PahiloPost

Jan 18, 2022 | ४ माघ २०७८

पचिमह्र : जब छोरी कुमारीलाई भेट्न नगर परिक्रमामा निस्किए पचली भैरव

पचिमह्र : जब छोरी कुमारीलाई भेट्न नगर परिक्रमामा निस्किए पचली भैरव

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : लिच्छवीकालिन दक्षिणी कोलीग्राम अर्थात काठमाडौंको तल्लो टोलमा सोमवार पचली भैरव (तेप आजु द्य) जात्रा सम्पन्न भयो।

टेकु स्थित पचली भैरवको मन्दिरबाट पचली भैरवको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गर्दै वसन्तपुरस्थित हनुमानढोका पुर्‍याइएको थियो। त्यहाँ पचली भैरवलाई उनकी छोरी जीवित देवी कुमारीसँग भेट गराइएको थियो।

कुमारी घरमा कुमारी र पचली भैरवलाई एकअर्काका आमनेसामने राखी आँखा जुधाइएको थियो। त्यसलाई स्थानीय भाषामा 'दृष्टि चुलाकेगु' भनिन्छ। त्यसक्रममा पचली भैरवले कुमारीलाई आफूमा निहित शक्ति प्रदान गर्ने जनविश्वास रहेको छ।

कुमारीले मनले चाहे जति पचली भैरवलाई हेर्न पाउने स्थानीय बताउँछन्। कुमारीले हेर्न पुग्यो नभनेसम्म पचली भैरवलाई कहीँ लग्न नहुने मान्यता छ। पचली भैरवलाई कुमारीले 'हेर्न पुग्यो' भनेपछि मात्र पचली भैरवलाई हनुमानढोकाबाट लगिन्छ।

त्यसपछि पचली भैरवलाई फेरि मरु, चिकंमुग, मजिपात, ज्याबहा:, दलाछी हुँदै ब्रह्मटोलस्थित श्वेत भैरव कहाँ लगेर तीन पटक परिक्रमा गराउने चलन छ।

१२ वर्षसम्म पचली भैरवको मूर्तिलाई पुजारी गुठीका १२ जनाको घरमा पालैपालो राखिने गरिन्छ।

किंवदन्ती अनुसार पचली भैरवको मूल थलो चित्लाङ थियो। उनले फर्पिङमा राज्य संचालन गर्थे। उनी एकै दिनमा काशीमा गएर स्नान गरेर काठमाडौंमा रहेकी प्रेमिकालाई भेट्न आउने गरेको कथन रहेको छ।

त्यो बेला कै शक्तिशाली पचली भैरव एक दिन प्रेमिकालाई भेटेर फर्कन खोज्दा सुकाइरहेको फरिया नाघेर अघि जान सकेनन्। त्यसपछि उनलाई प्रेमिकाका दाजुभाइहरुले समाएर कुटे।

भैरवको मृत्यु भएको ठानेर उनलाई टेकुमा फालिदिएका थिए। पचली भैरवलाई फालेकै स्थानमा अहिले पचली भैरवको मन्दिर रहेको छ।

तर पचली भैरवको मूर्तिलाई जहिल्यै टेकुस्थित मन्दिरमा भने राखिँदैन। दशैंको चतुर्थीका दिनमात्रै पचली भैरवको मूर्तिलाई  टेकुस्थित मन्दिरमा लगिन्छ। सो समयमा मन्दिर परिसरमा होम गर्ने प्रचलन रहेको छ। बांकी दिन मूर्तिलाई पा:ला: को घरमा राखिन्छ। चतुर्थी र पञ्चमीबा दिनबाहेक वर्षका बाँकी दिन पूजा गर्न चाहनेहरु पा:ला:को घर नै पुगेर पूजा गर्ने गर्छन्। टेकुस्थित मन्दिरमा दर्शनका लागि पचली भैरवको सानो प्रतीकात्मक मूर्ति रहेको हुन्छ।

पा:ला: को घरबाट घटस्थापनाको दिन कोहिटीमा रहेका पुं (चित्रकार) कहाँ मूर्ति लगिन्छ। त्यहाँ मूर्तिलाई रंग्याउने काम हुन्छ। त्यसपछि चतुर्थीका दिन मूर्तिलाई मन्दिरमा लग्नुभन्दा अगाडी भीमसेनस्थानमा रहेको थकुजुजुको घरमा लगिन्छ। त्यहाँ पूजा गरेर मूर्तिलाई कोहिटी, ह्युमत हुँदै मूर्तिलाई विधिपूर्व पचली भैरवको पीठमा मूर्ति पुर्‍याइन्छ र साइत हेरी मूर्ति प्रतिस्थापन गरिन्छ।

वर्षमा एक दिन मन्दिरमा ल्याइने पचली भैरवको दर्शनका लागि पूरै दिन पचलीमा दर्शनार्थीहरुका घुँइचो लाग्ने गर्छ। पचिमह्रका रुपमा मनाइने यस दिनमा त्यसक्षेत्रमा रहेका नेवार समुदायले भोज गर्छन्।

त्यो दिन दर्शनार्थीहरुले पचली भैरवको मूर्ति रहेको घ्याम्पोमा जाँड, फलफूल, अण्डा आदि चढाउने गर्छन्। चढाइएको प्रसादसहित राति पचली भैरवलाई टेकु, लगन, ज्या: बहाल, जोशीदेग, मजिपात हुँदै वसन्तपुरस्थित हनुमानढोकामा पुर्‍याइन्छ।

त्यहाँ राष्ट्रका रक्षकका रुपमा रहेका भैरवलाई सरकारका तर्फबाट पूजा दिइन्छ।

फेरिएको दृश्य 

केही वर्ष अघिसम्म पचली भैरवलाई पञ्चमीको रात बोकेर टेकुदेखि हनुमानढोका पुर्‍याइथ्यो। रातिको ११- १२ बजेसम्म भक्तजनहरु पचली भैरवको दर्शनका लागि जाग्राम बस्थे। परालले बनाइएको पांग्रा (पेचा) मा राखेर ७-८ युवा पचली भैरवलाई काँधमा बोकेर नगर परिक्रमा गराउँथे। टोलटोलमा युवाहरुको एक जमात आफ्नो टोलमा पचली भैरवको मूर्ति बोक्ने प्रतिक्षामा हुन्थे।

अहिले त्यो दृश्यमा भने केही परिवर्तन आएको छ। काँधमा बोकेर लग्दा पचली भैरवको मूर्ति धेरै पटक खस्थ्यो। त्यसका कारण मूर्ति धेरै बिग्रेको हुँदा मूर्ति बचाउनका लागि फलामको खट निर्माण गरि पचली भैरवलाई त्यसमा राखेर नगर परिक्रमा गराउन थालिएको  छ। कोरोना संक्रमणलाई मध्यनजर गर्दै यसपटक जात्रा पहिला भन्दा छिटो गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell