का छ। उक्त पदका लागि विद्रोही र ओली पक्षका नेताबिच नै भिडन्त हुने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell