PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'महानायक' विवादको असर : काम लागेन शोभितको माफी, 'डाँडाको वरपीपल'लाई डिस्लाइक र बहिष्कार गर्ने चेतावनी



पहिलोपोस्ट

'महानायक' विवादको असर : काम लागेन शोभितको माफी, 'डाँडाको वरपीपल'लाई डिस्लाइक र बहिष्कार गर्ने चेतावनी

काठमाडौं : तीन साताअघि बुढासुब्बा डिजिटलबाट फिल्म 'डाँडाको वरपीपल' को एक गीत सार्वजनिक गरियो। गीतको बोल हो : देउराली बनेछ ढुङ्गाको।

यो गीतमा स्वर्गीय गायक खेमराम गुरुङ र रिमा गुरुङको स्वर सुन्न सकिन्छ। खेमराज तिनै गायक हुन् जसले 'वारी जमुना पारी जमुना' जस्ता निकै हिट गीत गाएका थिए।

गीतको शब्ददेखि गायकीमा कुनै खोट नभएको प्रतिक्रिया दर्शकहरुले दिएका छन्। अझ गीतको भिडियोमा चर्चित अनुहारहरु समेत छन्। गीतमा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत र रुविना थापालगायतको अभिनय देख्न सकिन्छ। भिडियोको छायाङ्कन र निर्देशनको पनि तारिफ भइरहेको छ। तर पनि यो गीतलाई युटयुबमा दर्शकले भने 'डिस्लाइक' गरिरहेका छन्।

समाचार तयार पार्दासम्म युट्युवमा यो गीतमा जम्मा ४ लाख ७ हजारन्दा बढीले हेरिसकेका छन्। गीतमा लाइकभन्दा डिस्लाइक लगभग तीनगुणाले बढी छ। हालसम्म भिडियोलाई १३ हजार दर्शकले लाइक गरेका छन् भने ५२ हजारले डिस्लाइक गरेका छन्। ट्रेलरमा पनि ११ हजार डिस्लाइक र करिब ५ हजार लाइक छ।

किन गरियो 'डिस्लाइक' ?

कारण हो-  महानायक विवाद।

केही समयअघि निर्देशक शोभित बस्नेतको फिल्म 'डाँडाको वरपीपल'  को गीत रिलिज कार्यक्रम भएको थियो। 'देउराली बनेछ ढुङ्गाको' बोलको गीत रिलिजकै बेला शोभितले अभिनेता भुवन केसीलाई नेपालको एकमात्र महानायक भनि सम्बोधन गरेका थिए।

शोभितले आफूलाई 'महानायक' भनेर सम्बोधन गर्दै गर्दा भुवन पनि खुसी देखिए। पछि शोभितको अभिव्यक्ती सुनेपछि निर्देशक अशोक शर्माले 'तिमी पनि महानायकको विवादमा फस्लाउ है' भन्दै सचेत गराए।

तर, अशोकले यसरी सम्झाउँदै गर्दा शोभित भने रोकिएनन्। झन् हिम्मतका साथ भने 'नेपालमा जसले सबैभन्दा सुपरहिट फिल्म दियो, उच्च वर्गलाई फिल्म हलसम्म ल्यायो, आफ्नी श्रीमतीलाई अरु केटासँग नाँच्न दियो, जसले छोरालाई यही क्षेत्रमा ल्यायो र घर बेचेर फिल्म बनाएर सयौँलाई रोजगार दिन्छ। त्यो बाहेक अरु महानायक हुनै सक्दैन।'

फेरि स्टेजमा त्यस्तै दृश्य दोहोरियो नेपालको 'महानायिका' को त? अभिनेता भुवन केसीले नेपालको एकमात्र महानायिका गौरी मल्ल भएको बताए। जसमा अभिनेता शिव श्रेष्ठले पनि भुवनसँग सहमति जनाए।

भुवनले भने शिव श्रेष्ठलाई नेपालको एक मात्र 'महानायक' भएको बताए। तर शिवले भने भुवनलाई सुपरस्टारको ट्याग भिडाइदिए।

तर अभिनेत्री गौरी मल्लले भने कार्यक्रममै आफूलाई काम चाहिएको र यो देशमा यस्ता उपाधिको कुनै औचित्य नरहेको भन्दै आफूलाई उपाधि नचाहिने बताइन्। उनको त्यो प्रस्ट अभिव्यक्तीको कारण महानायिकाबारे खासै चर्चा भएन्।

केही वर्षयतादेखि महानायक उपाधि बहसको नै विषय बन्न पुगेको छ। 'डाँडाको वरपीपल' को कार्यक्रमदेखि भने 'महानायक' ट्यागको विवाद फेरि सुरु भयो। नेपाली फिल्म क्षेत्र नै महानायकमा विभाजित देखिए।

'अशोक शर्माले महानायकको विवादमा फस्लाउ है' भनेझै निर्देशक शोभित बस्नेत यो विवादमा नराम्ररी फरेका छन्। उनले भुवन केसी नै नेपालको एकमात्र 'महानायक' भन्दा यता राजेश हमालका फ्यानहरु रिसाएका छन्। किनकी यसअघि राजेश हमाललाई महानायकको ट्गाग दिइएको थियो। साथै हमाललाई नै फ्यानहरुले महानायक भएको भन्दै आएका छन्।

अहिले महानायकको विवादको प्रत्यक्ष असर नै शोभितको फिल्म फिल्म 'डाँडाको वरपीपल' माथि परिरहेको छ। फिल्म असोज २६ गतेदेखि सिनेमाहलहरुमा रिलिज हुनेछ। दर्शकले यो फिल्मलाई बहिष्कार गर्नेसमेत चेतावनी दिइरहेका छन्।

युटयुबमा रिलिज भएको गीत र ट्रेलरमा डिस्लाइक आउनुको कारण पनि यही विवाद हो। फिल्मको ट्रेलर देखि गीतमा समेत भ्यूज निकै कम छन्। कमेन्टमा पनि मानिसहरुले शोभित बस्नेतको आलोचना गरिरहेका छन्। सँगै फिल्मको कलाकारलाई निशाना बनाइरहेका छन्।

'नेपालको एकमात्र महानायक राजेश हमाल हो', 'यो फिल्म नहेर्ने' भनेर दर्शकहरुले लेखेका छन्।

फिल्ममा असर पुग्ने देखेर नै शोभितले 'युटर्न' लिइसकेका छन्। फिल्म रिलिज हुने मुखैमा पुग्दा निर्देशक बस्नेतले राजेश हमालको फोटो राखेर आफुले गल्ती गरेको भनि माफी मागेका थिए। राजेश नै महानायक भएको भनि स्वीकारे र राजेशलाई भेटेर समेत माफी मागेका थिए। तर, महानायक काण्ड भने सेलाएको छैन।

अहिले बस्नेत साइबर बुलिङको सिकार भइरहेका छन्। साथै फिल्मलाई नै बहिष्कार गर्नुपर्ने दर्शकहरुले प्रतिक्रिया दिइरहेका छन्। यो महानायक विवादले फिल्मको व्यापारमा कत्तिको असर गर्छ त्यो भने हेर्न बाँकी नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell